+
+

कक्षा ९ को वातावरण विज्ञान किताबका धेरै पाठमा वौद्धिक चोरी

नुनुता राई नुनुता राई
२०७९ चैत २३ गते १३:४१

२२ चैत, काठमाडौं । रविभवनस्थित निसर्ग बाटिकाले कक्षा ९ मा पढाउने वातावरण विज्ञान विषयका विभिन्न पाठ विभिन्न वेबसाइट र पुस्तकबाट जस्ताको तस्तै साभार गरेको पाइएको छ ।

पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेको पाठ्यक्रम अनुसार तयार पारेको भनिएको ऐच्छिक पुस्तकका लेखक राकेश श्रेष्ठ र अनिल सुवाल छन् । प्रकाशन एकता बुक्स, काठमाडौंले प्रकाश गरेको पुस्तकमा विकिपिडिया, बि्रटानिका, गुगल बुक्सबाट कतिपय अनुच्छेद जस्ताको तस्तै साभार गरिएको छ ।

पुस्तकको पृष्ठ ५४ मा सोइल फर्मेसन शीर्षकभित्रका उपशीर्षकहरु प्यारेन्ट मेटेरियल, टोपोग्राफी, क्लाइमेट, अर्गानिज्म, टाइम सबै इन्टरनेटबाट साभार गरिएको छ । पृष्ठ ६८ मा टानिन्स एण्ड डाइज शीर्षकका सामग्री गुगल बुकबाट हुबहु सारिएको छ । त्यस्तै पृष्ठ ९१ मा रहेको एसिड रेन शीर्षकमा पनि एक प्याराग्राफ आवर थि्रटेन्ड प्लानेट पुस्तकको हुबहु राखिएको छ ।

किताबको १६३ पृष्ठमा रहेको कन्सेप्ट अफ क्यारिइङ क्यापासिटी शीर्षकमा विकिपिडियाबाट सारिएको छ । अभिभावक अमर विक विद्यालयको पुस्तकमा यो हदको लापरबाही क्षम्य नहुने बताउँछन् । ‘यो पुस्तक हेरेपछि नेपालमा कति सजिलै वौद्धिक अपराध हुँदोरहेछ र को को संलग्न हुने रहेछन् भनेर अचम्मित भएको छु ।’

यस्तो पुस्तक एकता बुक्सले कसरी छाप्यो, सरकारी निकायले कसरी स्वीकृत गर्‍यो, विद्यालयले हेर्दै नहेरी कसरी पढायो भन्ने प्रश्नको उत्तर खोजिनुपर्ने उनले बताए ।

विद्यालयको कार्यबाहक पि्रन्सिपलसँग कुरा गर्दा ‘ए हुन्छ हामी चेन्ज गरौंला नि’ भनेर हलुका प्रतिक्रिया दिएको अभिभावक विकले बताए । ‘मलाई लाग्छ यो किताबको कुनै पनि कुरा लेखकले आफैं जानेर, बुझेर लेखेका होइनन् । मैले एकछिन हेर्दा धेरै चोरी गरेको भेट्टाएँ, सायद सबै यसैगरी कतै न कतैबाट चोरिएका हुन सक्छन्’ उनले भने ।

पाठ्यक्रम विकास केन्द्र बेखबर

नेपालमा विद्यालयहरुले सरकारले निर्धारण गरेको पाठ्यक्रम भन्दा थप पाठ्य सामग्री तथा पाठ्यपुस्तक प्रयोग गर्न पाउँछन् । त्यसका लागि प्रकाशक र लेखकले स्वीकृति लिनुपर्छ । लेखक तथा प्रकाशकहरुले थप पाठ्यसामग्री तथा डिजिटल सामग्री स्वीकृतको लागि पाठ्यक्रम विकास केन्द्रमा पेश गर्नुपर्छ । त्यसपछि केन्द्रले विस्तृत अध्ययन गरेर मात्र स्वीकृत गर्न सकिने व्यवस्था पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिकामा छ ।

एकता बुक्सबाट प्रकाशित पुस्तकमा पनि पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत भनेर स्पष्ट लेखिएको छ । तर यो पुस्तकको विभिन्न पाठमा भएको वौद्धिक चोरीबारे केन्द्र बेखबर छ । केन्द्रका सूचना अधिकारी डा.बाबुराम ढुंगाना भन्छन् ‘हामीले अगाडि नै सबै जाँच गरेर मात्रै प्रकाशनको लागि स्वीकृत दिन्छौं । सामग्री, चित्र हुबहु पाइए प्रकाशनमा रोक लगाउँछौं । तर अहिले तपाईंले भन्नुभएको विषयको सवालमा जानकारी छैन । नहेरी भन्न सकिँदैन ।’

कतिपय पाठ्यसामग्री हुबहु सारेको पाइएकाले प्रकाशन हुनुअघि प्रतिबन्ध लगाइएको र लेखक तथा प्रकाशकलाई नै कारबाही पनि गरेको ढुंगाना दाबी गर्छन् ।

के भन्छ प्रकाशक र विद्यालय ?

यो पुस्तकमा सन् २०२१ मा संशोधित तथा अद्यावधिक गरिएको चौथो संस्करण हो । एकता बुक्सले यो पुस्तक करिब एक हजार प्रति प्रकाशन भएको र अरु विद्यालयहरुमा पनि पढाइ भइरहेको बताएको छ ।

प्रकाशन गृहका व्यवस्थापक रामचन्द्र तिमोठीका यस वर्षदेखि प्रकाशन गृहका सम्पादक तथा लेखक बसेर पाठ्यपुस्तकमा भएको सामग्री कतैबाट सारिएको अथवा चोरिएको छ छैन जाँच गरेर प्रकाशन गर्न थालिएको छ । पाठ्यक्रम विकास केन्द्रले सचेत गराएपछि बौद्धिक चोरी भए नभएको जाँच गराएर मात्र पुस्तक प्रकाशन गर्न थालेको उनको भनाइ छ ।

अघिल्लो वर्ष प्रकाशन भएको उक्त विवादित पुस्तक भने प्रकाशन गृहको सम्पादकले व्याकरण र भाषा मात्रै हेरेकाले समस्या देखिएको हुन सक्ने उनको जिकिर छ ।

‘यो वर्षदेखि हामीले बौद्धिक चोरी भए नभएको पनि जाँच गरिरहेका छौं । यसभन्दा अघि हाम्रो सम्पादकले व्याकरण र शुद्धाशुद्धी मात्रै हेर्ने गर्नुहुन्थ्यो । लेखकहरुलाई विद्वान ठान्थ्यौं र लेखकसँगै डिपेन्ड भएकोले यस्तो समस्या आएको हो’ उनले भने । कताले पुस्तक प्रकाशन गर्दा स्रोतको रुपमा बि्रटानिका र वर्ल्ड इन्साइक्लोपिडिया प्रयोग गर्दै आएपनि स्रोत उल्लेख गर्ने गरेको जिकिर व्यवस्थापक तिमोठीको छ । ‘रिसर्च बेस पुस्तक भएकाले स्रोत उल्लेख गर्नैपर्ने हुन्छ । अर्को कुरा, हुबहु नभएर आफ्नो भाषाशैलीमा लेख्नुपर्ने हुन्छ । अब तपाईंले भन्नुभएको कुरा हो होइन चेक गर्छु’ उनले भने ।

निसर्ग बाल वाटिकाकी कार्यबाहक प्रिन्सिपल मोनिका प्रधानले भने उक्त पुस्तक विद्यालयको पाठ्यक्रमबाट हटाइसकेको बताइन् । ‘हामीले इन्भारोमेन्ट साइन्सलाई स्लेबसबाट हटाइसकेका छौं’ उनले भनिन् ।

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?