+
+

ललितपुर मेयर कप क्रिकेटमा आयोजक टिमको लगातार हार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १७:११

१० चैत, काठमाडौं । ललितपुर मेयर कप च्याम्पियनसिप क्रिकेटमा आयोजक टिम ललितपुर मेयर–११ ले लगातार दोस्रो हार ब्यहोरेको छ ।

उदघाटन खेलमा विहीबार सुदूरपश्चिम प्रदेशसँग ५१ रनले हारेको ललितपुर शुक्रबार भएको दोस्रो खेलमा कोशी प्रदेशसँग ८ विकेटले पराजित भएको हो ।

ललितपुरले दिएको ६६ रनको झिनो लक्ष्य कोशीले ३ विकेटको क्षतिमा १२ ओभरमै भेट्टायो । कोशीलाई प्रतियोगितामा पहिलो जित दिलाउन अप्सरी बेगमले अविजित २९ रन बनाइन् । काजल श्रेष्ठ इनिङ्सको पहिलो बलमै आउट भए पनि अर्की ओपनर कप्तान रुविना क्षेत्रीले काजलसँग मिलेर दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन् ।

अप्सरीले ३२ बलमा ४ चौकासहित २९ रन बनाउँदा रुविनाले १३ रन जोडिन् । स्मृति कटुवालले ९ रन जोडिन् । कोशीले १४ अतिरिक्त रन पाएको थियो । बलिङमा ललितपुरकी कप्तान अस्मिना कर्माचार्यले २ विकेट लिइन् । कृतिका मरासिनीले १ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर १६.५ ओभरमा अलआउट हुँदा ६५ रनको योगफल बनाएको थियो । उसका लागि ओपनर लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाइन् । उनले एउटा छेउबाट संयमित ब्याटिङ गरे पनि अर्को छेउबाट विकेट जाने क्रम तीव्र गतिमा भयो । ११औं नम्बरमा ब्याटिङमा आएकी मनिषा उपाध्यायले १० रन बनाउनुबाहेक ललितपुरका अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।

बलिङमा कोशीकी निशा शाहीले ३ विकेट लिइन् । ४ ओभरमा ११ रन खर्चेकी उनी खेलको प्लेयर अफ द म्याचसमेत चुनिइन् । अप्सरी बेगमले २ ओभरमा १४ रन खचेएर २ विकेट लिइन् । सवनम राई र एलिसा खडियाले १–१ विकेट लिए । ललितपुरका तीन खेलाडी रनआउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?