 
																			२० चैत, चितवन । चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि २४ जनाको उम्मेदवारी परेको छ ।
४ मंसिरमा भएको निर्वाचनमा सबभन्दा धेरै मतान्तरसहित विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद नागरिकता विवादका कारण खारेज भएपछि १० वैशाखमा उपचुनाव हुँदैछ । उपचुनावका लागि सोमबार १२ स्वतन्त्र सहित २४ जनाको उम्मेदवारी परेको छ ।
इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १० वटा वडा क्षेत्र नं. २ मा पर्दछन् ।
गत निर्वाचनमा यो क्षेत्रबाट रास्वपाका रवि लामिछानेले ४९ हजार ३०० मत ल्याएर जितेका थिए भने, पाँचदलीय गठबन्धनका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए । यसपटकको प्रतिस्पर्धालाई रोचक बनाउन र परिणाम आफ्नो पक्षमा पार्न ठूला दलहरूले सक्रियता बढाएका छन् ।
के भन्छन् उम्मेदवार ?
रास्वपा सभापति लामिछानेले सोमबार बिहान १० बजे नै भरतपुर–१० स्थित विद्युत् रोडमा रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए ।
भरतपुर–११ स्थित सम्पर्क कार्यालयमा केहीबेर उपस्थित शुभेच्छुक समर्थकलाई सम्बोधन गरेका लामिछानेले दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । उनको पार्टीले दिउँसो १ बजेका लागि उम्मेदवारी दर्ताको समय लिएको भए पनि लामिछाने तनहुँ क्षेत्र नं. १ का रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेको मनोनयन दर्तामा जान हतार गरेरै १० बजे आएका हुन् ।

लामिछाने उम्मेदवारी दर्ता गर्न पुग्नु केहीबेर अघि पूर्व सांसद एवम् कांग्रेसका बागी उम्मेदवार उठेर कारबाही झेलेका नेता जगन्नाथ पौडेल झुल्किए । पौडेलले उम्मेदवारी दर्ता गर्न नभई लामिछानेलाई सहयोग गर्न आएको बताए ।
दोस्रोपटक चितवन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गर्न आएका लामिछानेले अनौठो लागेको बताए । चार महिनाकै अवधिमा फेरि उपचुनाव गर्नुको जिम्मा लिनुपर्दैन भनेर सोधिएको प्रश्नमा लामिछानेले आफ्नो भागमा परेको दोष बोक्न तयार भएको बताए ।
सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा कांग्रेस, चितवनका पूर्वसभापति जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराए । श्रेष्ठ पार्टी महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूसहित उम्मेदवारी दर्ता गराउन पुगेका थिए । उम्मेदवारी दर्ता अगाडि गठबन्धनका दलहरूले भरतपुरको चौबिसकोठीमा सभाको आयोजना गरेका थिए ।
सभालाई सम्बोधन गरेका पार्टी महामन्त्री शर्माले ‘नो नट अगेन’ भनेर भोट माग्ने तर जितेर गएको भोलिपल्टदेखि शेरबहादुर देउवा, प्रचण्ड, केपी ओली र माधव नेपालहरूकहाँ पुगेर आफूलाई मन्त्रिपरिषदमा कसरी पुर्याउने भनेर लागेको भन्दै रास्वपा सभापति लामिछानेप्रति कटाक्ष गरे । उनले टीभीमा हुँदा नेतालाई गाली गर्ने, आज आफू नेता हुँदा मिडियाले लेखे भनेर मिडियालाई गाली गर्न सुहाउँछ भनेर प्रश्न गरे ।

विगतमा विभिन्न कारणले कांग्रेस चितवनको मन दुखाएको भए पनि यसपटक त्यसलाई मिलाएर अगाडि जाने अवस्था आएको महामन्त्री शर्माले बताए ।
सभाको मञ्चमा भरतपुर महानगर प्रमुख रेणु दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारी, माओवादी केन्द्र चितवन क्षेत्र नं. ३ का प्रदेश सांसद ठाकुर ढकाल उपस्थित थिए । कांग्रेस उम्मेदवार श्रेष्ठले लामिछानेकै कारणले निर्वाचन हुन लागेको भन्दै उनले गरेको गल्तीलाई अवसरको रूपमा लिने बताए ।
नेकपा एमालेको उम्मेदवारी दर्ता तयारी भने अन्य दलको भन्दा फरक थियो । बौद्ध भिक्षु र पण्डितहरूद्वारा मन्त्रोचारणसहित शुभकामना लिएका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेलाई पार्टी पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले दही खुवाए । वृद्ध मजदुर नेता मदन ठकुरीको हातबाट माला लगाए । नाचगान गरेर रमाए ।

पार्टी कार्यालयमै आयोजित सभामा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले गत मंसिरमा आएको भेल–बाढी भन्दै अब त्यो अवस्था नआउने बताए । विगतमा घण्टीमा मत दिएका धेरै पछुताउन थालेको भन्दै नेता पाण्डेले थप पछुताउने अवस्था आउन नदिन सचेत हुनुपर्ने बताए ।
पेचिलो बन्दै प्रतिस्पर्धा
अघिल्लो पटकको भन्दा यसपटक चितवन–२ को निर्वाचन पेचिलो बन्ने देखिएको छ । गत निर्वाचनमा लामिछानेले ठूलो मतान्तरले जितेको यो निर्वाचन क्षेत्रमा कांग्रेस र एमाले मतान्तरलाई घटाएर जित निकाल्ने दाउमा देखिन्छन् ।
अघिल्लो पटक एकैपटक धेरै जिल्लामा निर्वाचन भएकाले नेताहरूको ध्यान विकेन्द्रित थियो, तर यसपटक दलका ठूला नेताहरू निर्वाचनको माहोललाई आफ्नो पक्षमा पार्न खटिएका छन् ।
एमालेले चलाएको मिसन ग्रासरुट अभियान अन्तर्गत एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट र पोलिटब्यूरो सदस्य गोकुल बास्कोटा चितवनमै हुनेछन् ।
कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई चुनावी कमाण्डर बनाएर पठाएको छ । बागमती प्रदेश सभापति इन्द्र बानियाँ, सहमहामन्त्री डिना उपाध्याय, नेता उमेश श्रेष्ठ चितवनमै परिचालित हुनेछन् ।
कांग्रेसले २०७० मा तत्कालीन सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएका पूर्व जिल्ला सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ । पार्टीको आन्तरिक किचलोलाई मिलाएर आफ्नो मतलाई सुरक्षित गर्ने र सत्ता गठबन्धनको बलले चुनाव जित्ने कांग्रेसको दाउ छ ।
कांग्रेस र एमालेका नेताहरू अघिल्लो चुनावमा लामिछानेले पाएको धेरै भोट आफूहरूका समर्थकबाट गएको बताउँछन् । यो पटक आफ्नो मत जोगाउने दुवै दलको दाबी छ । त्यही कारण दुवै दलले भूगोलमा भिजेका र नयाँ अनुहारलाई उम्मेदवार बनाएका हुन् ।
सांसद भएपछि लामिछाने र उनको दल रास्वपाले गरेको सत्ता केन्द्रित गतिविधिलाई जनताको बीचमा लैजाने बताउँछन्, एमालेका निवर्तमान सांसद कृष्णभक्त पोखरेल । ‘जान्नेलाई छान्ने भन्नुभयो तर उहाँ कति जान्ने रहेछन् भन्दा नागरिकता लिनुपर्छ भन्ने पनि थाहा नपाउने जान्ने रहेछन्’ जता सत्ता उतै रास्वपा भन्ने पनि जनताले थाहा पाइसकेको भन्दै पोखरेल भन्छन्, ‘हिजो नो नट अगेन भन्नुभयो, आज उहाँलाई किन नभन्ने ?’
रास्वपाका नेताहरू भने मतान्तर अझ बढ्ने दाबी गर्छन् । उम्मेदवार लामिछाने आफैंले पनि पहिलाको भन्दा राम्रो मत आउने अपेक्षा गरेको बताए । लामिछानेले गत निर्वाचनमा ४९ हजार २६४ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्रेष्ठले १४ हजार ९८३ मत पाएका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4