+
+

सुपर मादीको १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडियो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १२ गते १६:२५

१२ चैत, पोखरा । सुपर मादी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । ४४ मेगावाट क्षमताको सुपरमादीको शनिबारदेखि १५ मेगावाट विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको हो ।

कास्कीको मादी गाउँपालिका वडा नम्बर १ र २ को बीचबाट बग्ने मादी नदीमा निर्माण भएको यो जलविद्युत आयोजना १३२ केभी प्रशारण लाइनको लेखनाथ सबस्टेसनमा जडान गरिएको सुपर मादी हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए । ७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको गत कोरोना, असारको बाढी र रुश युक्रेनको युद्धको असरले १ अर्बभन्दा बढी लगात थप भएको कार्यकारी अध्यक्ष ढुंगानाको भनाइ छ ।

आयोजनाले २ सय ४२ गिगावाट आवर प्रतिवर्ष २४ करोड २० लाख युनिट विद्युत उत्पादन गर्छ । २०७५ मंसिरबाट निर्माण सुरु भएको आयोजना परीक्षणपछि शनिबारबाट प्रशारण लाइनमा जोडिएको हो । आयोजनाले १५ दिन नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत दिने छ ।

आयोजनाले दिउँदका ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० र बाँकी महिनामा ४ रुपैयाँ ८० पैसाका दरले विद्युत विक्री गर्ने छ । सुरुको वर्ष १ अर्ब ३० करोड रुपैयाँको विद्युत दिने छ भने आठौं वर्षमा पुग्दा १ अर्ब ५८ करोड रुपैयाँको प्रतिवर्ष उत्पादन गर्ने ढुंगानाले जानकारी दिए । भारतबाट प्रतियुनिट १२ रुपैयाँमा अहिले विद्युत् खरिद गर्नुपर्ने अवस्थामा सुपरमादी सञ्चालनले नेपाल सरकारलाई सहयोग पुग्ने उनको भनाइ थियो ।

सानिमा बैंकको अगुवाइमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआइडीसीएल र प्रभु बैंक लगायतको आयोजनामा लगानी छ । सुपर मादीका सञ्चालकले २ अर्ब १० करोड रुपैयाँ लगानी गरेका छन् ।

सुपर मादी स्वदेशी निजी क्षेत्रले निर्माण गरेको दोस्रो ठूलो आयोजनामा पर्ने कम्पनीको दाबी छ । साहस ऊर्जा लिमिटेडले निर्माण गरेको ८६ मेगावाटको सोलु–दूधकोसी सबैभन्दा ठूलो लगानीको आयोजना हो ।

आयोजनाको सिभिल निर्माणको ठेक्का सुरुमा हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले लिएको थियो । तर, समस्या परेको भन्दै कम्पनीले कामको जिम्मा फेवा कन्स्ट्रक्सनलाई दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?