+
+

जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते ८:०१

१६ चैत, जनकपुरधाम । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ ।

नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् ।

त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा उल्लेख छ ।

आजको दिन देशभरी रामको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमहरुमा स्नान ध्यान गरी व्रत बसी रामगीता पाठ, अध्यात्म वाल्मीकि र तुलसीकृत-रामायण वाचन गर्नुका साथै भगवान रामको पूजाआराधना गरी रातभरी भजनकीर्तन र जाग्राम बस्ने परम्परा रहिआएको छ ।

अयोध्याका राजा दशरथको ज्येष्ठ पुत्र भई भगवान विष्णुको सातौँ अवतारको रुपमा जन्मेको बताइन्छ । राम मिथिलाका राजा जनकका पुत्री सीतासित विवाह गरी संसारबाट पापी तथा दुष्ट राक्षसहरुको नाश गरेका थिए ।

आफ्नो पिताको कठोर आज्ञाको सहजतापूर्वक पालन गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएकाले रामको सम्झनमा रामनवमी पर्व मनाइँदै आएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

यो पर्व चैती नवरात्रीको बीचमै परेकाले आजको दिन भगवान रामको साथै आदि शक्ति नव दुर्गा देवीको समेत पूजा गरिन्छ । रामनवमीको अवसरमा मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?