+
+

४ नेतालाई स्वर्णिमको सन्देश : देउवा-आरजु गिरोहको निरन्तर हेपाइले कांग्रेसमा रहन सकिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १६ गते १८:३१

१६ चैत, काठमाडौं । अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाएका छन् ।

वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तनहुँ–१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव गरेको छ ।

उपचुनाव लड्ने मूड बनाएका वाग्लेले महामन्त्रीद्वयसँगै नेताहरु शेखर कोइराला र डा. गोविन्दराज पोखरेललाई ह्वाट्सएपमा सन्देश पठाएर कांग्रेस छाडेको जानकारी गराएका छन् । ‘हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ’ उनले आफ्नो सन्देशमा भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’

आफूले कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको समेत वाग्लेले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

एक नेताका अनुसार वाग्लेले निर्णय लिनुअघि किन नभेटेको भनेर स्पष्टीकरण पनि दिएका छन् । ‘निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नु हुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकाले श्रद्धापूर्वक पछि नै हामी बस्ने छौं ।’

उनले चार नेतालाई कांग्रेस पार्टीमा तपाईंहरुको निर्णायक हैसियत बनेको दिन कुनै न कुनै रुपमा जोडिनसक्ने आशा समेत व्यक्त गरेका छन् । उनको आफ्नो सन्देशको अन्त्यमा भनेका छन्, ‘त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।’

चार नेतालाई ह्वाट्सएप सन्देश पठाएपछि वाग्ले फोन अफ गरेर बसेका छन् । बिहानदेखि सम्पर्क गर्न खोज्दा पनि सम्भव नभएको कांग्रेस केन्द्रीय सदस्य पोखरेलले बताए ।

महामन्त्री विश्वप्रकाश शर्माले एउटा सुयोग्य साथीले साथ छोड्दा, लामो यात्रा बीचमै मोड्दा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

रास्वपाले ४ मंसिरको चुनावमै स्वर्णिमलाई काठमाडौंको कुनै निर्वाचन क्षेत्रबाट चुनाव लड्न प्रस्ताव गरेको थियो । तर त्यतिबेला कांग्रेसको घोषणापत्र मस्यौदा समितिमा रहेका स्वर्णिमले अस्वीकार गरेका थिए । तर कांग्रेसले पनि उनलाई टिकट दिएन ।

प्रिय शेखर दाइ, गगनजी, विश्वप्रकाशजी र गोविन्दजी,

हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहें। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछिनै हामी बस्नेछौं। कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ। त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु।

स्वर्णिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?