
७ चैत्र, सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका अक्कलबहादुर सिजापति विजयी भएका छन् ।
९६७ मतसहित निर्वाचित भएका सिजापतिले गठबन्धनबाट उम्मेदवार बनेका अखिल क्रान्तिकारीका हिक्मत शाहीलाई ४७९ मतान्तरले पराजित गरेका छन् । गठबन्धनका शाहीले ४८८ मत प्राप्त गरेका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीलाई नेविसंघको साथ रहँदा पनि चुनाव जित्न सकेन । नेपाली कांग्रेस र माओवादी निकट विद्यार्थी संगठनले गठबन्धन गर्दा पनि एक्लै चुनावी मैदानमा होमिएको अनेरास्ववियुका उम्मेदवार विजयी भएका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयपछि राजनीतिक दलका नेताहरूले सुर्खेत बहुमुखी क्याम्पसलाई निकै महत्त्वका साथ लिएका थिए । स्वयं नेताहरू समेत आफैं मैदानमा खटिएर आ-आफ्नो उम्मेदवारलाई भोट मागेका थिए ।
प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी रहेको यो क्याम्पसमा ती हजार ८०० विद्यार्थी रहेकोमा १६ सय मात्रै मत खसेको थियो ।
अनेरास्ववियु कर्णालीका अन्य जिल्लामा भने शून्य जस्तै छ । सल्यानको एउटा क्याम्पस र सुर्खेतका केही क्याम्पसबाहेक अन्य जिल्लामा अनेरास्ववियुलाई नराम्रोसँग धक्का लागेको छ ।
प्रदेशमा एमाले निकट अनेरास्ववियुले ६ क्याम्पसमा जित हात पार्दा अखिल क्रान्तिकारीले १६, नेविसंघले १२ र एक जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4