+
+

माउन्ट फुजीको काखबाट नेपाल सम्झिंदा

मनिषा चम्लागाईं मनिषा चम्लागाईं
२०७९ चैत ८ गते ६:३०

नेपाल हुँदा जापान एउटा रहरको शहर थियो । जीवनका कहर एकातिर पल्टाएर त्यही शहर चहारेको एकवर्षे अवधिमा जापानले धेरै सिकायो । संस्कार, संस्कृति र कलाले नेपाल सम्झाइरह्यो । अझै बढी त जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजीले नेपालको माया र हिमालको अमिट छायाँलाई अझै ताजा बनाइदियो ।

यो अवधिमा टोकियो, हिरोशिमा, नागाशाकी लगायत क्षेत्रका ऐतिहासिक, सांस्कृतिक तथा कलात्मक संरचना र चाँडो भएको विकासको अवलोकन गर्ने मौकालाई गुमाइनँ । माउन्ट फुजी पुग्ने नेपालदेखिकै पुरानो रहर यसै समयमा पूरा गरें । सुनेको र कल्पना गरेको भन्दा अझ बढी पाएँ । अनि यसलाई हेर्दै मन मनै प्रश्न गरें– ‘हाम्रा हिमालको उपयोग कम भएको हो ?’

जापानको यामानाशी र शिजुओका प्रान्तको सिमानामा रहेको माउन्ट फुजी आकाश खुलेको समयमा टोकियो, खानागावा प्रान्तका धेरैजसो ठाउँबाट देख्न सकिन्छ । अझ रोचक कुरा के छ भने, जापानिज नागरिकले माउन्ट फुजीलाई ‘फुजीसान’ (महामहिम अर्थात् फुजीजी) भन्ने गर्छन् । जापानिज नागरिक पर्वतलाई समेत ‘जी’ भनेर सम्बोधन गर्छन् । जापानमा माउन्ट फुजी भन्दा पनि फुजीसान नाम बढी प्रयोग गरिन्छ ।

माउन्ट फुजीलाई जापानका नागरिकले गरेको सम्मान देख्दा म मेरो देशमा रहेको विश्वको सर्वोच्च शिखर सगरमाथा सम्झन्छु र मनमनै कल्पना गर्छु, हामीले सगरमाथालाई ‘सगरमाथाजी’ भनेर सम्बोधन गर्ने हो भने कस्तो सुनिन्छ ? भलै हामी यसको प्रयोगमा छैनौं । यदि प्रयोगमा हुने हो भने हाम्रा लागि पनि यो नौलो विषय हुने थिएन ।

जापानिज नागरिकको भावनात्मक सम्बोधन रहेको फुजीसान जाने प्रस्ताव म आफैंले साथीहरूलाई गरेकी थिएँ । खानागावा प्रान्तमा पर्ने साँगामिनोमा भेला भएर गत फागुन २३ गते पाँच जनाको टोली फुजीसानको यात्रामा निस्कियौं । जापानको व्यस्त जीवनशैलीलाई थाती राख्दै हिमालको यात्रामा निस्कन पाउँदा मेरो मन खुशीले गद्गद् थियो । बिहान ९ बजे खानागावाबाट माउन्ट फुजी पुग्ने हाइवे चढ्यौं । केही पहाड कटेपछि मात्र पुगिने भएकाले पहाड खोपेर बनाइएका टनेलभित्रको यात्रा पनि धेरै नै गर्नुप¥यो । ११० किलोमिटरको दूरीमा रहेको माउन्ट फुजी पुग्न हामीलाई २ घण्टा ३० मिनेट लाग्यो । जापानमा हाइवेमा सवारी चलाउँदा सरकारलाई कर बुझाउनुपर्छ । जसबापत हामीले ३ हजार येन कर जापान सरकारलाई बुझायौं ।

 

माउन्ट फुजीको मनोरम दृश्य नियाल्न हिमाल आसपास धेरै ठाउँ रहेका छन् । हामी तीमध्ये दुई ठाउँमा पुग्यौं – लेक खावागुचीको र फुजी आरोहणको पोइन्ट वान (फुजीयोसिदा) । वर्षको पाँच महिना हिउँले ढाकिने माउन्ट फुजीको सुन्दरता साँच्चै नै लोभलाग्दो रहेछ । जब म माउन्ट फुजीको काखमा पुगें मैले नेपाल सम्झें । नेपालको पूर्वी ताप्लेजुङमा पर्ने पाथीभरा र माउन्ट फुजीको उचाइ र आकार लगभग मिल्दोजुल्दो छ । त्यसैले मैले माउन्ट फुजीलाई ताप्लेजुङको पाथीभरासँग तुलना गरें । पाथीभरा पुग्दाको क्षण सम्झें । पाथीभरा ३ हजार ७९४ मिटरको उचाइमा रहेको छ भने माउन्ट फुजी ३ हजार ७७६ मिटरको उचाइमा रहेको छ । म माउन्ट फुजीकोे काखबाट पाथीभराको चुचुरोसम्म पुगें । भलै माउन्ट फुजीमा जस्तो पाथीभरा क्षेत्रमा लामो समयसम्म हिउँ पर्दैन ।

माउन्ट फुजी सयौं वर्षअघि ज्वालामुखी विस्फोटन भएको क्षेत्र हो । जापानिज नागरिक प्रकृतिलाई पूजा गर्छन् । त्यसैले जापानिज नागरिकले १७औं शताब्दीको सुरुबाट माउन्ट फुजीलाई पवित्र तीर्थस्थलको रूपमा लिने गरेका छन् । माउन्ट फुजी युनेस्को विश्व सम्पदा समितिको ३७औं सत्रमा सांस्कृतिक सम्पदाको रूपमा विश्व सम्पदा सूचीमा प¥यो ।

उत्कृष्ट सौन्दर्यले भरिपूर्ण माउन्ट फुजी जापानिज नागरिकका लागि मात्र नभई अन्य देशका पर्यटकका लागि पनि गन्तव्यको केन्द्र बन्ने गरेको छ । फुजी आरोहणका लागि जापानमा बस्दै आएका नेपाली पनि जाने गरेका छन् । गत वर्ष नेपालका चर्चित गायक राजु लामाले पनि माउन्ट फुजीको आरोहण गरेका थिए । विश्वमा भइरहेको जलवायु संकट विरुद्धको सन्देश दिन फुजी आरोहण गरेको उनको प्रतिक्रिया थियो । फुजीको चुचुरोबाट उनले नेपालको झण्डा फर्फराएका थिए । यसबाट प्रष्ट हुन्छ कि माउन्ट फुजीप्रति नेपालीको पनि मोह छ । हिउँ पर्ने समयमा भने जापान सरकारले माउन्ट फुजीको आरोहणमा प्रतिबन्ध लगाउने गरेको छ । जुलाईको सुरुदेखि सेप्टेम्बरको मध्यसम्म धेरै मार्गहरू मार्फत आरोहणका लागि खुल्ला गरिन्छ ।

जापानिज टुरिष्ट गाइडको प्रश्न – ‘नेपारु मो ताखाइ यामा आरिमास ने ?’

फुजीसानको फेदमा पुग्दा सयौं पर्यटक थिए । टुरिष्ट बोक्ने बस आउने–जाने क्रम चलिरहेको थियो । पर्यटकहरूको भीडबाट केही पर माउन्ट फुजीको तस्बिर खिचिरहेकी एक वृद्धातर्फ मेरो नजर प¥यो । मैले सोचें उनी जापानमा बस्ने विदेशी नागरिक होलिन् । मैले जापानिज भाषामा गरेको प्रश्नमा उनी अकमकिइन् । त्यसपछि मैले अंग्रेजी भाषाको सहायता लिएँ । उनी जर्मनबाट माउन्ट फुजीको भ्रमणका लागि आएकी ७३ वर्षीया आतियामा रहिछन् । यो उमेरमा उनको हिमालप्रतिको प्रेम देखेर मैले सुनाइहालें, विश्वको सबैभन्दा ठूलो हिमाल नेपालमा छ नि ! मैले यति सुनाइनसक्दै उनले प्रश्न गरिन्- ‘यु आर नेपाली’ ? मैले मुसुक्क हाँस्दै, भनें ‘यस’ । सबैभन्दा ठूलो हिमाल नेपालमा छ भन्ने विषयमा आतियामा जानकार रहिछन् । उनलाई नाम भने थाहा रहेनछ ।

केहीपर गोरा वर्णका अग्ला पर्यटकहरूको एक हूल थियो । मैले अड्कल काँटे यिनीहरू पनि युरोपेली पर्यटक हुन् । छेउमा गएर कुरा गरें उनीहरू युरोपियन देशबाटै आएका रहेछन् । मैले आफू नेपाली भएको मात्र के बताएकी थिएँ, उनीहरूसँगै रहेका टुरिष्ट गाइट जापानिज नागरिकले प्रश्न गरे, नेपारु मो ताखाइ यामा आरिमास ने ? (नेपालमा पनि अग्लो हिमाल छ है ?) हिमालको नाम सगरमाथा भन्ने कुरामा पनि उनी जानकार रहेछन् । उनीसँगको कुराकानीमा सगरमाथाको उचाइले नेपालीको शिरको उचाइ पनि बढाइदिएको अनुभव गरें । नेपालका हिमालको चर्चा फुजीसानको काखमा मात्र हुँदैन । बेलाबखत जापानिज नागरिकसँगको कुराकानीमा पनि उनीहरूले नेपालका हिमालका बारेमा जिज्ञासा राख्ने गरेका छन् । अधिकांश जापानिज नागरिकको मानसिकता नै नेपाली हिमालमा बस्छन् भन्ने हुन्छ ।

माउन्ट फुजी आउने पर्यटकलाई नेपालका हिमालपुर्‍याउन सके !

माउन्ट फुजीमा विदेशी पर्यटकको चापलाई देख्दा मेरो मनमा यही कुरा खेलिरहेको थियो, माउन्ट फुजी आउने पर्यटकलाई नेपालका हिमाल पु¥याउन सके ! यसका लागि मेरो देशले के गर्नुपर्ला ? यही बीचमा मेरो मनले नेपाल र जापानबीचको तुलना गर्न भ्याइसकेको थियो । माउन्ट फुजीमा विदेशी पर्यटकको चाप धेरै हुनुको प्रमुख दुई कारण विकास र प्रचार नै हो भन्दा फरक नपर्ला ।

नेपालले प्राकृतिक, सांस्कृतिक, जैविक र मानव निर्मित सम्पदाको संरक्षण र प्रवद्र्धन गर्दै सन् २०२५ सम्ममा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । जसमा नेपाल भ्रमणका उद्देश्यहरूमा पर्वतारोहण, साहसिक खेल, धार्मिक गतिविधि लगायत छन् । तर, माउन्ट फुजीको भ्रमणका लागि मात्र वार्षिक ३० लाख विदेशी पर्यटक जापान आउने गरेको तथ्यांक जापानका सरकारी वेबसाइटमा भेटिन्छ । हाम्रो देश नेपालमा माउन्ट फुजी भन्दा अग्ला हिमाल धेरै छन् । नेपाल पर्वतीय पर्यटनका लागि संसारको उत्कृष्ट गन्तव्य हो ।

तर किन अपेक्षित रूपमा नेपाली हिमालमा विदेशी पर्यटक पुग्न सकेका छैनन् त ? नेपालले धेरै देशसँग हवाई सम्झौता गरे पनि सीधा उडान भने हुनसकेको छैन । जसको कारण पर्याप्त मात्रामा राष्ट्रिय ध्वजावाहक जहाज नहुनु हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुनु हो । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुनसकिरहेको छैन ।

सन् २०१७ को यात्रा र पर्यटन प्रतिस्पर्धा प्रतिवेदनले जापानलाई १४१ देशहरूमध्ये चौथो स्थानमा राखेको छ । जुन एशियामा सबैभन्दा उच्च थियो । जापानले स्वास्थ्य, सरसफाइ, सुरक्षा र सांस्कृतिक स्रोत र व्यापार यात्रा जस्ता विशेषता भएका सबै पक्षहरूमा अपेक्षाकृत उच्च अंक हासिल गरेको छ ।

कुनै देशको भ्रमण गर्नुअघि पर्यटकले त्यस देशको धेरै विषयमा जानकारी लिएका हुन्छन् । हवाई वा सडक यात्रा कति सुरक्षित छ, स्वास्थ्य चौकीको व्यवस्था कस्तो छ, व्यक्तिगत सुरक्षा, सरसफाइ लगायत विषयमा जानकारी लिएर मात्र यात्राको योजना बनाउने हुनाले हाम्रो देशले पर्यटन पूर्वाधार विकासमा लगानी गर्नै पर्छ । पर्यटकका लागि यी आवश्यक पूर्वाधारको व्यवस्था जापानले गरेको छ । जापानको तुलनामा नेपालमा पर्यटकका लागि पूर्वाधारको कमी भएकै कारण धेरै संख्यामा पर्यटक पुग्न सकेका छैनन् । नेपालले पर्यटन नीतिमा सुधार गरी पर्यटन पूर्वाधार निर्माण गर्ने हो भने नेपालको आम्दानीको मुख्य स्रोत नै हिमाल बन्न सक्ने कुरामा दुईमत छैन ।

तस्बिरहरू : मनिषा   

लेखकको बारेमा
मनिषा चम्लागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?