+
+

कसले चुँडायो रोनाल्डो हात्तीको पुच्छर ?

‘भाले हात्तीहरू को बलियो ? कसले पोथी हात्ती माथि दावा गर्ने ? को स्मार्ट भन्ने बारेमा ठूलो प्रतिस्पर्धा हुन्छ, त्यसै क्रममा अर्को भाले हात्तीले रोनाल्डोको पुच्छर चुँडाइदिएको हो ।’

सुवास पण्डित सुवास पण्डित
२०७९ चैत ६ गते २०:५७

६, चैत, चितवन । चितवनको सौराहास्थित हात्ती प्रजनन केन्द्रमा यतिबेला जंगली भाले हात्ती रोनाल्डोको रजगज छ । प्रजनन केन्द्रमा रहेका पोथी हात्तीहरूसँग संसर्ग गर्न रोनाल्डो आएर कहिले एक सातासम्म त कहिले दुई तीन दिन बस्ने गर्दछ ।

ऊ आउँदा अरू जंगली भाले हात्तीहरू देखा पर्दैनन् । रोनाल्डो पहिला जति आक्रामक छैन । प्रजनन केन्द्रमा हेर्न गएका आन्तरिक तथा बाह्य पर्यटकले रोनाल्डोको नजिकै पुगेर फोटो र सेल्फी खिच्दा पनि खासै वास्ता गर्दैन । रोनाल्डोले अहिलेसम्म विभिन्न ठाउँमा गरेर २० भन्दा बढी व्‍यक्ति मारेको रेकर्ड छ ।

तर, पोथी हात्तीको मायामा भुलेको ३५ वर्षको रोनाल्डोलाई मान्छेहरूको भिडभाडको मतलब छैन । अजंगको ज्यान भएको रोनाल्डोलाई देखेर प्रजनन् केन्द्रमा पुगेका पर्यटकहरू दंग पर्दछन् र भन्छन्, ‘खै त रोनाल्डो हात्तीको पुच्छर ?’ अन्य हात्तीहरूको पुच्छर भए पनि रोनाल्डोको पुच्छरको फेद मात्रै देखिन्छ । हात्तीको पुच्छर कसरी चुँडियो ? कसले चुँड्यो होला ? धेरैले प्रश्न गर्छन् ।

हात्ती प्रजनन केन्द्रका नायब सुब्बा मनपुरन चौधरीले रोनाल्डोको पुच्छर अर्को भाले हात्तीले चुँडाइदिएको बताए । ‘भाले हात्तीहरू को बलियो ? कसले पोथी हात्ती माथि दावा गर्ने ? को स्मार्ट भन्ने बारेमा ठूलो प्रतिस्पर्धा हुन्छ, त्यसै क्रममा अर्को भाले हात्तीले रोनाल्डोको पुच्छर चुँडाइदिएको हो’ चौधरी भन्छन्, ‘पहिला त अहिले केही देखिन्थ्यो, तर पछि चुँडिएको ठाउँबाट पुच्छर कुहिँदै गयो, घरपालुवा भएको भए औषधि गरेर उपचार हुन्थ्यो होला, जंगलीको कसरी गर्ने ?’

रोनाल्डोको पुच्छर कुहिएर फेदसम्मै पुगेपछि निको भएको चौधरीले बताए । ‘हामीले त यही कारणले रोनाल्डो मर्‍यो होला भनेका थियौं, २/३ वर्ष देखिएन, पछि पुच्छर नै नभएको अवस्थामा आयो’, चौधरीले भने, ‘अहिले त ठीक भएको छ, प्रजनन केन्द्रको ज्वाईं भएको छ ।’ ध्रुवे, गोविन्दे भन्दा रोनाल्डो जेठो हो ।

सौराहाको हात्ती प्रजनन् केन्द्रमा आउने ३ भाले हात्तीमध्ये सबैभन्दा ठूलो शरीर भएको र हेर्दा पनि डरलाग्दो र मोटो रोनाल्डो छ । रोनाल्डो भन्दा ध्रुबेको ज्यान केही सानो छ । ध्रुबेभन्दा गोविन्दे अझै सानो गाँठीको छ ।

रोनाल्डो र ध्रुबेको बेला बेलामा लडाईंमा कहिले कुनले जित्छ कहिले कुनले । धेरैजसो रोनाल्डो नै दादा हुन्छ । यी दुईबीच भिडन्त हुँदा ध्रुबेले रोनाल्डोको शरीरमा दाह्रा कोपिदिएको थियो । रोनाल्डो नेपालको पूर्वी क्षेत्रबाट आएको अनुमान छ ।

रोनाल्डोको पुच्छर कुहिएर फेदसम्मै पुगेपछि निको भएको चौधरीले बताए । ‘हामीले त यही कारणले रोनाल्डो मर्‍यो होला भनेका थियौं, २/३ वर्ष देखिएन, पछि पुच्छर नै नभएको अवस्थामा आयो’, चौधरीले भने, ‘अहिले त ठीक भएको छ, प्रजनन केन्द्रको ज्वाईं भएको छ ।’ ध्रुवे, गोविन्दे भन्दा रोनाल्डो जेठो हो ।

जंगली हात्तीको नाम कुनै चर्चित व्यक्तिका वा घटनासँग जोडेर राख्ने गरिएको छ । फुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोको चर्चा भएको बेलामा यसको नाम रोनाल्डो राखिएको खोरसोरका कर्मचारीहरु बताउँछन् ।

अन्नबाली खाने, घर भत्काउने, भकारीको धान खाइदिने रोनाल्डो शान्त देखिएको हात्तीमा नै पीएचडी गरेका पर्सा राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकृत अशोक राम बताउँछन् ।

जंगली हात्तीको नेतृत्व हजुरआमा (सबैभन्दा सिनियर) ले लिने गर्दछन् । जंगली हात्तीको समूहमा २५/३० वटासम्म हुने गर्दछ । तीमध्येको सबैभन्दा बलियो, ठूलो ज्यान भएकोले भाले हात्तीले मात्रै अन्य पोथी हात्तीसँग शारिरीक सम्पर्क गर्छ ।

अरू भाले हात्ती भए पनि उनीले सो मौका पाउँदैनन् । हात्तीविज्ञ डा. अशोक भन्छन्, ‘हजुरआमा हात्तीको निर्देशन नै एउटाले मात्रै शारीरिक सम्पर्क गर्ने हुन्छ, जुन बलियो छ त्यही हात्तीले प्रजनन गर्दा राम्रो छावा जन्मिन्छ भन्ने हुन्छ, जन्मिएको १५ मिनेटमै उठ्ने र ३० मिनेटमा हिँड्न सक्ने छावा हुनुपर्छ ।’

एउटा मात्रै भाले हात्तीले शारीरिक सम्पर्क गर्ने मौका पाएपछि अन्य भाले हात्तीहरू मात्तिने र जुध्ने गर्दछन् । यसो गर्न थाले टिमको नेतृत्व गर्ने हजुरआमा हात्तीले उसलाई समूहबाट धपाउँदा भाले हात्ती एक्लिने र विभिन्न विध्वंश गर्न थाल्ने गरेको पाइएको डा. रामले बताउँछन् ।

भाले हात्ती रोनाल्डो, गोविन्दे र ध्रुवेले गर्ने संसर्गबाट नै सौराहाको हात्ती प्रजनन् केन्द्रमा पोथी हात्तीहरु गर्भवती हुने गरेका छन् । २०५४ सालमा स्थापना भएको प्रजनन केन्द्रमा हालसम्म ६२ छावा जन्मिएका छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?