+
+

एक तिहाइ जनसंख्या आर्थिक रुपमा निष्क्रिय

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते २०:३९

१० चैत, काठमाडौं । नेपालमा १० वर्षमुनिका बालबालिका बाहेक एक तिहाइ भन्दा बढी जनसंख्या आर्थिक रुपमा निष्क्रिय रहेको पाइएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार १० वर्ष भन्दा माथिका ८२ लाख ११ हजार १२ (३४.३ प्रतिशत) नागरिक आर्थिक रुपमा निष्क्रिय रहेका छन् । १ करोड ५६ लाख ८९ हजार ७७७ जना (६५.५ प्रतिशत) जनसंख्या भने आर्थिक रुपमा सक्रिय रहेका छन् ।

आर्थिक रुपमा निष्क्रिय रहनेमा ३१.६ प्रतिशत पुरुष र ४१.९ प्रतिशत महिला जनसंख्या रहेको छ । १०.१ प्रतिशत नेपालीले १२ महिनामा ३ महिना भन्दा कम मात्रै काम पाएका छन् । ३ महिना देखि ५ महिनासम्म मात्र आर्थिक काम गर्ने जनसंख्या ११.४ प्रतिशत र ६ महिना भन्दा बढी काम गर्नेको जनसंख्या ४१ प्रतिशत रहेको छ ।

आर्थिक रुपमा सक्रिय जनसंख्या पनि औसतमा ७०.४ प्रतिशत मात्र आर्थिक क्रियाकलापमा सक्रिय रहेका छन् । २९.६ प्रतिशत भने प्राय रोजगारीमा निष्क्रिय रहेको देखिन्छ । जनगणना २०७८ को नतिजा अनुसार आर्थिक रुपमा सक्रिय जनसंख्यामध्ये ९३ प्रतिशत रोजगार र ७ प्रतिशत बेरोजगार रहेका छन् ।

आर्थिक क्रियाकलाप (आर्यआर्जन) मा संलग्न जनसंख्यामध्ये ०.७ प्रतिशत सशस्त्र बल, ५.१ प्रतिशत व्यवस्थापकको रुपमा आवद्ध छन् । ३.८ प्रतिशत पेशाविद्हरु रहेका छन् । यस्तै १.१ प्रतिशत प्राविधिक तथा सहायक पेशाविद्हरु, १.३ प्रतिशत कार्यालय सहायकको रुपमा आयआर्जन अथवा रोजगरी गरिरहेका छन् ।

सेवा तथा वस्तु बिक्री गर्ने कामदार ५.८ प्रतिशत, कृषि वन र माछापालन कार्यमा दक्ष कामदारहरु ५०.१ प्रतिशत छन् । शिल्पकार तथा कारिगरी र यससम्बन्धी व्यापार गर्ने कामदारहरु ५.६ प्रतिशत रहेको जनगणना २०७८ को नतिजाले देखाएको छ । २.७ प्रतिशत कारखाना तथा यन्त्र चालक र जडान गर्ने कामदारहरु २.७ प्रतिशत र सामान्य वा प्राथमिक पेशाका कामदारहरु २३ प्रतिशत रहेका छन् ।

जनगणना अगाडिको एक वर्षमा आर्थिक क्रियाकलापमा कृषि क्षेत्रमा ५७.३ प्रतिशत जनसंख्या संलग्न रहेका छन् । यस्तै ०.२ प्रतिशत खानी, ३.८ प्रतिशत निर्माण, ०.३ प्रतिशत बिजुली, ०.२ प्रतिशत पानी, ८.९ प्रतिशत निर्माण क्षेत्रको आर्थिक क्रियाकलापमा रहेको देखिन्छ ।

यस्तै १२.५ प्रतिशत थोक व्यापार, २.२ प्रतिशत यातायात, १.७ प्रतिशत आवास क्षेत्रका आर्थिक क्रियाकलापमा संलग्न छन् । वित्त क्षेत्रमा १.०९ प्रतिशत, जानकारी उद्योगमा ०.३ प्रतिशत, घरजग्गा व्यापारमा ०.२ प्रतिशत, पेशाविद्हरु ०.५ प्रतिशत छन् । व्यवस्थापक ०.३ प्रतिशत, सार्वजनिक प्रशासनमा १.९ प्रतिशत, शिक्षामा २.१ प्रतिशत, मानवस्वास्थ्यमा १.१ प्रतिशत, कला उद्योगमा ०.४ प्रतिशत आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् ।

अन्य सेवामा ३.१ प्रतिशत, घरयासी क्रियाकलापमा ०.८ प्रतिशत, बाह्य संघसंस्था र यसका अंगहरुको क्रियाकलापहरुमा ०.१ प्रतिशत र कुनै उद्योग उल्लेख नभएको आर्थिक क्रियाकलापमा संलग्न ०.१ प्रतिशत रहेका छन् ।

जनगणना अगाडिको १ वर्षमा मुख्य आर्थिक काम गर्दा कामदारको रुपमा रोजगारीमा संलग्न, २८.६ प्रतिशत, रोजगादाताको रुपमा रोजगारीमा संलग्न १.४ प्रतिशत, आफ्नै खाता व्यवस्थापन गर्ने ५५.३ प्रतिशत र पारिवारिक आपूर्ति १४.५ प्रतिशत रहेको छ ।

उक्त अवधिको आर्थिक कामको संस्थागत क्षेत्रको आधारमा ३.९ प्रतिशत जनासंख्या सरकारी क्षेत्रमा १.०९ प्रतिशत जनसंख्या वित्तीय क्षेत्रमा, ३२.७ प्रतिशत गैर वित्तीय क्षेत्रमा, ०.४ प्रतिशत गैरनाफामूलक क्षेत्रमा र ६.८ प्रतिशत घरायसी क्षेत्रमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?