+
+

जब क्रिकेट रंगशालामा ‘मोदी मोदी’ गुन्जियो

एजेन्सी एजेन्सी
२०७९ फागुन २९ गते १८:१३

२९ फागुन । क्रिकेटमा ‘फ्रन्ट फुट’ लामो र प्रभावकारी प्रहारका लागि प्रयोग हुन्छ । भारतीय मिडियाका अनुसार लामो र प्रभावकारी कुटनीतिक सम्बन्धका लागि भारतका प्रधानमन्त्री  मोदी कुटनीतिमा ‘फ्रन्ट फुट’को अभ्यास गर्छन्।

बिहीबार अष्ट्रेलिया र भारतबीचको कुटनीतिक  सम्बन्ध स्थापनाको ७५ औं वर्षको अवसरमा अष्ट्रेलियाका प्रधामन्त्री एन्थोनी अल्बानिज भारत पुगेका थिए । संयोग त्यसै दिन भारत र अष्ट्रेलियाबीच अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा अन्तिम टेस्ट सुरु हुँदै थियो। अल्बानिजलाई लिएर मोदी आफ्नै नामको रंगशालामा पुगे।

सामान्यतया अन्य अवस्थामा म्याच सुरू हुनअघि भीडले नारा लगाउँदा भारत र क्रिक्रेट कप्तानको नाम गुञ्जायमान हुन्थ्यो।  तर त्यसदिन मोदीले रंगशाला टेक्नासाथ मोदी! मोदी!! मोदी!!! को नारा गुञ्जायमान भयो।

खेल सुरू हुनुअघि मोदी र अल्बानिजले रथ आकार दिइएको गाडी (सुरुको तस्वीरमा हेर्नुहोस्) मा बसेर दर्शकहरूलाई हात हल्लाउँदै मैदानको परिक्रमा गरे। त्यस रथमा लेखिएको थियो –‘क्रिकेटबाट मित्रता’

अष्ट्रेलियासँगको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन मोदीले क्रिकेटको सहारा लिँदा उनको प्रशंसा र आलोचना दुबै भएको छ। भर्खरै जी-२० राष्ट्रका अर्थमन्त्री र विदेशमन्त्रीहरूको सम्मेलन समापन भएको भारतमा मोदीलाई राजनेताका रूपमा प्रस्तुत गरिएको थियो। अष्ट्रेलियाली समकक्षीलाई आफ्नो नामको रंगशालामा पुर्‍याएर मोदीले आफूलाई फेरि राजनेताको रूपमा उभ्याएको भन्दै समर्थकहरू हर्षित छन्। क्रिकेटको नियम र खेलको समयलाई समेत प्रभाव पार्ने गतिविधि भएको भन्दै आलोचकहरू चकित छन्।

भाजपाका आइटी सेलका प्रमुख विजय मालभियाले मोदीको क्रिकेट कुटनीति निकै सफल भएको बताएका छन्। ‘प्रधानमन्त्रीको क्रिकेट कुटनीति निकै सफल भएको छ,’ उनले मैदानको तस्विर ट्वीटरमा पोस्ट गर्दै लेखेका छन्।

यता प्रतिपक्षी दलका भारतीय कांग्रेसका महासचिवले  यसलाई आत्मरतिको संख्या दिएका छन्। ‘क्रिकेट मैदानमा पुगेर अभिनन्दन गर्नु भनेको आत्मरतिको उच्चतम विन्दु हो,’ जयराम रमेशले भनेका छन्।

भ्रमणका क्रममा भारत र अष्ट्रेलियाबीच महत्वपूर्ण सम्झौता समेत भएको छ। भारतको शैक्षिक योग्यतालाई अष्ट्रेलियामा समकक्षता प्रदान गरिने र अष्ट्रेलियाको प्रख्यात विश्वविद्यालय डिकेनको अन्तराष्ट्रिय शाखा भारतमा ल्याउने सहमति भएको छ। यसलाई अल्बानिजले महत्वपूर्ण सम्झौता भनेका छन्। ‘हाम्रो द्वपक्षीय सम्बन्धलाई बलियो बनाउनका लागि यो भ्रमणमा महत्वपूर्ण सम्झौता भयो। अष्ट्रेलिया र भारतको शैक्षिक योग्यतालाई समकक्षता प्रदान गर्ने  संयन्त्रलाई मुर्तरूप दिन पाउँदा म निकै हर्षित छु,’ उनले भनेका छन्।

क्रिकेट अष्ट्रेलिया र भारत दुबै देशको साझा खेलझैँ भएको र यसले दुई देशको मित्रतालाई थप बलियो बनाउने मोदीको ट्वीट थियो। ‘क्रिकेट अष्ट्रेलिया र भारत दुबैका लागि साझा खेलझैँ भएको छ। यसले दुई मुलुकको मित्रततालाई थप घनिष्ठ बनाउनेछ,’ मोदीले भनेका छन्।

मोदीको क्रिकेट कुटनीति

मोदीले सन् २०१६ देखि कुटनीतिमा क्रिकेटलाई घुसाएका हुन्। सन् २०१६ मा न्युजिल्याण्डका समकक्षीसँग कुराकानी गर्दा उनले क्रिकेटका शब्दावली प्रयोग गरे। न्युजिल्याण्डका तत्कालीन प्रधानमन्त्री जोन कीसँगको संवादका बखत त्यसबेला भारत र न्युजिल्याण्डबीच एक दिवसीय अन्तर्राष्ट्रिय खेल थियो। त्यही खेललाई सन्दर्भ बनाउँदै आपसी सम्बन्धको व्याख्याका लागि मोदीले क्रिकेटका शब्दावलीको सहारा लिएका थिए। दुई मुलुकको सम्बन्धको व्याख्यामा मोदीले भनेका थिए-‘हाम्रो द्विपक्षीय सम्बन्ध क्रिकेटसँग मिल्दोजुल्दो छ। हामीले हाम्रो सम्बन्धमा दरार आउन नदिन लङ अफ फिल्डिङतर्फ अग्रसर भएका छौँ। यसले हाम्रो साझा हितको सम्बर्द्धन गर्दछ।’

सन् २०१९ मा माल्दिभ्ससँगको कुटनीतिक सम्बन्धलाई बलियो बनाउन पनि उनले क्रिकेटको सहारा लिए। मोदीले माल्दिभ्सलाई भारतीय राष्ट्रिय खेलाडीहरूले हस्ताक्षर गरेको क्रिकेट ब्याट उपहार दिएका थिए। ‘मेरा मित्र माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली क्रिकेटका ठूलो फ्यान हुन्। त्यसैले मैले भारतीय राष्ट्रिय टोलीले हस्ताक्षर गरेको ब्याट उनलाई उपहार दिएको हुँ,’ मोदीले ट्वीट गर्दै लेखेका थिए।

भारतले माल्दिभ्सका टोलीको प्रशिक्षणमा सहयोग मात्र गरिरहेको छैन की त्यहाँ रंगशाला निर्माणमा सहयोग गर्ने वाचा पनि गरेको छ।  मोदीले मात्रै क्रिकेटको भाषा प्रयोग गरिरहेका छैनन् उनका विदेशमन्त्रीले समेत क्रिकेटको भाषालाई समातेका छन्। हालासालै भारतमा भएको रायसना संवादका क्रममा विदेश मन्त्री एस जयशंकरले मोदीलाई कप्तानका रूपमा लिँदै भने, ‘कप्तान मोदीको अभ्यास बिहान ६ बजेदेखि सुरू हुन्छ र अनन्त समयसम्म जारी रहन्छ। उहाँले कसैलाई बलिङको जिम्मेवारी दिनुभयो भने उहाँले विकेट खसाल्ने अपेक्षा राख्नुहुन्छ ।’  मोदीले केही काम दिएपछि त्यसको सकरात्मक नतिजा खोज्ने जयशंकरको आशय थियो।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?