+
+

कान्तिपुर एकेडेमीले ८ घण्टा लामो सिरिज ‘ब्रह्माण्ड’ बनाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते १६:१६

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमी पछिल्लो समय अध्यापनसँगै फिल्म निर्माणमा पनि सक्रिय छ । यस वर्ष एकेडेमीले निर्माण गरेको फिचर फिल्म ‘म’ले प्रशंसा बटुलेको थियो । फिचरसँगै ओटीटी प्लेटफर्म लक्षित सिरिज निर्माण सुरु गर्दै एकेडेमीले फिल्मको नयाँ बजार खोजीतर्र्फ पाइला चलेको छ ।

एकेडेमीको नयाँ प्रोजेक्टको रुपमा सिरिज ‘बह्माण्ड’ छायांकन तयारीमा छ, जसमा पछिल्लो समय घरेलु फिल्ममा चलेका कलाकारहरुको अभिनय रहनेछ । सुनिल थापा, अर्पण थापा, राजन खतिवडा, माओत्से गुरुङ, सरिता गिरी, भोलाराज सापकोटा लगायतका कलाकार यसमा अनुबन्धित भइसकेका छन् ।

सिरिजको तयारीबारे अनलाइनखबरसँग कुरा गर्दै एकेडेमीका कार्यकारी अधिकृत प्रकाश पुरीले भने, ‘फिल्मका लागि नयाँ बजार, दर्शक र प्लेटफर्म खोजिनुपर्छ भन्ने बहस भइरहँदा हामीले यसतर्फ पाइला चालेका हौं ।’ कथावस्तुलाई दर्शकसामु लैजान ओटीटीमार्फत सिरिज ‘ब्रह्माण्ड’ छायांकन गर्न लागिएको उनले बताए ।

‘नेटफ्लिक्स, अमेजन प्राइम र हटस्टारजस्ता ओटीटी प्लेटफर्मले नयाँ कथावस्तुमा फिल्म बनाएर युवापुस्तालाई गुणस्तरीय फिल्म हेर्न बानी पारेका छन् । नेपालमा पनि यस्ता दर्शक प्रशस्तै छन् ।

यो सिरिजलाई नेपाली र भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने तयारी भइरहेको पुरीले जानकारी दिए । ‘एक भारतीय ओटीटीसँग रिलिजको लागि सम्झौता हुने तयारीमा छ । हामी चाँडै यसको औपचारिक घोषणा गर्नेछौं,’ उनले भने । ‘ब्रह्माण्ड’लाई रियाजले लेखन तथा निर्देशन गर्दैछन् भने निर्मातामा सागरराज आचार्य छन् । ‘लुट’ फेम्ड पुरुषोत्तम प्रधानले सिरिज छायांकन गर्दैछन् । सिरिजको कुल लम्बाइ आठ घण्टा हुने जनाइएको छ ।

केही समयअघि एकेडेमीले वीरगञ्जमा ‘मिस स्कार्लेट’ सिरिज निर्माणको घोषणा गरेको थियो । मनोवैज्ञानिक थ्रिलर ‘मिस स्कार्लेट’को अहिले सम्पादन भइरहेको छ । अन्य दुईवटा मेगा सिरिज पनि पाइपलाइनमा रहेको एकेडेमीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?