
१५ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख सदनमै हुँदा सांसदले सदनको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन’ भन्ने प्रश्न उठेको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस्तो प्रश्न उठाएका हुन् ।
‘उपसभामुख यहीँ हुनुहुन्थ्यो सभामुख महोदय (एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ)ले त्यहाँ सभा चलाइराख्नुभएको छ । यो पनि राम्रै छ । त्यसका लागि धन्यवाद दिन चाहन्छु’ सांसद खतिवडाले व्याङ्ग्यात्मक रुपमा प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ मा बैठकको सञ्चालन र स्थगन सम्बन्धी व्यवस्था छ । जहाँ ‘सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने’ उल्लेख छ ।
बैठकको प्रारम्भ गरेपछि उपसभामुख वा सदनको अध्यक्षता गर्ने गरी मनोनयन भएका सदस्यलाई सदनको अध्यक्षता गर्न दिएर सभामुख बाहिर रहन सक्छन् ।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० मा अध्यक्षता गर्ने सदस्यको मनोनयन सम्बन्धी व्यवस्था छ । जहाँ ‘सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा सात जना सदस्यलाई मनोनित गर्न सक्ने’ उल्लेख छ । ‘उपसभामुख तथा अध्यक्षता गर्न मनोनयन गरिएका सदस्यले अध्यक्षता गरिरहको बैठकमा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न सक्ने’ प्रावधान पनि सोही नियममा छ ।
प्रतिनधि सभा नियमावलीको यही व्यवस्थातर्फ संकेत गर्दै कांग्रेस सांसद खतिवडाले उपसभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ? भनी प्रश्न उठाएका हुन् । खतिवडाले बोल्दै गर्दा सभामुख सदन बाहिर थिए ।
उपसभामुख सदनमै उपस्थित थिइन् । तर, सदनको अध्यक्षता नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले गरिरहेका थिए ।
आफ्नो उपस्थिति लगायतका प्रश्न उठाएपछि श्रेष्ठले सांसद खतिवडालाई जवाफ दिए, ‘ध्यानाकर्षणको लागि माननीय ज्युलाई धन्यवाद ।’
एमाले सांसद श्रेष्ठ सभामुख तथा उपसभामुखको अनुपस्थितिमा सदनको अध्यक्षता गर्न मनोनित सांसद हुन् ।
प्रतिनिधि सभाको बैठकमा सभामुख तथा उपसभामुखको अनुपस्थित रहँदा बैठकको अध्यक्षता गर्नेगरी मनोनित भएका सदस्यहरुमा श्रेष्ठसँगै ईश्वरी देवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रतिक्षा तिवारी, बुद्धिमान तामाङ, रामकृष्ण यादव र सुशीला सिर्पाली ठकुरी छन् ।
प्रतिक्रिया 4