+
+

भोजपुरको सुन्तले र बाघखोरमा पर्यटकको घुइँचो

रासस रासस
२०८० वैशाख १ गते १५:२२
फाइल तस्वीर

१ वैशाख, काठमाडौं। नयाँ वर्ष २०८० को अवसरमा जिल्लाको पर्यटकीय क्षेत्रमा पर्यटक बढेको छ । यहाँका सुन्तले, बाघखोर, चखेवा, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थानमा आन्तरिक पर्यटकले भरिएका हुन् । ती मध्ये सुन्दर पर्यटकीय क्षेत्र सुन्तले र बाघखोरमा बढी मात्रामा पर्यटक पुगेका छन् ।

यो सदरमुकामबाट नजिकै रहेको स्थान पर्यटकीय गन्तव्यको रुपमा स्थापित स्थान हो । सडकको सञ्जाल जोडिएपछि टेम्केमैयुङ चखेवा र टेम्के डाँडामा पनि मानिस नयाँ वर्ष मनाउन पुगेका छन्। प्राकृतिक दृश्यको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिनको लागि यहाँ दैनिक दर्जनौँको सङ्ख्यामा आन्तरिक पर्यटक सुन्तले पुग्ने गरेका छन् ।

भोजपुर सदरमुकाम र दिङ्ला सडकखण्डमा पर्ने यी स्थानमा पुग्नको लागि पर्यटकलाई सहजता छ । खास गरेर सहरी जीवनको व्यस्तताबाट थोरै समय लिएर घुम्न जानेको लागि सबैभन्दा उपयुक्त गन्तब्य बनेको छ । सडक सञ्जालको विस्तारसँगै पछिल्लो समय यहाँ चहलपहल पनि बढ्न थालेको देखिन्छ ।

सदरमुकामबाट करिब १० किलोमिटर दूरीमा सुन्तले र १२ किलोमिटरको दूरीमा बाघखोर पर्दछ । यी क्षेत्रको स्थानीय तहहरुले पनि पर्यटीकय क्षेत्रको रुपमा विकास गरिरहेका छन् । समुद्री सतहदेखि करिब दुई हजार चार सय मिटरको उचाइमा रहेको छ ।

सगरमाथा, मकालु कञ्चनगङ्घा, गौरीशङ्खरलगायत हिम शृङ्खला, अरुण उपत्यका, अरुण नदी, साल्पासिलिछो चुचुरो, मैयुङडाँडा, भोजपुर सदरमुकाम, टेम्केडाँडा र भोजपुर खोटाङको सिमानाको चखेवा भञ्ज्याङको सुन्दर दृश्यावलोकन गर्न पर्यटक यहाँ पुग्ने गरेका छन् । पर्यटकलाई लक्षित गरेर यहाँ भ्यू टावरसँगै, वन भोजस्थलसमेत निर्माण गरिएको छ ।

खास गरेर यहाँ राई, शेर्पा र तामाङ समुदायको बसोबास रहेको छ । स्थानीय परिकारले पनि पर्यटकलाई लोभ्याउने माध्यम वनको छ । यहाँ आउने पर्यटकको सङ्ख्यामा दिनानुदिन वृद्धि भइरहेको बाघखोरमा व्यवसाय गर्दै आएका गणेश तामाङले बताए । यो क्षेत्रको अझ विकास गर्नसके पर्यटकको सङ्ख्या बढ्ने तामाङको भनाइ छ ।

‘नयाँ वर्षको अवसरमा पर्यटक बढेका छन्’, उनले भने, ‘नयाँ वर्षमा यहाँ बाहिरी जिल्लाबाट समेत पर्यटक आउने गरेका छन् । खास गरेर यहाँको मनोरम दृश्य र स्थानीय परिकारले पर्यटकलाई लोभ्याउने गर्दछ’, प्रायः भोजपुर आएका मानिस एक पटक सुन्तले पुग्ने गरेको तामाङको भनाइ छ । पर्याप्त पूर्वाधार नभएको कारण धेरैको सङ्ख्यामा पर्यटक आए भने व्यवस्थापनमा कहिलेकाहीँ समस्या हुने गरेको तामाङको भनाइ छ ।

नगरपालिकाको सहयोगमा बाघखोरमा बुद्धको मूर्ति, बाघको मूर्ति निर्माण भएको छ । यो पनि यहाँको आकर्षणको केन्द्रको रुपमा रहेको छ । असोज महिनापछि पर्यटकको आवगमन झन बढ्ने तामाङको भनाइ छ ।

लोकल कखुरा र कोदोको ढिडो तोङ्वा, सुकुटी तथा अन्य स्थानीय परिकारको स्वाद लिन पर्यटक रुचाउने गरेका छन् । पर्यटकलाई लक्षित गरेर घोडा चडेर (हर्ष राइडिङ) घुम्ने व्यवस्थासमेत गरिएको छ । घोडा चडेर आनन्द लिन पनि पर्यटक पुग्ने गरेका छन् ।

यहाँ धूपी, चाइनिज गुलाफ, चाँप, लालीगुराँसलगायतका गरी एक हजार बिरुवा रोपिएको छ । त्यस्तै चिया खेती विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?