
२२ चैत, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतसँग नेपालका लागि अमेरिकी राजदूत डेयन आर थमसनले भेट गरेका छन् । बुधबार मन्त्रालयमा भएको भेटमा दुई देशबीच सहयोगको दायरा अझ फराकिलो बनाउने विषयमा छलफल भएको थियो । कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
मिलेनियम च्यालेन्जर कर्पोरेशन (एमसीसी) र अमेरिकी सहयोग नियोग (यूएसएड) मार्फत अमेरिकाले नेपालमा अनुदान थप्न इच्छुक रहेको समेत सचिवालयले उल्लेख गरेको छ । नयाँ परियोजनामा लगानी गर्न अमेरिका तयार रहेको भेटपछि मन्त्री डा. महतले जानकारी गराएका छन् ।
‘आर्थिक समृद्धिका लागि नेपालले कुन क्षेत्रमा लगानी खोजेको हो, त्यसमा अनुरोध आओस् भन्ने अमेरिकाले चाहेको छ’ डा. महतले भने । नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग महत्वपूर्ण रहेको मन्त्री महतले बताए । उनले अमेरिकी सरकारको अनुदान सहयोगका लागि राजदूत थमसनलाई धन्यवाद दिएका थिए ।
प्रतिक्रिया 4