+
+
११ दिन हिंडेर काठमाडौं आएका पीडितको चीत्कार :

मिटर ब्याजी साहूसँग कसरी बचूँ ?

चन्द्रागिरि नगरपालिका ६ मातातीर्थको एउटा टहरोमा बस्न आइपुग्दा कल्पनाको काखमा लोलाइरहेका काइरबलाई अब कहाँ जाने हो थाहा छैन । उनी लोलाएकी आफ्नी आमा हेर्दै घरी रुन्छन्, घरी निरुपाय टोलाउँछन् । आमा कल्पनाको भने भोलि सोमबार १२औं दिनमा सिंहदरबार सामुन्नेमा पुग्ने योजना छ ।

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ चैत १२ गते २१:४१

१२ चैत, काठमाडौं । मिटरव्याज पीडितका लागि न्याय कति टाढा छ ? सायद त्यो धनुषाबाट काठमाडौंभन्दा पनि टाढा छ ।

देहातबाट संघीय राजधानी उडेर आउनेलाई केही घण्टा होला, गुडेर आउनेलाई एक दिन । तर धनुषा, सबैला नगरपालिका १२ की कल्पना धामीलाई सानो बालक च्यापेर काठमाडौं आउन १२ दिन लाग्यो, त्यो पनि हिँडेर ।

पटपटी फुटेका ठेला, अनि भोकोतिर्खो अवस्थासहित ११औं दिनको पैदलयात्रा गरेर कल्पना धामी आफ्नो सानो बालक काइरब कुमरसहित यति बेला चन्द्रागिरिको डाँडो कटेर उपत्यका छिरेकी छिन् ।

चन्द्रागिरि नगरपालिका ६ मातातीर्थको एउटा टहरोमा बस्न आइपुग्दा कल्पनाको काखमा लोलाइरहेका काइरबलाई अब कहाँ जाने हो थाहा छैन । थाहा हुने कुरै भएन । उनी लोलाएकी आफ्नी आमा हेर्दै घरि रुन्छन्, घरि निरुपाय टोलाउँछन् । आमा कल्पनालाई भने भोलि सोमबार १२औं दिनमा सिंहदरबार सामुन्नेमा पुग्ने योजना छ ।

आफूले भोगिरहेको अन्याय चिच्याई चिच्याई सुनाउने, न्याय पाएर देहात फिर्ता हुने एउटै चाहना छ ।

किनकी कल्पना पत्याउनै गाह्रो पर्ने किसिमले ऋणको पासोमा परेकी थिइन् । खासमा काइरब जन्मेको केही समयसम्म पनि राम्रोसँग बोली नफुटेपछि उनले उपचार गराउन चाहिन् । उनलाई चाहिएको थियो, एक लाखजति ऋण, जो सजिलै पाइने कुरा थिएन । अरुले नपत्याएपछि उनी गाउँकै साहु सरु यादवकहाँ पुगिन् ।

‘छोराको उपचारका लागि रकम चाहिएको छ,’ कल्पनाले सरुलाई गुहार मागिन् ।

सरुले उनको अवस्था बुझेझैं गरी ८५ हजार रुपैयाँ ऋण दिए । कल्पनाका अनुसार उनले एक लाख रुपैयाँ चुक्ता गरिन् । सरुले भने ऋण चुक्ता भइसकेको छैन भनिरहे ।

केही महिनाअघि मात्रै कल्पनाका पति विजय कुमर रोजगारीका लागि साउदी अरब गए । उनको घरमा अरु छैनन् । कोही नभएको बेलामा साहुले आएर टोकसो गरिरहन्छन् । कानले सुन्नै नसकिने गरी तुच्छ गाली गर्छन् ।

‘मैले सबै पैसा तिरिसकें, ऊ भने अझै एक लाख रुपैयाँ बाँकी छ भन्छ । घरमा आएर तथानाम बोल्छ,’ कल्पनाले आफूलाई रोक्न सकिनन् । काखमा छोरो च्यापेर भक्कानिँदै भन्छिन् ‘अहिले त साहुले मसँग सुत्न हिंँड् भन्छ, एक रात सुतेको २० हजारको दरले कर्जा कट्टा हुन्छ रे !’

घरमा जुधेर, छिमेकीको घरमा बसेर आफूलाई साहु सरुबाट बचाएको भन्दै उनले भनिन्, ‘गाउँ र जिल्लाका नेताबाट सहयोग भएन । छोरालाई फाल्दिएर मसँग सुत्न हिँड भन्ने साहूसँग म कसरी बचौं ? सरकारले मलाई न्याय देओस् ।’

झट्ट सुन्दा लाग्न सक्छ, ऋण खाएपछि तिर्नुपरिहाल्यो नि ! देहातका मिटरब्याज पीडितले बेहोरेका पीडा भने साहु र आसामीका दैनन्दिन मर्कासँग तुलनै हुँदैनन् ।

कल्पना धामीले पाएका प्रताडना अकल्पनीय छन्, जसको साइनो हाम्रो राष्ट्रिय अर्थप्रणाली अनि त्यस अन्तर्गतको कुनै पनि बैंकिङ वा ऋण प्रक्रियासँग छैन । उनले कुन नियम अन्तर्गत ऋण पाएकी हुन्, अनि कति समयसम्म कति रुपैयाँ तिरेपछि त्यो फछ्र्यौट हुन्छ, कुनै लेखाजोखा छैन । साहुको बोली नै कानुन ।

कल्पनासँग ११ दिन पैदल हिँडेर आउने अरुको पीडा पनि उस्तै छ । सिरहा अनरावा १ का रफिद मियाँ आजको ५ घण्टा लामो पैदल यात्रापछि चन्द्रागिरिको ढुंगेधारामा आइपुगे ।

चन्द्रागिरि पहाडको उकालो र ओरालोमा धुलो र मैलो खाँदै न्याय माग्न काठमाडौं आइपुगेका उनले ढुंगेधाराको पानीमा आफूलाई राम्ररी धोइपखाली गरे, टन्न पानी पिए ।

छोरीको बिहेका लागि ऋण लिन उनी ६ वर्षअघि साहु घुरन ठाकुरको घरमा पुगेका थिए । पैसा दिने तर लिएको भन्दा धेरै रकमको कपाली तमसुक गर्नु पर्ने र जमिन राजिनामा गरिदिनु पर्ने भन्दै साहुले सर्त राखे । छोरीको बिहे टार्ने करले उनले एक कटठा ३ धुर जग्गा रजिष्ट्रेशन पास गरिदिए ।

तर पढ्न लेख्न नआउने उनलाई घुरनले १० लाख ५० हजारको कपाली तमासुक बनाइदिए । रफिदका अनुसार उनले पटकपटक गरेर ४ लाख ५० हजार रुपैयाँ साहुलाई बुझाइसके । तर साहूले एक लाख रुपैयाँ घटाएर ३ लाख ५० हजार रुपैयाँ मात्रै ब्याज तिरको र साँवा १२ लाख रुपैयाँ बाँकी रहेको हिसाब देखाउँछ ।

‘लिएको ३ लाख ५० हजार, ४ लाख ५० हजार तिरिसकें,’ मियाँ भन्छन्, ‘अझै १२ लाख रुपैयाँ तिर्नु पर्छ, पैसा नतिरे जमिन बिक्री गर्छु भन्छ । त्यही जमिनमा घर छ, हामी १२ जनाको परिवार छौं अब कहाँ जाने के खाने ?’ आफूलाई अन्याय भएको भन्दै गाउँका स्थानीय पालिका र जिल्ला प्रशासन कार्यालयमा गएपनि आफ्नो समस्या सुनुवाइ नभएको उनले सुनाए ।

धनुषा जिल्ला गणेशमान चारनाथ–७ की लक्ष्मी परियार महोत्तरीको बर्दिबासबाट ६ वर्षको छोरी बोकेर ११ दिनको पैदल यात्रा गरेर काठमाडौं आइपुगेकी छिन् ।

लघुवित्तबाट ३ लाख रुपैयाँ ऋण लिएकी उनले किस्ता तिर्न गाउँका गणेश जैसवालसँग ऋण मागिन् । जैसवालले १० हजार २० हजार गर्दै लक्ष्मीलाई ऋण दिए । त्यो ऋणको एकमुष्ट कागज गरेर जैसवालले ३ लाखको कागज लक्ष्मीको आमालाई गराए भने उनीहरुको सम्पत्ति पनि रजिष्ट्रेशन पास गरेर लिए ।

१० धुर जमिन र त्यसमा बनेको ४ कोठाको पक्की घर जैसवालको नामा गयो । ‘त्यसयता श्रीमानले विदेशबाट कमाएको रकमसहित धेरै रकम तिरिसक्यौं । तर जग्गा आफ्नो नामा आउँदैन, उल्टै घर छोड भन्छ,’ लक्ष्मीले भनिन् ।
११ दिन पैदल हिडेर सिंहरदरबारलाई आफ्नो पीडा सुनाउन आएका हरेकको यस्तै दुःख छ । सप्तरी बोदेबरसाईन नगरपालिका ९ का शीतल यादव ५३ वर्षका भए ।

६ वर्ष अघि साढे १३ कठ्ठा जग्गा रजिष्ट्रेशन पास गरेर २ लाख ७० रुपैयाँ ऋण उनले रामवेद साह तेलीसँग लिए । तर तेलीले ७ लाख ५० हजारको कपाली तमासुक कागज बनाए ।

यस अवधिमा त्यो रकममा ब्याज र ब्याजमा स्याज जोडेर २० लाख रुपैयाँ पुर्‍याए । ‘यस बीचमा कति रकम तिरे पनि थाहा छैन, परिवारले गाली गर्छ सम्पत्तिमा आफ्नो अधिकार छैन,’ यादवले अनलाइनखबरसँग भने, ‘सरकार मलाई न्याय चाहियो, मेरो जमिन फिर्ता चाहियो । मैले तिरेको पैसाको हिसाब चाहियो ।’

सप्तरी बोदेबरसाईन खडकपुरका ४१ वर्षीय राजिवकुमार यादवले गाई पालन गर्न लागि राजेन्द्र प्रसाद तेलीसँग १३ लाख रुपैयाँ ऋण लिएका थिए । तेलीले ऋणदिन उनको बुबाको नाममा रहेको २२ कठ्ठा जमिनको रजिष्ट्रेशन पास गरे । १३ लाख रुपैयाँको ब्याजसहित २४ लाख रुपैयाँ उनले तेलीलाई तिरे, तर ६६ लाख भन्दा धेरै पैसा पर्ने जग्गा आफ्नो नामा आएको छैन ।

जग्गा फिर्ता माग्दा आफूलाई सकेको गर भनेर धम्क्याउने गरेको भन्दै उनले सरकारसँग न्याय माग गरे ।

‘किसान मान्छे फार्म खोलेर जिविकोपार्जन गर्छु भनेको तर हामीलाई घर न घाटको बनाइयो ।’ उनले आफ्नो कागजी प्रमाण देखाउँदै न्यायका लागि अपिल गरे ।

सप्तरी शम्भुनाथ ३ का मोहम्मद मुस्तकिन ५० वर्षका भए । उनी वैदेशिक रोजगारीको सिलसिलामा ९ वर्ष अघि कतारमा थिए । घरमा आपत परेको भन्दै ७ लाख रुपैयाँ चाहिएपछि उनले गाउँका महाजन विनोदकुमार यादवसँग ऋण माग गरे । साहूले जग्गा धितो राख्नुपर्ने बताए । उनले खेतको जमिन राखेर ऋण लिने भनेर घरमा बुबालाई भने । तर साहूले घर भएको जमिनमा रजिष्ट्रेशन पास गराएर ७ लाख रुपैयाँ ऋण दिएको उनलाई थाहै भएन ।

मुस्तकिनका अनुसार विनोदलाई २१ लाख रुपैयाँ तिरिसके । तर जमिन फिर्ता माग्दा ४० लाख रुपैयाँ तिर्न भनिएको छ । ‘मैले सय रुपैयाँको ५ रुपैयाँका दरले ब्याजमा ऋण दिएको भन्छ, अझै ४० लाख रुपैयाँ नतिरी जग्गा दिन्न भन्छ,’ उनी भन्छन्, ‘तिमी बसेको घर पनि खाली गर, नभए घरको भाडा हिसाब गर्छु भन्छ ।’

न्यायका लागि जिल्ला र नगरपालिका धाउँदा पनि उल्टै पीडित भएको उनले सुनाए । गाउँपालिकाले पनि ३० लाख रुपैयाँ भए पनि तिर्न भनेर दबाब दिएको मुस्तकिन बताउँछन् । ‘केही दिन अघि साहुले चिठ्ठी लेखेको छ घर खाली गराउन,’ सकिलले लामो खुइया काटे ‘अब न्यायका लागि नलडी भएन ।’

साहूबाट छुटकारा तथा सरकारसँग न्याय माग्न आइतबार बिहान ८ बजे मकवानपुरको फाखेल कालिदेवी स्कुलबाट काठमाडौंका लागि हिँडेका ७३ जना मिटरब्याज पीडितहरु दिउँसो २ बजे मातातीर्थ आइपुग्दा निकै थकित देखिन्थे ।

मिटरब्याजीले घरबास उठाएपछि सरकारसँग न्याय माग्न २ चैतमा महोत्तरीको बर्दिबासबाट पैदलै हिँडेका ७५ मध्ये २ जना बिरामी भएर बाटोबाटै फर्किए । बाँकी ७३ जना ११ औं दिनको कष्टकर पैदलयात्रापछि काठमाडौं छिरेका छन् । ‘अब न्याय नपाइन्जेल हामी लडिरहन्छौं, हामीसँग अर्को कुनै विकल्प छैन,’ मिटर ब्याजबिरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवान बताउँछन् ।

झापादेखि कैलालीसम्मका ७ जिल्लाका पीडितहरु न्यायको लडाईंमा रहेको उनले बताए । ‘हाम्रो जिल्लामात्रै अलग हो, पीडा एउटै छ,’ उनले अनलाइनखबरसँग भने ।

तराइ मधेसका राजनीतिक सामाजिक समस्याहरुलाई नियालिरहेका विश्लेषक तुलानारायण साहले मधेसमा फैलिरहेको यो समस्याको जरोसम्मै पुगेर समाधान गर्नुपर्ने बताए । मिटरब्याजी ऋणीहरुले पाएको समस्याको जातीय र वर्गीय आयामसमेत रहेको भन्दै उनले सरकार र पार्टीहरुले यसमा ध्यान दिनुपर्ने बताए ।

‘ऋण लिनका लागि बैंकिङ प्रणालीको ज्ञान तल्लो तहका जनतामा पुगिसकेको छैन । त्यसैले गाउँमै सहारा लिने हुँदा उनीहरु फस्न पुगेको देखिन्छ’, उनी भन्छन्, ‘आम्दानी र खर्चबीच तालमेल मिलाउन, अनि ऋणको बारेमा राम्रोसँग जानकारी राख्न जनतालाई सचेत गराउनुपर्छ । नत्र यो समस्या अझै विकराल बन्दै जान्छ ।’

फोटो तथा भिडियो : आर्यन धिमाल  र विकास श्रेष्ठ/अनलाइनखबर

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?