 
																			२७ चैत, म्याग्दी । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा । चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुंगामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला ।
यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर झर्न लागेका फूल र हरिया पातमात्र देखे त्यहाँ पुगेका आन्तरिक पर्यटकले । लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत-वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ ।
चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन् । त्यस्तै काफल, ऐँसेलु, तिजु, वनमान्द्रोलगायत जङ्गली फलफूल र कन्दमूल पनि बेमौसममै फलेकाले फल लाग्नुपर्ने समयमा निख्रिसकेका छन् ।
फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस पुसमा नै फुल्नु र फुल्नुपर्ने समयमा निख्रनु वातावरणीय दृष्टिकोणले राम्रो संकेत नभएको म्याग्दीस्थित धौलागिरि पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँले बताए ।
विश्वमा बढ्दै गएको तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण यस्तो भएको उनको भनाइ थियो । आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुङ्गामा पुगेका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जङ्गलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए ।
सधैँजसो फागुन महिनाको तेस्रो सातातिरै फूल्ने लालीगुराँस यसवर्ष पुस दोस्रो सातादेखि नै फुलेकाले चैतमै निख्रिसकेको स्थानीयवासीले बताए । विगतमा लालीगुराँस फुलेपछि चैत-वैशाखमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दथ्यो ।
लालीगुराँस चैत-वैशाख महिनामा फूल्ने गर्दथ्यो तर केहीवर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेकाले फुल्नुपर्ने समयमा निख्रन पुगेको स्थानीयवासी डिलबहादुर सापकोटाले बताए ।
लालीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको, जङ्गली फलफूल, कन्दमूल र अन्नबालीमा समेत यसको असर देखिएको भकिम्ली निवासी क्या.जसबहादुर पुनको भनाइ थियो ।
‘यस वर्ष पुस अन्तिम सातादेखि नै गुराँस फुल्न र काफल पाक्न सुरु गर्यो” वन तथा वातावरणका अध्येता बैकुण्ठ रेग्मीले भने, ‘चैत-वैशाखमा फुल्नुपर्ने गुराँस पुस माघमै फुल्नु र चैत सकिनै लाग्दासमेत उच्च हिमाली र लेकाली क्षेत्रहरुमा हिउँ नपर्नु, कन्दमूल तथा जङ्गली फलफूल नासिँदै जानु, बाली पाक्ने समयमा परिवर्तन देखिनु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो ।
विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन्।’ उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामासमेत धेरै परिवर्तन देखिएका छन् ।
त्यसैगरी गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू-भागमा पनि पाइन थालेका छन् ।
समयको अन्तरालमा पृथ्वीको वायुमण्डल, हावाको गति र मौसममा भएको परिवर्तनका कारण पृथ्वी तथा यसको कुनै भागको औसत मौसममा आएको परिवर्तनलाई नै जलवायु परिवर्तन भनिन्छ ।
जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षाको समयमा नियमित वर्षा नहुने, मौसमी फलफूल तथा तरकारी उत्पादनमा फेरबदल हुने, हिउ पग्लने, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखापरेका मिलन म्याग्दी नामक गैरसरकारी संस्थाका पूर्वअध्यक्ष शिव वानियाँले बताए ।
उनका अनुसार जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । यसरी कहिले अत्यधिक वर्षा भई धनजनको विनाश हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वन जङ्गल नै सुक्ने अवस्था आइरहेको छ । जलवायु परिवर्तनकै कारण नयाँ-नयाँ रोग देखिएका छन् ।
यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायत वनस्पति पनि लोप हुने खतरा बढेको वन डिभिजन कार्यालयका नि.प्रमुख चन्द्रमणि सापकोटाले बताए ।
हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुनेगर्छ ।
जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत असर देखिन थालेको जिल्ल स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4