
१४ चैत, काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार घरेलु टोली बंगलादेशसँग १-१ को बराबरी खेलेको छ ।
बंगलादेशसँग बराबरीपछि नेपाल पाँच राष्ट्र सहभागी च्याम्पियनसिपमा चौथो स्थानमा रहेर घर फर्कने भएको छ । नेपालले चार मध्ये एक मात्र जित्दा दुई खेलमा हार बेहोरेको थियो ।
चार खेलबाट ४ अंक जोड्दै नेपाल चौथो भयो । सबै चार खेल हारे भुटान अंकविहिन हुँदै नेपाल भन्दा तल रह्यो ।
ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको खेलको आठौं मिनेटमै सेनु परियारले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर अन्तिम १५ मिनेटमा नेपालले गोल बेहोरेपछि अंक बाँड्नुपरेको हो । बंगलादेशका लागि ७५ औं मिनेटमा सागोरिकाले बराबरी गोल फर्काइन् ।
गत नोभेम्बरमा बंगलादेशमै भएको साफ यू-१५ महिला च्याम्पियनसिपको उपाधि जितेको नेपाल यस पटक यू-१७ फर्म्याटमा आयोजना हुँदा उपाधि रक्षा गर्ने लक्ष्यसहित ढाका पुगेको थियो ।
तर भारत र रुससँग पराजित भएपछि नेपालको सपना अधुरै रह्यो । राउण्ड रोविन लिगको आधारमा भइरहेको च्याम्पियनसिपको अन्तिम खेलमा मंगलबारै बेलुका रुस र भारतबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलपछि विजेताको टुङ्गो लाग्नेछ । लगातार तीन खेल जित्दै अपराजित रहेको रुस ९ अंकसहित शीर्ष स्थानमा छ ।
दुई जित र एक हारबाट भारत ६ अंकसहित तेस्रो स्थानमा छ । रुसले भारतसँग बराबरी खेले पनि उपाधि जित्नेछ । भारतका लागि भने रुस विरुद्ध जित निकाल्नैपर्ने जरुरी छ र स्कोर पनि आफू अनुकुल ल्याउनुपर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4