
१ चैत, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीलाई ३-१ ले पराजित गरेको छ ।
लगातार चौथो खेलसम्म अपराजित मनाङ सिजनको दोस्रो जितपछि अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।
दशरथ रंगशालमा भएको खेलमा मनाङ लागि दुई विदेशी खेलाडीले गोल गरे । रोशन राना मगरले ३९औं मिनेटमा गोल गर्दै मनाङलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । सायीदजमोल दाभ्लातजोनोभले ६८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै मनाङको अग्रता दोब्बर पारे ।
कोफी टिमोथी कोउडोले ८७औं मिनेटमा गोल गरेपछि मनाङले ३-० को अग्रता बनाएको थियो । जारी लिगमा रोशन र साउदी जमोलको यो दोस्रो गोल हो भने टिमोथीले पहिलो गोल गरेका हुन् ।
एनआरटीका लागि अशोक थापाले इन्जुरी टाइममा एक गोल फर्काए । जितछि चार खेलबाट ८ अंक जोड्दै मनाङ तेस्रो स्थानमा उक्लेको छ र उसले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड र दोस्रो स्थानको सातदोबाटो युथ क्लबसँग अंकदूरी १ मा झारेको छ ।
यस सिजन चौथो चरणको खेल सकिँदा चर्च ब्वाइज र मनाङ मात्र अपराजित छन् । यसअघि तीन खेलमा जम्मा दुई गोल मात्र गरेको मनाङले एनआरटीविरुद्ध तीन गोल गरेको हो ।
पहिलो खेलमा हिमालयन शेर्पासँग १-१ को बराबरी खेलेको मनाङले दोस्रो खेलमा संकटालाई १-० ले पराजित गरेको थियो भने तेस्रो खेलमा मछिन्द्र एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
तेस्रो हार बेहोरेको एनआरटीको चार खेलबाट १ अंक मात्र छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4