+
+

वुमेन्स ओलम्पिक छनोट : नेपालले पहिलो पटक भियतनामसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २२ गते ६:५६

२२ चैत, काठमाडौं । अर्को वर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि महिला फुटबलको एसियाली छनोटमा नेपालले आज भियतनामसँग खेल्दैछ ।

पहिलो पटक महिला विश्वकप फुटबल खेल्ने तयारीमा रहेको भियतनामविरुद्ध घरेलु मैदानमा उत्रँदा नेपाली महिला फुटबलको लागि यो इतिहासकै चुनौतीपूर्ण खेल हुनेछ । नेपाल र भियतनामबीच खेल साँझ ट बजे दशरथ रंगशालमा सुरु हुनेछ ।

फिफा वरीयतामा नेपालभन्दा ६७ स्थानमा माथि रहेको भियतनामविरुद्ध घरेलु मैदानको साथ  र घरेलु दर्शकको अगाडि सुखद नतिजा ल्याउने लक्ष्यमा नेपाल छ ।

वरीयतामा भियतनाम ३३औं स्थानमा छ भने नेपाल १००औं स्थानमा छ ।

खेलअघि नेपालका प्रशिक्षक अनन्तराज थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले वरीयतामा माथि भए पनि राम्रो नतिजाकै लागि भियतनामसँग खेल्ने बताइसकेका छन् । उता भियतनाका प्रशिक्षक माई डुच चुङले पनि घरेलु टोली नेपालले महिला फुटबलमा प्रगगि गरिरहेको भन्दै कमजोर नआँक्ने बताएका छन् ।

भियतनामविरुद्धको खेलबाट नेपालको परिक्षण हुने थापाको बुझाइ छ ।

यस्तै कप्तान एन्जिलाले भियतनाम वरीयतामा माथि भए पनि मैदानमा जित्नकै लागि खेल्न उत्रने बताएकी छन् ।

यसपटक नेपाली टिममा चोटका कारण दुई नियमित सदस्य डिफेण्डर गीता राना र मिडफिल्डर प्रिती राई छैनन् ।

डिफेण्डर पुजा राना मगरले पुनरागमन गर्दा सिर्जना चेम्जोङले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएकी छिन् ।

फेब्रुअरीमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेलमा बराबरी खेलेपछि नेपाली टोली उत्साहित छ र टोलीमा आत्मविश्वास पनि बढेको प्रशिक्षक थापाले बताएका छन् ।

एसियाली छनोटको पहिलो चरणमा समूह सी मा नेपाल र भियतनामसहित चार टोली थिए । तर प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच दुई लेगको खेल हुन लागेको हो । दोस्रो खेल शनिबार हुनेछ ।

दुई खेलपछि स्पष्ट नतिजामा विजयी हुने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ ।

यसअघि २०२० को टोकियो ओलम्पिकमा नेपाल पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुगेको थियो ।

पहिलो चरणमा नेपालले भारत, बंगलादेश र म्यानमारसँग बराबरी खेलेको थियो ।

तर दोस्रो चरणमा भने नेपाल म्यानमार भारतसँग नै पराजित भयो भने इन्डोनेसियाविरुद्ध जित निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?