 
																						९ चैत, तनहुँ । भौगोलिक हिसाबले तनहुँलाई सुगम जिल्ला मानिन्छ । तनहुँका अधिकांश ठाउँमा मोटरबाटोको पहुँच छ। तर तनहुँमै एउटा यस्तो गाउँ पनि छ जहाँ अहिलेसम्म मोटरबाटो पुगेको छैन ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ आमडाँडा, खस्राङ, दुवा बेलडाँडा मोटर गुड्ने सडकको पहुँचबाट टाढै छन् । पृथ्वीराजमार्गको आँबुखैरेनीसँगै जोडिएको यो वडाका तीन गाउँमा मोटर गुड्ने बाटो नपुग्दा सुत्केरीलाई डोलीमा अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ ।
सुत्केरी वा बिरामी हुँदा डोली वा डोकोमा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता रहेको आँबुखैरेनी गाउँपालिका-४ का वडा सदस्य प्रेमबहादुर गुरुङ बताउँछन् । यी गाउँबाट सडकको पहुँचसम्म पुग्न एक/दुई घण्टा पैदल हिंड्नुपर्छ ।
‘गाउँसम्म जाने मोटरबाटो छैन, सुत्केरी हुँदा र बिरामी पर्दा यहाँका स्थानीयलाई सास्ती छ’ गुरुङले भने, ‘डोली बोकेर लैजानुको विकल्प छैन ।” वडाकै अन्य गाउँमा मोटरबाटोको पहुँच पुगे पनि यी गाउँ वर्षौंदेखि मोटरबाटोको पहुँचबाट टाढा रहेको गुरुङको भनाइ छ ।
सुत्केरी हुँदा हिंडेर भरतपुर महानगरपालिकाको पाँचकिलोसम्म आउनुपर्छ । त्रिशूली नदी पार गरेपछि मात्रै मुग्लिन-नारायणगढ खण्डको पाँचकिलो पुगिन्छ । त्यहाँ पुगेपछि मात्रै सवारी साधनको प्रयोग गर्न सकिने गुरुङले बताए ।
अरु बेला पनि यहाँका स्थानीय यही पुल तरेर पैदल नै गाउँ आउजाउ गर्ने गर्दछन् । ‘बजारमा किनमेल गर्न जान परे पनि समस्या उही हो, पाँचकिलो झरेर मुग्लिन, चितवन वा आँबुखैरेनी जानुपर्छ’ गुरुङले भने, ‘यो गाउँका बारेमा सबैलाई जानकारी भए पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन।’
सोमबार आमडाँडा निवासी सुत्केरी हीरा गुरुङलाई डोलीमा राखेर आँबुखैरेनी अस्पतालसम्म पुर्याइएको थियो । उनलाई डोलीमा हालेर दुई घण्टा पैदल हिंडेपछि पाँचकिलोमा एम्बुलेन्स बोलाएर आँबुखैरेनी अस्पताल लगिएको थियो । ‘पहिले भरतपुर लैजानुपर्थ्यो, अहिले गाउँपालिका आफैंले आँबुखैरेनी अस्पताल सञ्चालन गरेपछि भने त्यही लैजाने गरेका छौं’, उनले भने ।
सुत्केरी भएपछि पुनः उनलाई त्यसरी नै बोकेर घर पुर्याइएको थियो । ‘घर फर्किने बेलामा पनि आँबुखैरेनी अस्पतालबाट पाँचकिलोसम्म एम्बुलेन्समा ल्यायौं, त्यहाँबाट झोलुङ्गे पुल तरेपछि पुनः डोलीमा राखेर दुई घण्टा हिंडेर घर पुर्यायौं’, उनले भने ।
मोटरबाटोको पहुँच नपुगेको ती ठाउँमा मोटरबाटो पुर्याउनका लागि आवश्यक बजेट विनियोजनका लागि गाउँसभामा कुरा उठाएको गुरुङले बताए । जनतालाई निकै सास्ती छ, जनताको आवाज गाउँसभासम्म पुर्याए पनि सुनुवाइ हुनसकेको छैन’, गुरुङले भने।
आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुलजीपतर्फबाट उक्त गाउँमा मोटर चल्ने भए पनि बाटोको समस्याका कारण सवारी साधन नियमित नचल्दा दुःख हुने गरेको बताए । ‘त्यस भेगका सर्वसाधारणलाई पुलजीपतर्फ आउनभन्दा मुग्लिन नारायणगढ खण्डको पाँचकिलो झर्न चाँडै हुन्छ, पुलजीपतर्फको बाटो अप्ठ्यारो भएकाले नियमित गाडी नचल्दा जनतालाई सास्ती भएको छ’, उनले भने ।
घुमाउने र मुग्लिनको बीचभागमा पक्की पुल नहुँदा सर्वसाधारणलाई सास्ती भएको चुमानले बताए । ‘त्यस भेगका जनतालाई पाँचकिलो झरेर मुग्लिन, नारायणगढ जान पायक पर्छ’ उनले भने, ‘पक्की पुल नभएकाले पनि डोलीमा बोकेर आउनुपर्ने बाध्यता हो।’
उनका अनुसार त्यसभेगका सर्वसाधारण पुलजीप हुँदै आउनुभन्दा नारायणगढ मुग्लिन सडकमा झर्न चाँडो हुन्छ । ‘उक्त ठाउँमा सडक निर्माणका लागि डीपीआर अनुसार रू एक अर्बको हाराहारीमा बजेट चाहिन्छ, गाउँपालिकाले मात्रै निर्माण गर्न सक्दैन’ उनले भने, ‘प्रदेश र सङ्घ सरकारको सहयोग विना यो सम्भव पनि छैन।’
चुमानले आफ्नै कार्यकालमा यो सडकमा गाडी चल्ने र कालोपत्र गराउने दाबी गरे ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4