+
+

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएर अष्ट्रेलिया जाँदै सुजल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १७:३९

९ चैत, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहिसकेका सुजल श्रेष्ठले नेपाल छाडेर अष्ट्रेलिया पलायन हुनुअघि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।

सुजलसँगै नेपाली राष्ट्रिय टिमबाट खेलिसकेका रन्जित धिमाल पनि विहीबार (आज) राति १२ बजेको उडानबाट अष्ट्रेलिया जाँदैछन् । उनीहरुले बेनी एफसीबाट अष्ट्रेलियामा स्थानीय फुटबल खेल्ने बताएका छन् ।

राष्ट्रिय टिमबाट सन्यास लिएको जानकारी दिंदै सुजलले आफ्नो भविष्य र साथीहरु पनि उतै रहेकाले अष्ट्रेलिया यात्रा रोजेको अनलाइनखबरसँग बताएका छन् । उनी जारी शहीद स्मारक ए डिभिजन लिगमा साविक विजेता मछिन्द्रबाट खेलिरहेका थिए ।

सुजलले टिममा युवा खेलाडीको आगमनसँगै आफ्नो बिदाइको सही समय भएको बताएका छन् । ‘मेरो लागि यो नै संन्यासको उपयुक्त समय जस्तो लाग्छ । टिममा क्षमतावान युवा खेलाडीहरु आइरहेका छन् । उनीहरुलाई पनि अवसर दिनुपर्छ भन्ने सोचें’ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुको कारणबारे सुजलले अनलाइनखबरसँग भने ।

तत्कालका लागि अष्ट्रेलिया गएका उनले भविष्यमा नेपाल फर्केर क्लब फुटबलमा सक्रिय हुने सम्भावनालाई भने सुजलले नकारेका छैनन् । ‘क्लबस्तरमा अझै केही समय खेल्न सक्छु । उताको परिस्थिति अनुसार निर्णय गर्नेछु’ उनले थपे ।

सन् २०११ मा पोखरा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मिडफिल्डर सुजलले भुटानविरुद्ध डेब्यू गरेका थिए । उनले राष्ट्रिय टिमबाट ४५ खेलमा ३ गोल गरेका छन् । सुजलले सन् २०११ को विश्वकप छनोटमा टिमोर लिस्टेविरुद्ध पहिलो गोल गरेका थिए ।  त्यसपछि सन् २०१६ मा एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउविरुद्ध र १ फेब्रुअरी सन् २०२२ मा भएको मौरिससविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले गोल गरेका थिए ।

सुजलले सन् २०१९ मा म्यानमारविरुद्धको खेलमा राष्ट्रिय टिमको कप्तानी पनि गरेका थिए ।

२०७६ मंसिरमा नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुदमा उनकै कप्तानीले नेपालले फुटबलको स्वर्ण रक्षा गरेको थियो । घरेलु फुटबलमा मनाङ मर्स्याङ्दीमा ९ वर्ष विताएर २ लिग उपाधि जिताउन माहत्वपूर्ण योगदान गरेका सुजल पछिल्लो तीन सिजनदेखि मछिन्द्रमा अनुबन्धित थिए । मछिन्द्रबाट पनि उनले दुईवटा लिग उपाधि जितेका छन् ।

धनकुटामा जन्मिएका सुजलले सानैदेखि फुटबल खेल्न परिवारको साथ पाएका थिए । उनले धनकुटाबाटै यू–१२ र यू–१४ को उमेर समूहका प्रतियोगिता खेलेर २०६० सालमा एन्फा एकेडेमीमा छनोट भएका थिए ।

उनले नेपालका लागि यू-१४, यू–१६, यू–१९ र यू–२३ गरी सबै टिमबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । नेपालका पूर्व स्टार फुटबलर हरि खड्कालाई आफ्नो प्रेरणा मान्ने सुजलले सागमा कप्तानीको जिम्मेवारी पाउनुलाई आफ्नो करिअरकै गर्वको क्षण मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?