+
+

राष्ट्र बैंकले नेप्सेको ५ लाख ९ हजार कित्ता सेयर बिक्री गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते १३:५१

३० फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा रहेको १० प्रतिशत भन्दा माथिको सेयर स्वामित्व राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले ९.५ प्रतिशत सेयर स्वामित्व कायम राखेर अरु सेयर राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्ने निर्णय भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षेत्रीले बताए ।

हाल नेप्सेमा राष्ट्र बैंकको १४.६० प्रतिशत सेयर स्वामित्व छ । नेप्सेमा नेपाल सरकारको ५८.६६ प्रतिशत सेयर हिस्सा छ भने कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र धितोपत्र दलाल व्यवसायीहरूको ०.६२ प्रतिशत सेयर छ ।

नेपाल राष्ट्र बैंक ऐनमा २०५८ दोस्रो संशोधनले राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने गरी व्यवस्था गरेको थियो । जसअनुसार यसअघि नै राष्ट्र बैंकले २० प्रतिशत सेयर बिक्री गरिसकेको छ । अहिले १० प्रतिशतभन्दा बढी रहेको सेयर स्वामित्व केन्द्रीय बैंकले पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई बिक्री गर्न लागेको हो ।

नेप्सेमा राष्ट्र बैंकको ३४.६ प्रतिशत सेयर थियो । २०७४ मा राष्ट्र बैंक ऐन संशोधन भएपछि ०७६ भदौमा राष्ट्र बैंकले २० प्रतिशत सेयर बिक्री गरिसकेको छ । नेपाल राष्ट्र बैंक ऐन दोस्रो संशोधन–२०७३ मा राष्ट्र बैंकले कुनै पनि कम्पनीमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व राख्न नपाउने व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ दोस्रो संशोधन २०७४ ले नेपाल राष्ट्र बैंकलाई कुनै वाणिज्य बैंक, वित्तीय संस्था, सार्वजनिक संस्थान वा कम्पनीको सेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारिक, कृषि, औद्योगिक वा अन्य संस्थामा स्वामित्वसम्बन्धी अधिकार प्राप्त गर्न नसक्ने व्यवस्था गरेको छ ।

तर, राष्ट्र बैंकले आफ्नोे काम कारबाही वा दायित्व पुरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूँजीको १० प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको सेयरमा स्वामित्व प्राप्त गर्ने सक्ने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाले गर्दा राष्ट्र बैंकले ९.५ प्रतिशत सेयर बाँकी राखेर अरु सेयर बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले नेप्सेको ५ लाख ९ हजार ३४२ कित्ता सेयर प्रतिकित्ता ६७६ रुपैयाँ ५२ पैसाको दरले ३४ करोड ४५ लाख ८० हजार ४९ रुपैयाँ ८४ पैसामा बिक्री गर्ने निर्णय गरेको हो । उक्त सेयर बिक्री गर्न राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गरिसकेको राष्ट्र बैंकका कार्यकराी निर्देशक क्षेत्रीले बताए ।

हाल ६.१४ प्रतिशत सेयर स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले उक्त सेयर खरिद गरेपछि सेयर हिस्सा १० प्रतिशत नाघ्नेछ । प्रभु बैंक र लक्ष्मी बैकले नेप्सेको सेयर खरिद गरेको भएपनि नेप्सेमा कम्पनीको सेयर सूचीकृत हुँदा सञ्चालक समितिमा प्रतिनिधित्व हुन सकेको छैन । तर, राष्ट्रिय वाणिज्य बैंकले भने सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएको छ ।

कर्मचारी सञ्चय कोष्ले प्रतिकित्ता १ हजार ३२ रुपैयाँ, लक्ष्मी बैंकले प्रतिकित्ता १ हजार १ हजार १०१ रुपैयाँ प्रभु बैंकले १ हजार ३०० रुपैयाँमा ३ वर्ष अगाडि नै नेप्सेको सेयर किनेका थिए ।

३ वर्ष अगाडि नै प्रतिकित्ता १ हजार ३०० रुपैयाँमा बिक्री भएको सेयर राष्ट्र बैंकले ३ वर्षपछि ६७६ रुपैयाँमा बिक्री गर्ने भएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री नेप्सेको चुक्ता पूँजी बोनस सेयर मार्फत शतप्रतिशत वृद्धि भई १ अर्ब रुपैयाँ पुगेकोले ३ वर्षको अगाडिको मूल्यांकन नआउने बताउँछन् । त्यसमा पनि नेपाल राष्ट्र बैंकले पूर्ण सरकारी स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकलाई सेयर बिक्री गर्दा मूल्यमा धेरै बागर्नेनिङ नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?