+
+

चितवन-२ को उपनिर्वाचनमा को होला एमाले उम्मेदवार ?

सुवास पण्डित सुवास पण्डित
२०७९ फागुन ३० गते २०:०९

३० फागुन, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फर्जी नागरिकता पेश गरेर उम्मेदवारी दर्ता गरेको भन्दै सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि चैत २० गते उम्मेदवारी दर्ता हुँदै छ ।

रवि लामिछाने सो पार्टीबाट उम्मेदवार बन्ने करीब निश्चित जस्तै भएको बेला ठूला दल कांग्रेस र एमालेबाट सम्भावित उम्मेदवार को बन्ला भन्ने विषयले चर्चा पाउन थालेको छ ।

कांग्रेसबाट यसअघि पराजित उम्मेदवार उमेश श्रेष्ठ, जिल्ला पार्टी सभापति राजेश्वर खनाल र निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ मध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । कांग्रेसका केही नेताहरुले चितवन क्षेत्र नंं १ बाट टिकटको चाहना राखेर पनि नपाएका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउनुपर्ने भनेर लविङ्गसमेत गरेका छन् ।

एमालेबाट उम्मेदवार को बन्ला भन्ने चासो देखिएको छ । एमालेबाट जिल्ला पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, पोल्ट्रीविज्ञ डा. तिलचन्द्र भट्टराई, कालिका नगरपालिकाका निवर्तमान नगर प्रमुख गोपी श्रेष्ठमध्ये एकजना उम्मेदवार हुने एमाले स्रोतले बताएको छ ।

दुईपटकसम्म क्षेत्र नं. २ बाट जितेका र गत निर्वाचनमा रविसँग पराजित भएका एमाले नेता कृष्णभक्त पोखरेल यसपटक उम्मेदवार बन्न इच्छुक छैनन् । उनले पार्टीले बनाउने उम्मेदवारलाई जिताउन लाग्ने बताउँदै आएका छन् ।

कालिका नगरपालिका निवर्तमान प्रमुख श्रेष्ठले एमालेले विश्वास गरेर टिकट दिए उम्मेदवार हुन तयार रहेको बताएका छन् । ‘मैले उम्मेवार हुन्छु भन्ने कुरा हैन, पार्टीले मलाई टिकट दिए पनि ठिकै छ, नदिए पनि पार्टीले बनाउने उम्मेदवारलाई जिताउन हिँड्ने कुरा नै हुन्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘मेरो ब्यक्तिगत इच्छाभन्दा पनि पार्टीको निर्णयले काम गर्छ ।’

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले पनि चितवन २ मा उठ्ने चाहना राखेका छन् । गत मंसिरमा भएको निर्वाचनमा चितवन क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका न्यौपानेको उम्मेदवारी पार्टी केन्द्रले फिर्ता लिएर कांग्रेसका विद्रोही उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको थियो । एमाले जिल्ला अध्यक्ष न्यौपानेले पार्टीले निर्णय गरे चितवन २ मा उम्मेदवार बन्ने बताए । ‘पार्टी भित्रबाट को उम्मेदवार बन्छ भन्ने कुरामा समस्या छैन, जो बने पनि पार्टी जिताउन लाग्छ’ अध्यक्ष न्यौपानेले भने, ‘तर एमालेले यसपटक कसैलाई पनि समर्थन गरेर मैदान खाली गर्दैन ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि एमाले महासचिव शंकर पोखरेलले लामिछानेलाई उपचुनावमा सहयोग गर्न सक्ने बताएपछि एमाले चितवनका नेताहरु अलमलमा परेका थिए । अहिले सत्ता समीकरण बदलिएपछि र एमालेले आफ्नै उम्मेदवार खडा गर्ने संकेत गरेपछि भने नेताहरू बीच सम्भावित उम्मेदवारका विषयमा अनौपचारिक छलफल हुँदै आएको छ ।

एमाले बागमती प्रदेश कमिटीका सचिव विजय सुवेदीले उम्मेदवारी दर्ता गराउने दिन आउन २० दिन बाँकी रहँदा उपर्युक्त उम्मेदवारको खोजी सुरु भएको बताए । उनले आफू स्वयं भने उम्मेदवारको दौडमा नभएको बताए । ‘सकभर नयाँ साथीहरुलाई मौका दिनुपर्छ भन्ने हो,’ सचिव सुवेदीले भने, ‘एमालेले मैदान खाली गर्दैन, सशक्त उम्मेदवार उठाउँछौं ।’

चितवन क्षेत्र नंं २ मा कालिका नगरपालिका, भरतपुर महानगरपालिकाका १० वटा वडा र इच्छाकामना गाउँपालिका पर्दछन् । गत मंसिरमा भएको निर्वाचनमा ८३ हजार ९५६ जनाले मतदान गरेका थिए । सो क्षेत्रबाट लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याएर जित्दा पाँच दलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९ सय ८३ मत र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय ६७ मत पाएका थिए ।

निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले गत निर्वाचनमा क्षेत्र नं. २ मा १ लाख २४ हजार २१५ मतदाता रहेकामा यसपटक ६३१ जना नयाँ मतदाता थपिएको बताए । नयाँ थपिएकाको जाँचबुझ र मृत्यु भएकाहरुको लगत कट्टाको काम चलिरहेको उनले बताए । सो हुँदा समग्रमा २ सयदेखि ३ सय नयाँ मतदाता थपिन सक्ने उनले अनुमान गरे ।

मतदाताको अन्तिम नामावली चैत १५ गते प्रकाशन गर्ने तालिका छ । चैत १८ गते निर्वाचन कार्यालय स्थापना, चैत २० गते उम्मेदवारी दर्ता, २१ गते उम्मेदवारी फिर्ता र दावी विरोध तथा २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।

चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनपछि उपनिर्वाचनको तयारीमा जुट्ने निर्वाचन आयोगको तयारी छ । यसपटक चितवन क्षेत्र नं. २ सँगै तनहुँ क्षेत्र नं. १ मा पनि उपनिर्वाचन गर्नुपर्ने छ । त्यहाँबाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन गर्नुपर्ने भएको हो ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?