+
+

एकै मञ्चमा सुनिए अकिञ्चन र सरुका चोटिला मुक्तक

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २५ गते १८:५१

२५ चैत, पोखरा । प्रत्येक शनिबार केही न केही साहित्यिक कार्यक्रम हुने पोखरामा यो शनिबार राजकुमार बगरका गीत वाचनदेखि चोटिला मुक्तकसम्म सुनिएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा चर्चित गीतकार राजकुमार बगरलाई गीतकार प्रतिष्ठान नेपालले पोखरामा गीत वाचनमा उतारेको हो । बगरले पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा आफ्ना रोज्जा करिब २ दर्जन गीत वाचन गरे ।

मुक्तक मञ्च पोखराले २ मुक्तककारलाई एउटै मञ्चमा राखेर चोटिला मुक्तक सुन्ने अवसर जुटायो ।

दामली मुक्तककार फडिन्द्र अकिञ्चन र सरला लामिछाने ‘सरु’ले हिमालयन रिडर्स कर्नर पोखराको हललाई मुक्तकिलो बनाए ।

मुक्तककार अकिञ्चन र सरुले कहिले आफ्नै बिगतलाई उधिने त कहिले राज्य व्यवस्थाका विकृतिमाथि चोटिलो प्रहार गरे ।

मुक्तककार फडिन्द्र अकिञ्चनले देशका धमाधम बन्द भएर खण्डहर रहेका, अवसर खोज्दै देश छोड्नेहरुको लस्कर र नेताका सत्ता खोसिने डरलाई मुक्तकमार्फत ब्यंग्य गरे ।

जुट मिल बर्बाद भो, गोरखकाली खण्डहर छ
एयरपोर्टमा ज्यालादारी खोज्दै उड्नेको लस्कर छ
नेताहरुलाई न उद्योग खोल्नु छ, न रोजगारी सिर्जना
युवा देशमै भए खाइपाइ आएको सत्ता खोसिने डर छ

मुक्तक वाचनमा धेरैजसो प्रेमिल मुक्तकका साथ प्रस्तुत भएकी सरला लामिछानेले असमानता र ‘नारी’ माथि लादिएका दृष्टिकोणमाथि पनि तिखो ब्यंग्य प्रहार गरिन् । समाज वा परिवारमा मायासँगै सहकार्य र विश्वास हुनुपर्ने यथार्थलाई सरुले मुक्तकमार्फत पस्किइन् ।

कति भनौं एक अर्काको साथ हुनुपर्छ
दुख पर्दा तिम्रो अघि हात हुनुपर्छ
भोलिबाट म पनि जागिर खान जान्छु
घर फर्किँदा दाल, तरकारी भात हुनुपर्छ

पछिल्लो समय साहित्यभन्दा बढी पत्रकारितामा लागिरहेका अकिञ्चन र पछिल्ला कार्यक्रमहरुबाट थोरै टाढिएकी सरुले मुक्तक रचना र यसका सन्दर्भहरुलाई पनि सम्झिए । प्रत्येक महिनाको अन्तिम शनिबार नियमित मुक्तक वाचनको शृंखला चलाउँदै आएको मुक्तक मञ्चले यसपटक अकिञ्चन र सरुलाई मञ्चमा उभ्याएर विशेष कार्यक्रम गरेको अध्यक्ष रामजीप्रसाद लम्सालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?