+
+

लघुवित्त संस्थाको निष्क्रिय कर्जा बढ्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते १९:५१

१ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०७९/८० को ६ महिनामा नै लघुवित्त संस्थाको निष्क्रिय कर्जा अनुपात औसतमा नै भारी वृद्धि भएको छ । कर्जामा डुब्लिकेसन साथै आर्थिक गतिविधिमा देखिएको मन्दीले लघुवित्त संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । २०७९ पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएर ४.६८ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरुको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

गत असार मसान्तमा २.५६ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको ६ महिनामा नै २.१२ प्रतिशत बिन्दुले वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०७९ पुस मसान्तमा खुद्रा कर्जा प्रदायक लघुवित्तको कुल कर्जा लगानी ३ खर्ब ९१ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा निष्क्रिय कर्जा १८ अर्ब ३४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । असोज मसान्तमा ३.७१ प्रतिशत रहेको लघुवित्तको निष्क्रिय कर्जा अनुपात पुसमा थप वृद्धि भएको हो ।

निष्क्रिय कर्जा अनुपातमा भएको वृद्धि अनुसार लघुवित्त संस्थाहरुले कर्जा नोक्सानी व्यवस्थाको रकम भने वृद्धि नगरेको देखिन्छ । असार मसान्तमा १० अर्ब ४ करोड रहेको निष्क्रिय कर्जा अनुपात २०७९ पुस मसान्तमा १८ अर्ब ३४ करोड पुगेको छ । जबकी २०७८ असार मसान्तमा १० अर्ब ६२ करोड नोक्सानी व्यवस्था गरेका लघुवित्तले पुस मसान्तमा १४ अर्ब ४० करोड रुपैयाँ नोक्सानी व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाहरुले बचत/निक्षेप संकलन रकम बढाएका राष्ट्र बैंकले जनाएको छ । यस्तै उक्त संस्थाहरुले लिने सापटी रकममा संकुचन आएको छ । २०७९ पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाहरूले बचत/निक्षेप संकलन १ खर्ब ६६ अर्ब ९३ करोड र सापटी १ खर्ब ७७ अर्ब २६ करोड गरी जम्मा ३ खर्ब ४४ अर्ब १९ करोड वित्तीय स्रोत संकलन गरेका छन् ।

लघुवित्त संस्थाले प्राथमिक पूँजीको बढीमा ३० गुणासम्म वित्तीय स्रोत परिचालन गर्नसक्ने व्यवस्था रहेको छ । पुस मसान्तमा लघुवित्त संस्थाकरुको कुल चुक्ता पूँजी करिब ३० अर्ब ७६ करोड, प्राथमिक पूँजी ५९ अर्ब १ करोड र पूँजीकोष ६४ अर्ब ८९ करोड रहेको छ ।

कर्जा डुब्लिकेसनले गर्दा लघुवित्त ऋणीहरुले सडक आन्दोलन गर्दै जाँदा पनि लघुवित्तको लघुवित्तको ऋणी असुलीमा समस्या बढ्दै गएको छ । लघुवित्त संस्थाको जोखिम भारित सम्पत्ति पनि वृद्धि भएर गएको केन्द्रीय बैंकले जनाएको छ । पुस मसान्तमा लघुवित्त संस्थाहरुको कुल सम्पत्ति ५ खर्ब ११ अर्ब ८ करोड रुपैयाँ पुग्दा जोखिम भारित सम्पत्ति ४ खर्ब ८२ अर्ब ५३ करोड पुगेको छ । जुन कुल सम्पत्तिको ९४.४१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

पुस मसान्तमा कुल ६४ वटा लघुवित्त संस्था रहेकोमा ४६ वटा राष्ट्रिय स्तरको कार्यक्षेत्र भएका छन् । यस्तै ५ वटा क्षेत्र/जिल्ला स्तरका छन् भने १३ वठा लघुवित्त प्रदेशस्तरको कार्यक्षेत्र भएका छन् । कुल ५ हजार ७९ वटा शाखा कार्यालयमा कुल ५९ लाख ८८ हजार सदस्य र३२ लाख ६० हजार ऋणी सदस्य रहेको केन्द्रीय बैंकले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाहरूले कुल जोखिम भारित सम्पत्तिको ४ प्रतिशत प्राथमिक पूँजी र ८ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा सुपर लघुवित्त वित्तीय संस्थाको पूँजीकोष ८ प्रतिशत भन्दा कम रहेको राष्ट्र बैंकले जनाएको छ । उक्त संस्थालाई शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमको कारबाही गरिएको जनाएको छ । अन्य सबै लघुवित्त वित्तीय संस्थाहरूले पूँजीकोष सम्बन्धी निर्देशनको पालना गरेको राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?