२३ चैत, काठमाडौं । काठमाडौंका ठूला अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेका छन् ।
मीनभवनस्थित निजामती अस्पतालमा पछिल्लो १० दिनमा २५ जनाभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलका अनुसार स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
‘चिकित्सक लगायत अन्य स्वास्थ्यकर्मी संक्रमित हुँदा इन्डोस्कपी, ईसीजी लगायतका सेवा तीन–चार दिन नै बन्द गर्नुपर्यो’, डा. पौडेलले अनलाइनखबरसँग भने, ‘संक्रमित भएका स्वास्थ्यकर्मीलाई पाँच दिनको होम आइसोलेसन राखेर पुनः सेवामा फर्काएका छौं ।’
संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या बढेपछि संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको उनले बताए ।
यस्तै, वीर अस्पतालमा पनि सात जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोरोना फोकल डा. उमेश बोगटीका अनुसार पछिल्ला दिनमा स्वास्थ्यकर्मी संक्रमण हुने संख्या बढ्दै गएको छ ।
‘अहिले दैनिक दुई/तीन जनामा संक्रमण थपिदै गएपछि हामीले अनिवार्य रुपमा एन्टिजेन परीक्षण अनिवार्य गरेका छौं’, डा. बोगटीले भने ।
त्रिवि शिक्षण अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका कोभिड फोकल पर्सन डा. निरज बमका अनुसार संक्रमित भएका सबै सामान्य किसिमका छन् । ‘हामीले संक्रमण देखिएपछि पाँच दिन बिदा दिएका छौं । यसैगरी संक्रमण बढ्दै जाने हो भने सेवा प्रवाहमा कठिन पर्ने देखिन्छ’, डा. बमले भने ।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकमा देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आईसीयूमा र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4