+
+

पक्राउ परेका चिनियाँ नागरिकले गरे प्रहरी कार्यालयमै नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १५ गते १६:२७

१५ चैत, काठमाडौं । काठमाडौंको महादेवखोला र चण्डोलमा कार्यालय राखेर साइबर अपराध गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार १९ जनालाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमध्ये ९ जना चिनियाँ नागरिक थिए ।

बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले चिनियाँ नागरिकको गिरफ्तारीबारे जानकारी दिंदै उनीहरुलाई सञ्चारकर्मीमाझ सार्वजनिक गर्दा चिनियाँ नागरिकले विरोध जनाए । उनीहरुले उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वर परिसरमै नाराबाजी मात्रै गरेनन्, कार्यालय परिसरमा सुतिदिए ।

हत्कडीसहित बाहिर ल्याइएका उनीहरुले कार्यालय अगाडि सुतेर विरोध जनाएका थिए । तस्वीर खिच्न खोज्नेलाई समेत दुर्व्यवहार गर्न खोजेका थिए । चिनियाँ भाषामा बोलेकाले उनीहरुले के भने भन्ने त बुझिएन । तर, अन्तिममा एक जनाले ह्वाई (किन ?) भन्दै प्रश्न गरेको बुझिन्थ्यो ।

कार्यालयका एक अधिकृतका अनुसार पक्राउ परेर हत्कडी लगाएपछि उत्तेजित हुने चिनियाँ नागरिकको पुरानै व्यवहार हो । ‘पहिले पनि पक्राउ परेका बेला प्रहरी र अरुलाई आक्रमण गर्न खोजेको देखिएकै हो’ ती अधिकृतले भने, ‘मार्सल आर्टस् सिकेका चिनियाँले प्रहरीलाई सधैं हैरान पार्ने गरेका छन् ।’

२०७७ को वैशाख अन्तिमतिर स्वदेश फिर्तीको माग राख्दै प्रदर्शन गर्ने क्रममा पुगेका प्रहरीलाई चिनियाँले हातपात गरेका थिए । पछि प्रहरीले कुटपिटमा संलग्न चार चिनियाँ नागरिकलाई पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।

‘यसपालि पनि उनीहरुले आफूले केही नगरे जस्तो देखाएर सहानुभूति मात्रै बटुल्न खोजेका हुन्’, स्रोत भन्छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मनोज केसीका अनुसार ह्वाट्स एपमा अनलाइनमार्फत बिजनेशमा संलग्न भए ३० प्रतिशतसम्म फाइदा हुने भन्दै यो गिरोहले नेपाली नागरिकलाई ठगेको पाइएको छ ।

ह्वाट्स एपमार्फत टेलिग्राममा खाता खोल्न लगाएर अपरेशन टिचर नामक च्यानलमार्फत ठगी भएको भेटिएको उनले बताए । ‘पैसा हाले पश्चात सामान अनलाइनमार्फत बिक्री हुन्छ, त्यसवापत आउने फाइदाको रकम कम्पनीको खातामा रहनेछ र बिक्री गरेको १४ दिनमा मुनाफाको ३० प्रतिशतसहित रकम आउने भनिएको रहेछ’ केसीले भने, ‘यसरी नेपालीबाट लाखौं ठगिएको पाइएको छ ।’

पीडितले एनआईसी एशिया बैंकमा राजकुमार लामा, बुद्धिराज श्रेष्ठ, इन्द्र तामाङ र प्रयास भण्डारीको नाममा खोलिएको खातामा पैसा पठाएको भेटिएको छ । थप अनुसन्धान जिल्ला प्रहरी परिसर, काठमाडौंबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?