+
+

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, तर सरकार अझै अपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १७ गते १३:२४

१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत दललाई समेटेर शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर सरकारले अझै पूर्णता पाउन सकेन ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् ।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको भने मन्त्रालय फेरिएको छ । ११ पुसमा भौतिक पूर्वाधारमन्त्री भएका उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

सञ्चार तथा सूचनाप्रविधिमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयनमा सुदन किराती र संघीय मामिला तथा समान्य प्रशासनमा अमनलाल मोदीले निरन्तरता पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरदसिंह भण्डारी श्रम तथा रोजगार र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री भएका छन् ।

नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका छन् ।

सरकार अझै अपूर्ण

सातौं पटक पुनर्गठन गर्दा पनि प्रचण्ड सरकारले पूर्णता भने पाउन सकेन । अझै ५ मन्त्रालय प्रधानमन्त्रीसँग छ । किनकि ८ मन्त्रालय पाएको नेपाली कांग्रेसले ४ जनाको नाम दिएको छैन भने जसपाले पनि एक मन्त्रीको नाम दिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?