+
+
ब्लग :

गठबन्धन सरकारले जगाउनुपर्ने आशा

अर्को निर्वाचन अगाडि नै नागरिकलाई परिवर्तनको स्वाद चखाउन सकिएन भने निराशा थप बढ्नेछ । यसको परिणाम हामीले सोचेभन्दा जटिल र भयावह बन्न सक्छ । सरकार, दल, राजनीतिकर्मीसँग नागरिक आक्रोशित छन् ।

नैनसिंह महर नैनसिंह महर
२०७९ चैत १० गते १९:१२

मंसीर ४ मा आम निर्वाचन सम्पन्न भएको चार महिना बितिसकेको छ । यसबीचमा नयाँ सरकारको गठन, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, पुरानो गठबन्धनको पुनरोदय लगायत राजनीतिक फेरबदल भए । यो राजनीतिक गोलचक्करसँग आम नागरिकको खास सरोकार छैन । आम नागरिकका मुद्दा र सरोकार अरू नै छन् ।

सरकार, दल, राजनीतिकर्मीसँग नागरिक आक्रोशित छन् । बढ्दो निराशाका बीच हरेक दिन २ हजार हाराहारी तन्नेरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देश छोड्न बाध्य भएका छन् । पाएसम्म हरेक युवाले देश छोड्न चाहेको छ ।

अमेरिका र युरोपसँग तुलना नगरौं, बाङ्लादेश र श्रीलंकाले समेत प्रतिव्यक्ति आय क्रमशः २५०० र ४००० डलर हाराहारीमा पुर्‍याइसक्दा हामी १३०० डलरमा सीमित छौं । हामी दक्षिण एशियाली देशहरूमा अफगानिस्तान पछिको न्यून आयमा थन्किएर बसेका छौं ।

यस्तो अवस्थाका बीच नेपाली कांग्रेस सरकारमा जाने तयारी गर्दैगर्दा देशप्रतिको जिम्मेवारी बहन गर्ने संकल्प साथमा बोक्नु आवश्यक छ ।

आशा जगाउने सरकारको खाँचो

नेपाली कांग्रेस सरकारमा जाँदै गर्दा देशलाई ठीक दिशामा लैजाने आन्तरिक छलफल र तयारी गरिनुपर्छ । अहिले अर्थतन्त्रमा कालो बादल मडारिन थालेको छ । चालु आर्थिक वर्षको आठ महिनामा १० खर्ब आयात गर्दा १ खर्ब मात्र निर्यात गर्न सकेका छौं ।

आठ महिनामा २६ अर्बको धान चामल र २२ अर्बको त तरकारी मात्रै आयात गरेका छौं । देशमा आर्थिक क्रियाकलापमा शिथिलता आएको छ । नेपालीको क्रयशक्ति घट्दै गएको छ । बढ्दो ब्याजदर विरुद्ध उद्योगी, व्यवसायी आन्दोलित छन् । मिटरब्याज पीडितहरूको समस्याको दिगो समाधान खोज्न राज्य तत्पर छैन।

लघुवित्त प्रताडितहरू देशभरबाट काठमाडौंमा जम्मा भएर नारा–जुलूस–धर्ना गरिरहेका छन् । सरकारको राजस्व संकलनमा कमी आएको छ । गुणस्तरीय र निःशुल्क शिक्षा तथा स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार अनिश्चय बनेको छ । विश्वविद्यालयको शैक्षिक प्रणाली माथि अनेक प्रश्न तेर्सिएका छन् ।

यसपटक कुनै बहानाबाजी बनाउने समय र नैतिकता कांग्रेसका लागि छैन । पार्टीले केही नेता विशेषलाई मन्त्री बनाउने भन्दा पनि गतिशील ढंगले काम गर्न सक्ने व्यक्तिलाई सरकारमा पठाउन आवश्यक छ ।

भौतिक पूर्वाधारका काम समयमै नसकिने भएको मात्रै होइन, तिनीहरूको गुणस्तरमाथि प्रश्न छन् । देशमा उद्योगहरूको स्थापना करिब–करिब ठप्प जस्तै छ । नयाँ रोजगारी सिर्जना गर्ने कार्यक्रम अगाडि सारिएका छैनन् ।

यी तमाम समस्याका बीच नेपाली कांग्रेस सरकारमा सहभागी हुँदैछ । आम नागरिकका बुझाइमा नेपाली कांग्रेस सरकारमा जानु र नजानुमा केही अन्तर छैन भन्ने छ । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीलाई यो एक चुनौती र अवसर दुवै हो । यसपटक कुनै बहानाबाजी बनाउने समय र नैतिकता कांग्रेसका लागि छैन । पार्टीले केही नेता विशेषलाई मन्त्री बनाउने भन्दा पनि गतिशील ढंगले काम गर्न सक्ने व्यक्तिलाई सरकारमा पठाउन आवश्यक छ ।

मन्त्री छान्नु अगाडि योग्यता, विज्ञता र इमानदारीको पाटो केलाउनु आवश्यक छ । पार्टीका अरू नेतागणले यो सरकारलाई सफल बनाउने र सरकारप्रतिको उत्साह बढाउने कर्ममा मन्त्रीहरूलाई मद्दत पुर्‍याउन आवश्यक छ । राजनीतिक कुराकानीका लागि घण्टौं समय खर्च भइरहेका बेला प्रत्येक दिनको प्रत्येक मिनेट महत्वपूर्ण ठानेर विकास र समृद्धिबारेका छलफलमा समय खर्चिनुपर्ने भएको छ ।

लोकतान्त्रिक प्रणाली बलियो बनाउने सरकार

विकसित देशमा समेत जुनसुकै बेला लोकतन्त्रप्रति खतरा हुन सक्छ भन्ने पुष्टि अमेरिकामा डोनाल्ड ट्रम्पका गतिविधिले गरेका थिए । हाम्रो जस्तो लोकतन्त्रको भर्खर–भर्खर अभ्यास गर्न पाएको र नागरिकमा त्यसको प्रत्याभूत गर्न अझै नसकिएको देशमा लोकतन्त्रप्रतिको खतरा अझ बढी रहने नै भयो ।

लोकतन्त्रप्रति प्रतिबद्ध भएको भनेर भाषण गर्दै हिंड्ने ओलीको शासनकालले हामीलाई थप सजग बनाएको छ । सरकारले गतिशील ढंगले काम गर्न नसक्दा दाहसंस्कार गरिसकेको राजतन्त्रको अस्तुप्रति मानिसको आकर्षण बढाउन सकिन्छ कि भन्ने सपना बुनेर केही झुण्ड क्रियाशील रहेको देखिन्छ ।

यसप्रति पनि राजनीतिक पार्टी सावधान भएर काम गर्नु आवश्यक छ । गणतान्त्रिक सरकारबाटै जनसरोकारका मुद्दा सम्बोधन हुन सक्छन् भन्ने विश्वास दिलाउनु अबको सरकारको कर्तव्य हुनेछ ।

यति मात्रै होइन लोकतन्त्रका अवयवहरूलाई सबल, भ्रष्टाचार मुक्त, विश्वासिलो र जनमुखी बनाउनमा राजनीतिक दल र सरकारले काम गर्न सक्नुपर्छ । सरकारले स्वतन्त्र न्यायपालिका, संवैधानिक अंगहरूको सबलीकरण, विधिको शासन, कानुनी राज्य, वाक्स्वतन्त्रता, विभेदरहित समाजको स्थापनाको प्रत्याभूत दिलाउन सक्नुपर्छ ।

पाँच वर्षपछिको देश

अबको ५ वर्षपछि २०८४ सालमा आम निर्वाचन हुनेछ । बीचको यो ५ वर्ष परिवर्तनको स्वाद नागरिकलाई चखाउन सकिएन भने नागरिकमा निराशा थप बढ्नेछ । यसको परिणाम हामीले सोचेभन्दा जटिल र भयावह बन्न सक्छ ।

गठबन्धनको नेतृत्व गर्दै गरेको नेपाली कांग्रेसका लागि जिम्मेवारीको तौल अझ बढी छ । सरकारमा सहभागी हुने दलले साझा स्पष्ट मार्गचित्र तयार पार्नु आवश्यक छ । लक्ष्य विनाको सरकार बीचमै लड्खडाउने खतरा रहन्छ ।

‘पाँच वर्षमा देशमा कति उद्योगहरू थपिन्छन् ? रोजगारी कति सिर्जना हुन्छ ?’ हामी स्पष्ट हुन आवश्यक छ । हजारौं विद्यालयमा विषयगत शिक्षकको अभाव पूर्ति गर्नुपर्नेछ । विश्वविद्यालयलाई विशुद्ध प्रज्ञिक र अनुसन्धानात्मक थलोको रूपमा विकास गर्नुपर्नेछ ।

फेरि पनि मनन गरौं कांग्रेस सरकारमा जान्छ जाँदैन महत्वपूर्ण कुरा यो होइन, कांग्रेसले सरकारबाट कस्तो प्रस्तुतीकरण दिन्छ महत्वपूर्ण कुरा यो छ ।

गुणस्तरीय र रोजगारीमूलक शिक्षाको पहुँच गाउँ–गाउँमा पुर्‍याउनुपर्नेछ । निःशुल्क स्वास्थ्य सेवाको पहुँच गाउँ–गाउँमा पुर्‍याउनुपर्नेछ । गाउँ–गाउँबाट बसाइसराइ रोक्नुपर्नेछ । स्थानीय निकायलाई थप सबल र सक्षम बनाउनुपर्नेछ । कृषि उत्पादनमा वृद्धि गराउनुपर्नेछ । किसानका समस्याको हल, बिचौलियाको अन्त्य गर्नुपर्नेछ ।

काठमाडौं लगायत शहरको प्रदूषणलाई घटाएर स्वच्छ र हराभरा शहरको रूपमा परिणत गर्नुपर्नेछ । लगानी मैत्री वातावरण, उद्योगी व्यवसायीलाई प्रोत्साहन, वैदेशिक लगानीमा वृद्धि गराउनुपर्नेछ ।

पर्यटन प्रवर्द्धन, हरित ऊर्जा, विज्ञान र प्रविधिमा देशको स्तर अभिवृद्धि गर्नुपर्नेछ । अन्य देशहरूसँगको कूटनीतिक सम्बन्ध सुमधुर बनाउँदै स्वदेशको विकासमा उनीहरूको मद्दत लिनुपर्नेछ । यी बाहेक सरकारले गर्नुपर्ने कामको सूची धेरै लामो हुनसक्छ ।

यी समग्र विषयमा सरकारमा सहभागी दलले चुनावी घोषणापत्रमा प्रतिबद्धता जनाएको आधारमा न्यूनतम कार्यक्रम घोषणा गरिनुपर्छ । यसैको मार्गनिर्देशनमा सरकारले आर्थिक, सामाजिक र विकासका कार्यक्रमहरू अगाडि बढाएर देशको नवीन यात्रामा केही कदम चाल्नैपर्छ ।

फेरि पनि मनन गरौं कांग्रेस सरकारमा जान्छ जाँदैन महत्वपूर्ण कुरा यो होइन, कांग्रेसले सरकारबाट कस्तो प्रस्तुतीकरण दिन्छ महत्वपूर्ण कुरा यो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?