+
+

नवनियुक्त अध्यक्ष लामा भन्छन् :  अब कराते पहिलाजस्तो हुँदैन

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ चैत १२ गते १३:०६

१२ चैत, काठमाडौं । शनिबार चितवनमा सम्पन्न नेपाल कराते महासंघको केन्द्रीय साधारणसभाले तदर्थ समितिका संयोजक युवराज लामाको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन गरेको छ । योसँगै करातेमा दशक लामो विवादको अन्त्य भएको छ ।

२०६८ सालमा आफैं राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्यसचिव हुँदा लामाले करातेमा दुई महासंघ अस्तित्वमा आएको थियो । राखेप र ओलम्पिकको विवादबीच दुई महासंघले एकअर्काको मान्यता पाएका थिए । त्यतिबेलाको आफ्नो कदमलाई परिस्थितिगत बाध्यताका रुपमा चित्रण गरेका लामाले दशकपछि आफ्नो कार्यकालको दोष मेटेका छन् ।

पुरेन्द्रविक्रम लाखे नेतृत्वको अन्तर्राष्ट्रिय मान्यताप्राप्त र दावा गुरुङ नेतृत्वको राष्ट्रिय मान्यताप्राप्त कराते महासंघ विघटन गरी राखेपले तीन महिनाभित्र निर्वाचन गर्ने गरी गएको माघमा तदर्थ समिति बनाएको थियो । समितिको नेतृत्व राखेप पूर्व सदस्यसचिव तथा करातेका पूर्व अन्तर्राष्ट्रिय खेलाडी युवराज लामाले लिए ।

समितिले दुई महिनाभित्रै विवादरहित रुपमा महासंघको विधानदेखि स्थानीय हुँदै केन्द्रीय साधारणसभा र निर्वाचन सम्पन्न गरेको छ । लामा आफैं निर्विरोध आउने चार वर्षका लागि नेतृत्वमा पुगेका छन् । नेपाल करातेको विकासका लागि लामालाई राष्ट्रिय टिम तयारीका साथसाथै धेरै नीतिगत सुधारको चुनौति छ ।

‘प्रमुख कुरा भनेको कराते र विज्ञानलाई एकसाथ अगाडि बढाउनुपर्नेछ । यसका धेरैवटा स्तरहरुमा समस्या छ । त्यसलाई सुधार गर्नुपर्छ । बेल्ट बेचाबेचको अराजकता विगतमा धेरै देखिएका थिए । त्यसलाई नियन्त्रण गरी नेपाल कराते महासंघको मतहत ल्याउनुपर्नेछ,’ निर्वाचित भएपछि अनलाइनखबरसँगको कुराकानीमा लामाले भनेका छन् ।

शनिबारको साधारणसभाले विद्यालयस्तरमा कराते सिकाउन पठ्यक्रम विकास गर्ने निर्णयसमेत भएको छ । यसका लागि अध्यक्ष लामा आफैंले पहलकदमी लिएका थिए । कक्षा ६ देखि १० सम्म कराते सिकाएर विद्यालयस्तरमै ब्ल्याक बेल्ट खेलाडी उत्पादन गर्ने लक्ष्य यो कार्यक्रमले राखेको छ । विद्यालयमा करातेको सिकाई यसअघि पनि सन्चालित कार्यक्रम हो । तर, प्रभावकारी भइरहेको थिए ।

‘हामीले हालै वागमतीका २८० जनालाई विद्यालय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सन्चालन गर्यौं । यसलाई देशभर नै निरन्तरता दिनुपर्नेछ,’ लामाले भने, ‘यो देशब्यापी अभियानको एक चरण हो । कराते अब पहिलाजस्तो हुँदैन ।’

पाठ्यक्रम विकासका लागि दीपेन्द्र पराजुलीको संयोजकत्वमा ओमकृष्ण प्रसाईं, तुलसी महर्जन, महेशकुमार श्रेष्ठ र सुलोचना सिजखुसम्मिलित पाँच सदस्यीय विद्यालय कराते पाठ्यक्रम विकास समिति गठन गरिएको छ । महासंघको उपाध्यक्ष निर्वाचित भएका समितिका सदस्य ओमकृष्ण प्रसाईंले अधिकांश काम सम्पन्न भइसकेको जानकारी दिए ।

शनिबार चितवनमा देशभरबाट ८० जनाभन्दा बढी प्रतिनिधि साधारणसभाका लागि भेला भएका थिए । साधारणसभाले विधानमा व्यवस्था भएको कार्यसमितिको संख्या बढाएको छ । यसअघि २५ सदस्यीय रहेकोमा चारजना बढाएर २९ सदस्यीय बनाइएको छ । अध्यक्ष लामाले कुनै पनि पदमा निर्वाचन गर्नुपर्ने अवस्था नआएको जानकारी दिए ।

लामाको प्रस्तावअनुसार करातेका चार स्टाइलहरु (सितोरियो, गोजुरियो, सोतोकान र वादुरियो)बाट कार्यसमितिको पदाधिकारी र सदस्यमा प्रतिनिधित्वको ग्यारेन्टीसमेत गरिएको थियो । यसो हुँदा महासंघमा सबैको समान अपनत्व हुने तर्क लामाले गरेका थिए ।

कराते राष्ट्रिय टिमको तयारी १५ चैतदेखि नै सुरु गर्ने अध्यक्ष लामाले बताएका छन् ।

करातेको नयाँ कार्यसमिति :

अध्यक्ष : युवराज लामा
वरिष्ठ उपाध्यक्ष : हरिशरण केसी
उपाध्यक्ष : प्रकाशमोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईं, मजिन्द्र सिंह र श्याम शेर्पा
महासचिव : दावा गुरुङ
सचिव : ध्वजमान मोक्तान र बलराम मित्र
कोषाध्यक्ष : किशोरप्रसाद भट्टराई
सदस्यहरू : रामबहादुर सिंह ठकुरी, सन्जयसुन्दर सैजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र रावल, शशिकुमार तितुङ, कमला राना र सन्जयकुमार राई
हरेक प्रदेशबाट प्रदेश कार्यसमितिले चयन गरेर पठाएका एक एक जना सदस्य– ७ जना ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?