+
+

राष्ट्रिय फुटबल टिममा संकटमोचक बनेर उदाएका दीपक

‘पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर मैदान ढोगेर छिरें । कोचले विश्वासलाई खेर जान दिन्न भन्ने थियो । डर लागिरहेको थियो तर, खेल्न सकिनँ भने मेरो देशले हार्छ भन्ने लागिरह्यो’ डेब्यू अनुभव दीपकले बाँडे ।

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत २२ गते १३:३८

२२ चैत, काठमाडौं । दशरथ रंगशाला, १४ चैत । नेपालको राष्ट्रिय फुटबल टिम भुटान विरुद्ध खराब इतिहासको सँघारमा पुगेको थियो । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल भुटानसँग १ गोलले पछि परेको थियो ।

झण्डै तीन दशकको इतिहासमा १३ पल्ट भुटानलाई हराएको नेपालको प्रतिष्ठा जोगाउँदै २३ वर्षीय दीपकराज सिंह ठकुरीले अन्तिम मिनेटमा बराबरी गोल फर्काए । अन्तर्राष्ट्रिय फुटबलमा नेपालले भुटानसँग बराबरी खेलेको पनि यो पहिलोपल्ट हो ।

नेपाललाई अप्रत्यासित हारबाट जोगाउन दीपक संकटमोचकका रूपमा उदाए । भुटान विरुद्धको खेलमा दशरथ रंगशालामा ६ हजार बढी घरेलु समर्थकमाझ ९०औं मिनेटमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेपछि दीपक अहिले हाई–हाई बनेका छन् ।

‘एकछिनसम्म विश्वास नै भएन । एकछिन शून्य जस्तै भएँ’, अञ्जन विष्टलाई सब्स्टिच्युड गरी दोस्रो हाफमा मैदान छिरेका दीपकले आफ्नो पहिलो गोल सम्झिए, ‘देशका लागि खेल्ने सपना पूरा भएको थियो । आफ्नो गोलले देशलाई खुसी दिने लक्ष्य दोस्रो खेलमै पूरा भएको थियो । धेरै खुसी भएँ ।’

खेलको १९औं मिनेटमा तेन्जिङ नोर्बुले हेडर गोल गर्दै भुटानलाई अग्रता दिलाएका थिए । त्यसयता नेपाल दबावमा देखियो । सुरुमै अग्रता लिएको भुटानले रक्षात्मक रणनीति लिंदा नेपालले गोल फर्काउन सकेको थिएन । ९०औं मिनेटमा निशान खड्काको कर्नरबाट दिएको बल अनन्त तामाङको हेडर पासमा दीपकले गोल गरेका हुन् ।

भुटानसँगको खेलमा अघि बढाउँदै दीपक । उनले यही खेलमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

उनका लागि गोल गरेर नेपाली समर्थकलाई खुसी पारेजत्तिकै खुसीको क्षण थियो, खेल सकिएपछि कप्तान किरण चेम्जोङसँगको अंकमाल । ‘भाइ तिमीलाई धेरै–धेरै धन्यवाद । तिम्रो गोलले आज हामी हारबाट जोगियौं’ किरणको यो वाक्य दीपकको कानमा अझै गुन्जिरहन्छ ।

दीपकले त्यसको एक साताअघि लाओससँगको खेलमा राष्ट्रिय टिमबाट डेब्यू गरेका हुन् । ८०औं मिनेटमा नवयुग श्रेष्ठलाई प्रतिस्थापन गर्दै मैदान पुगेका उनले बाँकी समय आफ्नो शतप्रतिशत दिने प्रयास गरे ।

लाओससँगको डेब्यु खेलमा दीपक (१० नम्बर जर्सी )।

‘पहिलो पटक राष्ट्रिय टिमको जर्सी लगाएर मैदान ढोगेर छिरें । कोचले विश्वासलाई खेर जान दिन्न भन्ने थियो । डर लागिरहेको थियो तर, खेल्न सकिनँ भने मेरो देशले हार्छ भन्ने लागिरह्यो’ डेब्यू अनुभव दीपकले अनलाइनखबरसँग बाँडे । यो खेलमा नेपाल २–० ले विजयी रह्यो ।

१७ चैतमा लाओस विरुद्धको फाइनलमा दीपकले पहिलोपल्ट सुरुवाती ११ मा अवसर पाए । केही राम्रा प्रहार गरे पनि गोल गर्न भने सकेनन् । तर, त्यसअघि नै उनले एक उच्चस्तरको स्ट्राइकरका रूपमा आफूलाई स्थापित गरिसकेका थिए । भुटानसँगको त्यो गोलले दीपकको आत्मविश्वास उँचो भएको छ ।

दीपकलाई नाम चलेका सिनियर खेलाडीहरूसँग एकपटक भेटेर फोटो मात्रै खिच्न पाए पनि कस्तो हुन्थ्यो भन्ने हुन्थ्यो । बोल्न अप्ठेरो लागे पनि मनमनै गद्गद् भइरहेको थियो । ‘अहिले उहाँहरूसँगै ड्रेसिङ रुम सेयर गर्न पाएँ । अनुभव सुन्न पाएँ । सिनियर खेलाडीहरूले सपोर्ट गरिराख्नुभएको छ’, उनले सिनियर टिमको अनुभव यसरी साटे ।

नेपालका नवनियुक्त प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले शहीद स्मारक ए डिभिजन लिगमा १५ दिनको खेल हेरेर त्रिदेशीय प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाएका हुन् । अधिकांश खेलाडी विदेश पलायन हुँदा यसपल्ट दीपकसहित ६ जना पहिलोपल्ट राष्ट्रिय टिममा छानिएका थिए । अरू धेरै खेलाडीसँग पनि लामो अनुभव थिएन ।

‘कम तयारीका कारण पनि हामीले एकअर्कालाई बुझ्न समय लागेको थियो । जति–जति खेल्दै गयौं त्यति–त्यति बुझ्दै गयौं त्यही भएर पनि हामीले एकपछि अर्को खेल सुधार गर्दै लगेका थियौं’, अनलाइनखबरसँगको कुराकानीमा उनले थपे ।

दीपक लिगमा उत्कृष्ट खेलिरहेका थिए । सातदोबाटो युथ क्लबका लागि खेलिरहेका दीपकले ६ खेलमा ५ गोल गरिसकेका छन् । उनी लिगमा अहिलेसम्मका उच्च गोलकर्ता हुन् । दीपकले ए डिभिजन लिग खेल्न थालेको अघिल्लो सिजनदेखि मात्र हो । लिगमा छिमेकी खुमलटार युथ क्लबसँगको खेलपछि प्रशिक्षक एनेसले भेटेर राष्ट्रिय टिमका लागि तयार रहन भनेका थिए । उनले पनि आफूलाई मानसिक रूपमा तयार बनाए ।

भुटानसँगको खेलमा दीपक ।

‘पहिलो पटक कोचले मलाई रंगशालामा भेटेर नाम र उमेर सोध्नुभयो, अनि राम्रो खेल्यौ भनेर फर्किनुभयो’ दीपक भन्छन्, ‘पाँचौं चरणमा खुमलटार विरुद्धको खेलपछि फेरि भेटेर तिमी राष्ट्रिय टिममा खेल्न तयार हुनु भन्नुभयो ।’

राष्ट्रिय टिममा डेब्यू गरेपछि दीपकले बाबाको सपना पूरा गरेका छन् । नियमित टिममा रहन थुप्रै चुनौतीबारे जानकार छन् र त्यसका लागि तयारी गरिरहेका छन् ।

साफ च्याम्पियनसिप आउँदैछ । त्यसपछि विश्वकप छनोटका खेलहरू पनि हुनेछन् ।

दीपकले आफ्नो प्राविधिक पक्षमा केन्द्रित रहेर तयारी गरिरहेको बताएका छन् । ए डिभिजन लिगमा लामो अनुभव नभएको र उमेर समूहको कुनै टिमबाट नखेलेका दीपकले फुटबलका धेरै प्राविधिक पक्ष सिक्न बाँकी छ । उनी आफ्नो कमजोरी स्वीकार्छन् र सुधारका लागि उत्तिकै दत्तचित्त छन् ।

‘आगामी दिनमा राष्ट्रिय टिममा पर्नका लागि अझै ठूलो प्रतिस्पर्धा हुन्छ । मैले उमेर समूहको टिमबाट नखेलेको भएर पनि अझै मिहिनेत गर्नुपर्छ’, उनले भने ।

सुदूरपश्चिमको शान

अघिल्लो सिजनदेखि काठमाडौं आएर ए डिभिजन खेल्न थालेका दीपक जन्मजात प्रतिभा हुन् । उनले व्यावसायिक फुटबल प्रशिक्षण लिनुअघि नै सुदूरपश्चिम खप्तड गोल्डकपमा घरेलु टिमका लागि स्टार प्रदर्शन गरिसकेका थिए ।

आफूखुसी साथीहरू मिलेर स्थानीय प्रतियोगिता खेलिरहेका दीपकले २०७६ सालमा आयोजक टोली सुदूरपश्चिम ११ बाट खप्तड गोल्डकप खेल्ने अवसर पाए । त्यसपछि उनको प्रतिभाले बृहत्तर रूप लिन थालेको हो ।

त्यो संस्करणको फाइनलमा ए डिभिजन लिगको महारथी क्लब थ्री स्टार विरुद्ध निर्णायक गोल गरी आयोजक टिमलाई उपाधि दिलाएपछि दीपक पश्चिममा स्टार खेलाडी नै बने । संयोगवश थ्रीस्टारमा मेघराज केसीले प्रशिक्षकका रूपमा टचलाइनबाट दीपकको खेल देखे ।

२०७७ मा कोरोना महामारीको असरले ए डिभिजन लिग भएन । २०७८ मा सातदोबाटो ए डिभिजनमा पहिलोपल्ट बढुवा भएको थियो । प्रशिक्षणको जिम्मेवारी उनै मेघराजले पाए । टिम बनाउने क्रममा मेघराजले दुई वर्षअघि आफ्नो टिमविरुद्ध निर्णायक गोल गर्ने दीपकलाई सम्झिए ।

शहीद स्मारक लिगमा जाउलाखेलविरूद्धको खेलमा दीपक बल नियन्त्रणमा लिँदै । योसहित ६ खेल खेलेका उनले लिगमा ५ गोल गरिसकेका छन् ।

‘मैले उसको शैली र छरितोपन देखेर पहिलो पटक ए डिभिजनका लागि सातदोबाटोको टिम निर्माण गर्दा काठमाडौं ल्याएको हो । अहिले उसलाई राष्ट्रिय टिममा देख्दा गर्व लाग्छ’, प्रशिक्षक केसीले अनलाइनखबरसँग भने ।

दीपक पनि आफ्नो करिअरको पहिलो गुरु मेघराजलाई नै मान्छन् । उनले काठमाडौं आएपछि नै केसीसँग व्यावसायिक फुटबलको प्रशिक्षण लिएका हुन् । ‘उहाँले मलाई सातदोबाटोमा ल्याएपछि नै मेरो खेल राम्रो हुन थालेको हो’, दीपकले भने ।

२१ वर्षको उमेरमा पहिलो पटक फुटबलको प्रशिक्षण पाएका दीपकले त्यसको दुई वर्ष पुग्दा नपुग्दै आफ्नो कौशलले राष्ट्रिय टिमको ढोका खुलाए ।

संघर्षमय सुरुवाती दिन

खजुरा गाउँपालिका २, गौरनगर, बाँकेका दीपक फुटबल खेल्छु भन्दा उनीसँग न त जुत्ता थियो न जुत्ता किन्ने पैसा नै । बुवा भक्तबहादुर सिंह ठकुरी पूर्व सैनिक थिए । आमा दीपाले पनि शिक्षण पेशा छोडिसकेकी थिइन् । घरमा आम्दानीको राम्रो स्रोत थिएन ।

तर पनि दीपकका दाजु विजयसिंह ठकुरी साथीभाइसँग फुटबल खेल्थे । उनकै पछि–पछि लागेर दीपक फुटबलमा होमिएका हुन् ।

‘फुटबल खेल्न घरबाट हिंडेर २०/२५ मिनेट पर अर्को गाउँमा जानुपर्थ्यो । जुत्ता हुँदैनथ्यो, जुत्ता किन्न पैसा पनि हुँदैनथ्यो । सुशील मल्ल, ज्ञानेन्द्र हमाल दाइहरूले मलाई बुट किनिदिनुहुन्थ्यो’, दीपकको खेल हेरेपछि उनलाई हौस्याउन सहयोगी हातहरू विस्तारै अगाडि आए ।

दीपक ।

दीपक घरबाट टाढा नबसेका खेलाडी हुन् । उनलाई घरबाट बाहिर बस्दा निकै गाह्रो हुन्छ, भइरहेको छ । ‘यसअघि मलाई घरबाट बाहिर निस्कन घुम्न मन पर्दैनथ्यो । आफ्नै ठाउँमा खुसी लाग्थ्यो । यहाँ आएपछि ५/६ महिना बस्नुपर्ने त्यही भएर आउनै मन लाग्दैनथ्यो ।’

क्लबमा आफ्नै दाइसँगै बसे पनि उनी अझै आफ्नो ठाउँ निकै सम्झिन्छन् । ‘होम सिकनेस अझै पनि हुन्छ । केही पाउन केही गुमाउनै पर्छ । देशको लागि खेल्छु भनिसकेपछि घरै मात्रै बसेर पनि भएन ।’

तस्वीर तथा भिडियो : विकास श्रेष्ठ र चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?