+
+
कथा :

द्वन्द्वको व्यथा

डा. चन्द्रमणि अधिकारी डा. चन्द्रमणि अधिकारी
२०७९ चैत ४ गते १६:५२

पिंढीमा बसेकी हजुरआमा आज निकै चिन्तित देखिन्छिन् । उनलाई २० वर्ष अगाडिको कुरोको झझल्को मात्र होइन, जेठो छोरो रघुको याद पनि बेस्सरी आइरहेको छ । उनको मनमा थरीथरीका तरंगहरू खेल्न थाले । उनी आफैंसँग कुरा बुन्न थालिन् । उनको मानसपटलमा सम्झनाहरू सल्बलाउन थाले ।

जेठो छोरो रघुनाथ घरमा सुतिरहेको थियो । केही मानिस आए । उनीहरू फौजी जस्ता देखिन्थे । रातको अँध्यारोमा कहाँबाट आएका, कस्ता मानिस हुन्, कुन पक्षका मानिस हुन् पत्ता लागेन । केही कुरा बुझ्नु छ भन्दै लछारपछार गर्दै, उनीहरूले रघुलाई लिएर गए ।

रघुले म कहाँ आउनुपर्ने हो भन्नुस्, म भोलि आउँछु भन्यो । तर उसको कुरा कसैले सुनेनन्, बुहारी निकै तलसम्म रुँदै–कराउँदै गइन् । उनको केही लागेन, बरु उल्टो भो, बन्दुकको कुन्दा उनको टाउकोमा बज्रियो । ठूलै चोट लाग्यो । कति दिनसम्म बिरामी परिन् ।

रघुको छोरा रमेश ७/८ वर्ष जतिको हुँदो हो, के भो ? के भो आमा ? के भो बा भन्दै उठ्यो, मैले केही भा छैन सुुत वा सुत; भनी उसलाई फकाएँ तर रमेश सुतेन ।
मनमनै गनिन्, त्यस दिनदेखि उनको परिवारमा दशा सुरु भयो । रघुको अत्तोपत्तो थिएन । गाउँले पनि खुटखबर गर्न डराउँथे । बुहारी रमा पनि बिरामी भई । खान मन गर्दिनथी, रातभरि अनिंदै बस्थी ।

करिब एक महिनापछि गोठालो गएको पल्लो घरको हर्केले एउटा नराम्रो खबर ल्यायो । रघुनाथको लाश तल खोलाको बगरमा भेटिएछ । लाशको डाक्टरी जाँच पनि भएन । मुचुल्का पनि बनेन । बूढी आमा रुँदै कराउँदै र दौड्दै लाश भए ठाउँमा गइन् । रमेश पनि गयो । लाश वरिपरि कोही मानिस थिएनन् । गाउँले यति डराएका थिए कि कोही पनि त्यस्तो छेउमै जाँदैनथे ।

रमेश बा…बा.. भन्दै कराउन थाल्यो । बूढीआमा छोरालाई अँगालो मारेर रोइन् । शरीरमा नील डाम र चोटैचोट थिए । एउटा आँखा फुटेको थियो ।

करिब २/३ घण्टाको रुवाइपछि बूढीआमा लासको संस्कार गर्ने कार्यमा लागिन् । उनले गाउँलेलाई गुहारिन्, गाउँमा लाठे मान्छे छँदै थिएनन् भने पनि हुन्छ । डरले मान्छे जम्मा भएनन् । पल्लो डाँडाको वीरबहादुर, हर्के र गैह्रीगाउँको लठेब्रे मिलेर लाश उठाए । रमेश लाश बोक्ने मानिसहरूको पछि लाग्यो । घाट केही पर थियो । बूढीआमा दाहसंस्कारको सामान खोज्न बलिन्द्र आँशुको भेल बगाउँदै, रुँदै, बर्बराउँदै लास त्यहीं छोडेर गाउँतिर लागिन् ।

घरमा पुगेर बुहारी रमालाई खोजिन् । रमा घरमा थिइनन् । धान, चामल, जौ, चानचुन पैसा, तुलसीको माटो र पात बोकेर बूढीआमा घाटमा पुगिन् । तर घाटको दृश्य पत्यार नलाग्दो भयो । फर्केर जाँदा त्यहाँ दुईवटा चिता बनेका थिए । नाति रमेश बेहोश जस्तै थियो । छेउमै दुई वटा लास लडिरहेका थिए । त्यहाँ बसेर लाकुरीबोटे काइलाबा पनि राम राम भन्दै आँशु पुछ्दै थिए ।

‘ए साइली भाउजु, यो उमेरमा मैले के देख्नु पर्‍यो, यो बज्रपात तिमीलाई मात्र होइन, गाउँलेलाई नै हो । हाम्रो त हारगुहार गर्ने नै अरू कोही छैन, म ७० वर्षको बुढो कहाँ जानु, छोराहरू विदेश पसिसके, प्याउली बूढी र म मात्रै छौं गाउँमा । रघु नै हाम्रो सहारा थियो । रमा सुख दुःखमा हाम्रो वह सुनिदिन्थी । आज यी दुवै गए ।’ बुढाबा भन्दै गए ।

‘म टारमा पुगेर आउँदै थिएँ । परबाट कोही हाम्फाले झैं लाग्यो । त्यो मान्छे मेरो गोडा छेउ आएर पछारियो, हेर्दा रमा रहिछन् । मेरै अगाडि उनको प्राण गयो । मैले केही गर्न सकिनँ ।’

रमा लोग्नेको लास हेर्न जाँदा भीरबाट लडेकी हुन् कि अथवा उनले आत्महत्या गरेकी हुन् कसैले बुझ्नै सकेन ।

बूढीआमाले आकाशतिर हेरिन् । दाहसंस्कार सकियो । ६५ वर्षकी बूढीको काँधमा नाबालक नातिनातिनाको पालनपोषणको जिम्मेवारी आयो । उनलाई पनि बाँच्ने इच्छा त थिएन, तर के गर्नु एकातिर बुढ्यौली शरीर र छोरा–बुहारीको शोक, अर्कातिर नातिनातिनाको भविष्य । यस्तो संकटमा पार्‍यो विधिले । न मर्न सक्ने न सजिलै बाँच्न सक्ने । केही दिनपछि मखमली पनि मामाघरबाट फर्किई । ऊ हजुरआमाको काखमा घोप्टो परेर रुन थाली ।

अब रमेश, मखमली र बूढीआमा तीन जनाको परिवार शोक र दुःख झेल्दै जीवन निर्वाह गर्न थाले । रमेश र मखमलीको मनमा पनि विभिन्न कुरा खेल्न थाले । किन मारे बालाई ? कसले मारे ? रघुलाई फौजी जत्थाले लिएर गएको कुरा हजुरआमाले निकै पछि भनिन् नातिनातिनालाई । पल्लो घरको गुइँठेले लठेब्रे बोलीमा भन्यो, ‘…नै हुन् तिनीहरू (रुँदै) ज्यानमारा जस्ता थिए, मैले रघु माड्साबलाई के गरेको भनी लछार्दा लछार्दै लग्दा सोधेको त मलाई दुई लात्ती दिए । म तल कान्लामुनि पुगें । कस्तरी दुखेको छ ।’

गुइँठेको कुराले त्यस्तो कार्य राज्यपक्षका व्यक्तिबाट भयो वा विद्रोही पक्षबाट खुल्न सकेन ।

रघु मास्टरी गर्थे, कसैसँग लेनदेन तथा घरायसी भनाभन पनि थिएन । अरूअरूले किन मार्थे ? माझघरे बूढी आमाको तर्क थियो । रमेश र मखमलीलाई लाग्यो पक्कै पनि सुरक्षा सिपाहीले लगेर मारे र सुरक्षा सिपाही कुन पक्षका थिए, राज्य पक्षका हुन् वा विद्रोही पक्षका यकिन भन्न कसैले सकेन पनि । तर उनीहरूको मनमा विद्रोहको बीउ रोपियो । खासखुस गर्दा पनि उनीहरूकै बद्ख्वाईं गर्थे ।

बूढीआमालाई फेरि अर्कै चोट लाग्यो । एक दिन साइँलो भाइको छोरो भदो मनबहादुर टुप्लुक्क आइपुग्यो । रोई–रोई सुन्निएका आँखा, भोको अनुहार, लुगा धुजा–धुजा भई च्यातिएका छन्, मुटु भक्कानो पार्दै सोधिन् बूढीआमैले, ‘के भयो भन ? किन यस्तो गति ? किन आँखा सुन्निने गरी रोएको ?’ प्रश्नको ओइरो लाग्यो । तर मने बोल्नै सकेन ।

सुँक्क–सुँक्क र घुँक्क–घुँक्क मात्र गरिरह्यो । बूढीआमैले मनेलाई तानेर आफू पिंढीको चकटीमा बसिन् अनि फेरि सोधिन्, ‘बाले कुट्यो कि आमाले गाली गरी ? के गर्दैछन् तेरा बा–आमा ? यत्रो बाटो हिंडेर आइस्, गोडा दुखेनन् ?’ तर मनेले जवाफ दिएन । बरु बूढीआमाको काखमा घोप्टो परेर डाँको छोड्यो ।

त्यत्तिकैमा दुई–तीन जना मानिस त्यतै ओरालो लागेको देखियो । त्यसमध्ये एकजना बूढीआमैको माइती गाउँको बुधे माझी रहेछन् । बूढीलाई देखेर अत्तालिंदै भने– ‘सत्यानाश भैगो नि फुपू । साइला काकालाई सिध्याइहाले नि !’ बूढी पिंढीबाट उठ्दै कराइन् । ‘लौ न नि ! के भो नि मेरो साइलालाई कसले सिध्याए ?’ बूढीआमैका सुकेका आँखा फेरि वर्षाका खहरे झैं भए ।

राल–सिंगान झार्दै रुँदै भन्न थालिन्, ‘कुन पापीले फेरि मेरो भाइलाई मारे ?’ बुधेले भने ‘खोइ क्रान्तिकारी हुन् भन्ने हल्ला छ, को हुन् क्रान्तिकारी भनेका खोइ के हो वादी पो भन्छन् । भैगो धेरै नबोल हामीले पनि ज्यान जोगाउनुपर्छ, हामी दुई घट्टको च्यापोमा छौं । साइली भाउजूलाई छातीमा गोली लागेको छ बाँच्न गाह्रै छ, अस्पताल लगेका छन् गाउँलेले नै ।’

बूढीआमै मने सँगै रोइन् । सुन्तली र रमेश पनि आँगनको डिलमा बसेर टोलाएर हेरिरहे । केही दिनपछि खबर आयो, साइली पनि वितिन् अरे । साइलाका तीन छोरी र एक छोरो । छोरीहरूको बिहे भइसकेको रहेछ । अब भने मनबहादुर पनि फुपूसँग बस्न थाल्यो । तर यी बूढीआमैले भने पीडै–पीडाको कथा बोकेकी छन् ।

हिंसा र प्रतिहिंसाको शिकार भएको छ, यो परिवारको इतिहास । मने, रमेश र मखमली बीच कुराकानी चल्थ्यो । एउटाले भन्थ्यो, ‘तिम्रा बालाई फौजीले मार्‍यो ।’ अर्कोले भन्थ्यो, ‘मेरा बा–आमालाई क्रान्तिकारीले मारे यी दुवै बदमास हुन् । हामीले दुवैसँग बदला लिनुपर्छ ।’

यो २० वर्षअघिको कुरो हो । देश गृहयुद्धको चपेटामा परेको थियो केही उज्यालो देखियो । हिंसा–प्रतिहिंसा रोक्ने सहमति भयो । पटक–पटकको वार्तापछि राजनीतिले कोल्टे फेर्‍यो । तर बूढीआमै इतिहास बोकेर बाँचेकी छिन् । उनले ८५ वसन्त पार गरिसकेकी छन्, उनको मनमा पीडाको ज्वाला बलिरहेको छ तर उनमा बदलाको भाव छैन । कोसँग बदला ? तर मखमली, रमेश र मनेको उमेर युवावस्थामा पुगिसक्यो । उनीहरू एउटै घरमा बस्छन् । बिडम्वना उनीहरूमा एक खालको भिन्नाभिन्नै धारणाले जरो गाडेको छ । रमेश र मखमलीको धारणा सरकारी फौजप्रति नकारात्मक छ । उनीहरू बीच बाबुको हत्याको बदला लिने कुरा पनि चल्छ ।

कोसँग बदला ? त्यसो नगरौंं फेरि मारामार होला, अरू ज्यान जालान् । ती मार्ने कहाँ पुगे ? बदलाको निहुँमा निर्दोष पर्न सक्छ भन्ने भनाइ मखमलीको छ । तर रमेश र मनेमा बदलाको भाव मरेको छैन । मनेमा क्रान्तिकारीप्रतिको धारणा सकारात्मक छैन । पहिले पहिले सामान्य कुरा भए पनि दुवै थरीको उमेर सँगै उनीहरूका आ–आफ्ना धारणा बलियो बन्दै आए । कहिलेकाहीं उच्चस्वरमै उनीहरू वाद–विवाद पनि गर्न थाले ।

बूढीआमाको मनमा भने कुनै पक्ष नै छैन । उनले निर्वाध, निर्भाव, निष्कलंक गाथा बोकेकी छन् । तर नातिनातिनाको पक्ष–विपक्षको तर्कले उनको मनमा ठूलो आँधी चल्छ, कालो बादल मडारिन्छ । उनी २० वर्ष अघिको पीडाको बीउले फेरि इतिहास नदोहोरियोस् भनी दिन गनेर बसेकी छन् ।

समयसँगै युद्धको सम्बन्धमा बेला–बेलामा चर्चा भइरहन्थ्यो । कतिले यस सम्बन्धमा शोध पनि गर्न थाले । यसै सिलसिलामा एक जना शोधकर्ता बूढीआमैकहाँ पुग्छ ।

आमै ओछ्यान परेकी छिन् । शोधकर्ता बूढीआमैबाट धेरै कुरा बुझ्न प्रयास गर्छ । तर उनी धेरै कुरा गर्न सक्दिनन् । बोल्न खोज्दा नै सास बढेर आउँछ । शोधकर्ताले विस्तारै कानमा मुख लगेर सोध्ने प्रयास गर्छ । ‘तपाईंको अन्तिम इच्छा के छ ?’ बूढीआमै लर्खराएको स्वरमा केही भन्छिन् । वरिपरि रहेका कसैले पनि उनको कुरा बुझ्दैनन् । तर नजिकै बसेकी मखमलीको आठवर्षे छोरीले केही बुझ्छे र भन्छे हजुरआमाले भनेको ‘हाम्रो हजुरबुवा र आमा तथा मामाघरको ठूलो हजुरबा र हजुरआमा जस्तै गरी कसैले कसैलाई नमारोस् । त्यो दिन गाउँमा फेरि नफर्कियोस् रे !’

शोधकर्ता त्यो कुरा डायरीमा नोट गरेर पल्लोगाउँतर्फ लाग्दछ । भोलिपल्ट ऊ बूढीआमाका कुराको विश्लेषण गर्दै कुलोमाथिको बाटोमा हिंड्दै गर्दा देख्छ, पर एकोहोरो शंख बज्दैछ, मलामीहरू घाटतिर ओर्लंदैछन् । शोधकर्ता देख्छ पछिपछि उनै इतिहासकी साक्षी बूढीआमाकी पनातिनी (मखमलीकी छोरी) ‘हजुरआमा हजुरआमा’ भनी कुद्दै छे । यसरी एउटा सिंगो इतिहास सेलाउँदै गरेको कुरा लेख्दै गर्दा शोधकर्ताको आँखाबाट दुई थोपा आँशु टप्लक्क झर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?