+
+

‘मेरो नेतृत्व आवश्यक पर्दा विपक्षी बन्न पनि तयार हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २६ गते २०:५१

नेपाल उद्योग वाणिज्य महासंघ नयाँ नेतृत्व चयनको सँघारमा छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था रहेकाले यसपटक पनि वरिष्ठ उपाध्यक्ष पदका लागि रोचक चुनावी भिडन्त हुँदैछ । उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएर चुनावी तयारी तीव्र बनाएका छन् ।

यी तीनमध्ये पोखराबाट उदाएको लक्ष्मी ग्रुपको नेतृत्व गरिरहेका अञ्जन श्रेष्ठसँग अनलाइनखबरले गरेको चुनावी एजेन्डाकेन्द्रित कुराकानीको सम्पादित अंश :

महासंघको नेतृत्वतर्फ अग्रसर हुँदै वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी दिनुभएको छ । कतिपयले अलि छिटो रहर गर्नुभयो भन्छन् नि ?

महासंघको नेतृत्व लिन के मापदण्ड छ ? यसको मापक यन्त्र के हो ? बरु प्रतिप्रश्न गरौं । हैन भने छिटो भनेको के हो ?

म उद्योग वाणिज्य संघमा संलग्न भएको २० वर्ष भयो । समितिको सदस्यका रूपमा प्रवेश गरेर म उद्योग, वाणिज्य समिति, रोजगारदाता परिषद, राजस्व समितिमा बसेर काम गरें । राजस्व समितिमा दुई पटक सहसभापति भएँ । योभन्दा अघिल्लो कार्यकालमा म उद्योग समितिको सभापति थिएँ । अहिले निर्वाचित वस्तुगत उपाध्यक्ष छु ।

महासंघको नेतृत्व लिन उमेर हैन, संस्थामा संलग्नता, सक्रियता र अनुभव महत्वपूर्ण हुन्छ । आफूलाई खारेर नेतृत्वमा जाने हो । उपाध्यक्ष हुनुभन्दा अघि १७ वर्ष समितिमा र ५ वर्ष कार्यसमितिमा बसेर काम गरेको मानिस हुँ म ।

संस्थागत संलग्नताको हिसाबले सबभन्दा पाको बनेर वरिष्ठ उपाध्यक्षमा दाबी गरेको छु । म ‘क्वालिफाइड’ र ‘बोनाफाइड’ उम्मेदवार हुँ । मेरो उम्मेदवारीलाई कसैले पनि हतारो भन्न मिल्दैन ।

पछिल्लो दशकमा महासंघ सर्वसम्मत नेतृत्व चयनको बाटोमा छैन । यो पटक त त्रिपक्षीय भिडन्त हुने भयो । सुरुमै विभाजित भएर जाँदा चुनाव जिते पनि एकताबद्ध रहन सकिन्छ त ?

निर्वाचन हुँदैमा विभाजित भयो भन्न मिल्दैन । निर्वाचन प्रजातान्त्रिक अभ्यास हो ।

चुनावमा बनेको गुट नभत्केको विगत पनि छ नि ?

त्यस्तो अभ्यासको कुरातिर नजानुस् । प्रजातान्त्रिक अभ्यासमा एउटा सदस्यले आफूले चाहेको नेता चुन्न पाउँछ । आफूले सही देखेको व्यक्ति छनोट गर्न पाउने अधिकारलाई रोक्ने कुरा त हुनुभएन नि !

हो, मिलेर जानु राम्रो हो । सबै मिल्न सम्भव भए त्यो गज्जबकै कुरा हो । एकले अर्काको अस्तित्व स्वीकार गर्न सके राम्रो नै हो । त्यसका लागि त सबै तयार हुनुपर्‍यो नि !

यसपटक वरिष्ठ उपाध्यक्षका दाबेदार तीन जनालाई नै बलियो मानिएको छ । सदस्यहरूले किन तपाईंलाई नै भोट हाल्नुपर्ने ?

मेरो व्यावसायिक तथा संस्थागत अनुभव त्यसको मूल आधार हो । मेरो अभिभावकले ३०० रुपैयाँबाट सुरु गरेको व्यावसायिक यात्रा पाँच दशकमा चल्दैछ । ३० वर्षपछि म आफैं व्यावसायिक नेतृत्व गर्ने ठाउँमा आइपुगेको छु ।

सानो व्यवसायबाट सुरु भएको यात्रा राष्ट्रियस्तरको संस्थाको रूपमा स्थापित छ । मैले युवा पिंढीका लागि उदाहरणीय व्यावसायिक छाप छाडेको छु ।

अर्को कुरा, मैले चेम्बर मूभमेन्ट र महासंघको उपाध्यक्षमा पनि नेतृत्व क्षमता देखाइसकें । वस्तुगत संघ, जिल्ला उद्योग वाणिज्य संघ, एशोसिएट र द्वि–राष्ट्रिय संघका उद्योगी व्यवसायी साथीहरूले ‘तपाईंमा नेतृत्व क्षमता छ, अघि बढ्नुस्, हाम्रो साथ छ’ भन्नुभएको छ । यही आडभरोसा र लगनशीलताबाट अघि बढेर महासंघलाई नेतृत्व दिने अठोट लिएको छु ।

डिजिटल युगमा ऊर्जावान युवाका साथ टिम बनाएर अघि बढेका छौं । भविष्यमा निजी क्षेत्रलाई अहम् भूमिकामा अघि बढाउँदै देशको आर्थिक रूपान्तरणमा योगदान गर्न सक्षम टिम बनाएकोले सदस्यज्यूहरूले मलाई भोट दिनुहुन्छ ।

महासंघमा ठूल्ठूला एजेन्डा ल्याउने अनि निर्वाचित भएपछि काम नगरी फोटो झुन्ड्याएर बिदा हुने चलन जस्तै बनिसक्यो । तपाईं कुन अर्थमा फरक हुनुहुन्छ ?

त्यसो भन्न मिल्दैन । अब अध्यक्ष निर्वाचित हुन्छ, वरिष्ठ उपाध्यक्षले अध्यक्षलाई सघाउँछ । मैले अहिले उठाएका एजेन्डा वरिष्ठ उपाध्यक्षका रूपमा काम गर्दा पूरा गर्न नसकिएला । अध्यक्ष हुँदा त मैले जसरी पनि गर्छु । यसअघिका वरिष्ठ उपाध्यक्षले पनि आफ्नो एजेन्डा आफू अध्यक्ष हुँदा पूरा गर्नुभएको छ ।

तपाईंले महासंघको नेतृत्व गर्ने आकांक्षा सहित लथालिंग अर्थतन्त्र भनेर राष्ट्रिय बहस नै छेड्नुभयो । अर्थतन्त्रका नकारात्मक पक्ष देखाएर चुनावी फाइदा लिन खोज्नुभयो कि ?

लथालिंग अर्थतन्त्र भनेर बहस चलाउँदा मैले विज्ञहरू लिएर गएको थिएँ । विज्ञहरूले अहिले अर्थतन्त्रको समस्या के हो र समाधान के हुन्छ भनेर बताउनुभएको थियो । उद्योग वाणिज्य संघका साथीहरूले नै त्यहाँ धेरै सुझाव प्रस्तुत गर्नुभएको छ ।

यी कुरालाई हामीले भविष्यमा उद्योग वाणिज्य महासंघ र निजी क्षेत्रले चाल्नुपर्ने कदमका रूपमा लिपिबद्ध गरेका छौं । यसले भविष्यलाई मार्गदर्शन गर्न सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।

 तपाईंले जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्रको नारा दिनुभएको छ । यसलाई अगाडि बढाउने मार्गचित्र के छ ?

अर्थतन्त्रमा ८० प्रतिशत भूमिका निजी क्षेत्रको छ । ८६ प्रतिशत रोजगारीको सिर्जना निजी क्षेत्रबाटै भएको छ । देशको आर्थिक समुन्नतिमा यत्रो भूमिका भएको निजी क्षेत्र अहिले धरासायी बन्ने अवस्थामा छ । यो निजी क्षेत्रलाई जीवन्त नराखी देशले सही दिशा र गति लिन सक्दैन ।

निजी क्षेत्र बाँच्नुपर्‍यो र अर्थतन्त्रलाई सुधार्नुपर्‍यो । हामी निजी क्षेत्रलाई जीवन्त राख्ने भूमिका खेल्न चाहन्छौं । त्यसका लागि गर्नुपर्ने काम धेरै छ । वर्तमान समस्या समाधानका लागि तरलता व्यवस्थापन, ब्याजदर घटाउने लगायत काम गर्नुपर्नेछ । स्वदेशी पूँजी मात्रै हैन, विदेशी पूँजी नै ल्याउनुपर्नेछ । आर्थिक वृद्धिका लागि लगानी बढाउनुपर्नेछ ।

पूर्वाधार विकास र लगानीको वातावरण बनाउन नीति–नियम परिमार्जन आवश्यक छ । २९ प्रतिशत जनशक्ति निष्क्रिय रहँदा अर्थतन्त्रको आकार बढ्न सकिरहेको छैन । देशभित्र उत्पादकत्व बढाउनुपर्नेछ । यी सबै काम गर्न निजी क्षेत्र जीवन्त हुन जरूरी छ ।

मेरो आफ्नै आत्मविश्वास पनि चुनाव जित्ने आधार हो । किनभने, मेरो टिम सक्षम छ । समूहमा काम गर्न रुचाउने टिम छ । टिमका सबैलाई जिताउन अघि बढेका छौं ।

अहिलेसम्म निजी क्षेत्रले जिम्मेवार भएर काम गरेको छ । जिम्मेवार निजी क्षेत्रले नै अहिलेका आर्थिक समस्याबाट देशलाई पार लगाउन सक्छ । हामी उत्तरदायी हुँदा अरू पक्ष पनि जिम्मेवार होस् । सरकारका नियामक निकायहरू जिम्मेवार भएर प्रस्तुत होउन् भन्ने हामी चाहन्छौं ।

अहिले युग डिजिटलबाट स्मार्टतिर लागेको छ । विश्वव्यापी रूपमा अर्थतन्त्रमा नयाँ–नयाँ प्रयोग र चुनौती देखिएका छन् । यसैले पनि महासंघमा सशक्त युवा नेतृत्व अर्थात् जोसिलो, जाँगरिलो नेतृत्व चाहिन्छ । मिल्न र मिलाउन सक्ने समन्वयकारी नेतृत्व आजको आवश्यकता हो । यही नै मार्गचित्र पनि हो ।

निजी क्षेत्रको बाहुल्य रहेको बैंकिङ क्षेत्रविरुद्ध पनि चर्को देखिनुभएको छ । विरोधाभासपूर्ण भएन र ?

चर्को भाषामा बोलेको छैन, बैंकको विरोध पनि गरेको छैन । मैले व्यवसायीको पीडा र आवाज बोलेको हुँ । मैले भनेका कुरा गलत हुन् भनेर कसैले प्रमाणित गरिदेयोस् ।

१०० को व्यापार गर्ने व्यवसायी आज ३० रुपैयाँमा खुम्चिएको छ । लागत बढेको बढ्यै छ । यस्तो अवस्थामा उसले ऋण कसरी तिर्न सक्छ ?

व्यवसायीले ब्याज तिर्न नसक्ने भयौं, ब्याजदर घटाइदिनुपर्‍यो भनिरहँदा बैंकले बेसरेट भन्दा ८ प्रतिशत प्रिमियम लिनुपर्ने किन ? मैले गरेको प्रश्न यही हो ।

बजारमा तरलता छैन । बजारलाई संकुचित गरिएको छ । यस्तो अवस्थामा विश्वभरका सरकारले तरलता प्रवाह गरिदिन्छन् । तर, नेपालमा उल्टो भयो । गत वर्ष लिइएको नीति नै गलत भयो ।

उत्पादन, उत्पादकत्व र अर्थतन्त्र वृद्धि गर्न बैंकले लगानी बढाओस् भन्ने हाम्रो माग हो । त्यसका लागि के गर्नुपर्ने हो, त्यही गर्नुपर्‍यो भनेर आवाज उठाएका हौं । गलत कुरालाई गलत भनेका हौं । व्यवसायीलाई सडकमा आउने अवस्था बनाएपछि बाध्य भएर बोलेका हौं ।

निजी क्षेत्रको छाता संगठन भए पनि सरकारी भाषा बोल्छ भन्ने उद्योगी व्यवसायीको गुनासो तपाईं निर्वाचित भएपछि सुन्नुपर्दैन त ?

हो, पर्दैन । महासंघले अहिले पनि सरकारको भाषा बोलेको छैन । हामी सरकारको सल्लाहकारको भूमिकामा छौं, कतिपय अवस्थामा विपक्षीको भूमिका पनि खेल्छौं । समग्र अर्थतन्त्रलाई सुधारोन्मुख र चलायमान गराउन सल्लाहकारको भूमिका खेल्छौं । निजी क्षेत्र र अर्थतन्त्रको हितका लागि आवश्यक पर्दा विपक्षी बन्न पनि तयार हुन्छौं ।

महासंघमा चुनावका बेला हुने राजनीतिक दौडधुप चिर्न सक्ने अवस्थामा हुनुहुन्छ ?

महासंघ विशुद्ध व्यावसायिक संस्था हो । निजी क्षेत्रको मुद्दा सम्बोधनको सिलसिलामा सबै राजनीतिक दलसँग हाम्रो सम्पर्क–सम्बन्ध हुन्छ । चिने–जानेकासँग सहयोग माग्ने परम्परा जहाँ पनि हुन्छ । त्यो  किसिमका सहयोग माग भए होलान्, हुन्छन् पनि । यसलाई राजनीतिक दौडधुप भन्न जरूरी छैन ।

महासंघको चुनाव जितेपछि जिल्ला, नगरमा नपुग्ने, व्यवसायीका कुरै नसुन्ने प्रवृत्ति पनि छ नि !

मैले त निर्वाचित भएपछि एकपटक सबै च्याप्टरमा पुगेर समस्या र गुनासो सुन्छु भनेर प्रतिबद्धता नै जनाएको छु । दुई पटक पुग्छु भन्दिनँ, तर जिल्ला उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्वि–राष्ट्रिय संघ सबैमा एकपटक त पुग्छु नै ।

तपाईंलाई चुनाव जितिन्छ भन्ने आत्मविश्वास छ त ?

चुनाव जितिन्छ भन्नेमा म र मेरो टिम विश्वस्त छ । जित्ने आधार पर्याप्त छ, कुरा प्रक्रियाको मात्र हो । सबैभन्दा ठूलो आधार ममाथि उद्योगी–व्यवसायीले देखाउनुभएको विश्वास नै हो ।

मेरो आफ्नै आत्मविश्वास पनि चुनाव जित्ने आधार हो । किनभने, मेरो टिम सक्षम छ । समूहमा काम गर्न रुचाउने टिम छ । टिमका सबैलाई जिताउन अघि बढेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?