
काठमाडौं । अमेरिकी अभिनेत्री, निर्मात्री तथा निर्देशक लिसा डाल्टन यतिबेला काठमाडौंमा छिन् । नेपाल फिल्म क्याम्पसमा चलिरहेको २२ दिन लामो कार्यशालामा फिल्म पढाउन आएकी उनले अनलाइनखबरसँग संक्षिप्त कुराकानी समेत गरिन् ।
कार्यशालामा उनले फिल्म निर्माणको शैली र शिल्पबारे नेपाली निर्देशक, निर्माता र विद्यार्थीलाई सिकाइन् । फिल्म निर्माता माइकल चेखभको फिल्मप्रतिको बुझाइलाई नेपालमा फैलाउनु ध्येय रहेको उनको भनाइ छ ।
‘त्यसो गर्नुमा मेरो उद्देश्य आनन्द र रचनात्मकता फैलाउन मद्दत गर्नु हो । चेखभको कामबाट निर्देशक, अभिनेता, लेखक, डिजाइनरले दर्शकमा अझ शक्तिशाली प्रभाव सिर्जना गर्न सक्छन् भन्ने मलाई विश्वास छ,’ उनले भनिन् ।
चेखभको शैलीले नेपाल जस्ता मुलुकमा कसरी काम गर्छ ? उनको जवाफ छ, ‘चेखभको प्रविधिले हामीले काम गर्ने तरिकाबारे मानिसलाई बुझ्न मद्दत गर्छ । ती प्रविधिबाट हामी गतिशील र शक्तिशाली रुपमा आन्तरिक र बाह्य द्वन्द्वका साथ रोचक पात्र सिर्जना गर्न सक्छौं । हामी तिनीहरुलाई प्रचार नभई मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्न सक्छौं । ती प्रविधिद्वारा हामी मनोरञ्जन, उत्थान, शिक्षा, प्रेरणा र संस्कृतिलाई उच्च आध्यात्मिक स्तरमा लैजान सक्छौं । चेखभको कामले आत्मा, शरीर र दिमागको प्रकृतिसँग मिलेर काम गर्छ ।’
नेपाली फिल्म निर्माताले हलिउडसम्म पहुँच निर्माण गर्न सक्ने लिसाको भनाइ छ । यसका लागि केही सुझाव उनले दिएकी छन् । ‘अंग्रेजीमा धेरै धाराप्रवाह बोल्नुहोस्, त्यो पहिलो कुरा हो । कुनै पनि भाषामा र कुनै पनि आकारको प्रोजेक्टमा सकेसम्म काम गर्नुहोस्,’ उनले भनिन्, ‘मैले निःशुल्क साना कुरा पनि गरेकी छु र ठूला काम पनि गरेको छु । सबै प्रकारका कामले तपाईंलाई सीप निर्माण गर्न मद्दत गर्छ ।’
उनले अनुभव सुनाइन्, ‘मैले अभिनय गरेका फिल्म निर्देशन गरेर केही विद्यार्थी सफल निर्देशक भए । अब तिनीहरूले मलाई चिन्छन् र तिनीहरूले मेरो काम जान्दछन् । तिनीहरूले मलाई अब काममा लिन र पारिश्रमिक पनि दिन सक्छन् ।’
उनले सकेसम्म राम्रा नेपाली फिल्ममा काम गर्न समेत सुझाइन् । ‘पछिल्ला तीन वर्षमा परिवर्तन भएको एउटा कुरा भनेको नेटफ्लिक्स र अब अन्य स्ट्रिमिङ सेवाले विदेशी फिल्म किनेर अंग्रेजीमा डब गर्दैछन् । त्यसैले धेरै राम्रो कथा भएको फिल्ममा नेपाली भाषामा राम्रो भूमिका पाउनुभयो भने काम गर्नुहोस्,’ उनले सुझाइन्, ‘हलिउडकर्मीले सुरुमा तपाईंको भाषा नबुझ्ने भए पनि, यसलाई अंग्रेजीमा डब गरिसकेपछि, तिनीहरू तपाईंसँग परिचित हुनेछन्, जसले हलिउडसँग विश्वास र विश्वसनीयता स्थापित गर्न मद्दत गर्न सक्छ ।’
अभिनेत्री डाल्टनले ‘स्प्ल्यास’, ‘द मनी पिट’, ‘इन्सपेक्टर मम’ जस्ता चर्चित हलिउड फिल्ममा काम गरेकी छन् ।
तस्वीर : प्रसुन संग्रौला
प्रतिक्रिया 4