+
+

अभ्यास खेलमा ओमानमाथि नेपाल ५ विकेटले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते १९:५८

२ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कपअघि आयोजना भएको अभ्यास खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले ओमानलाई ५ विकेटले पराजित गरेको हो ।

मंगलबारदेखि मूलपानी र कीर्तिपुर मैदानमा १० टोलीले एसीसी प्रिमियर कप खेल्दैछन् । सोही प्रतियोगिताका लागि नेपालले अभ्यास खेल खेलेको हो । ओमानले निर्धारित ५० ओभरमा खेल्दै नेपालसामु प्रस्तुत गरेका २४७ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

ओमानले दिएको लक्ष्य भेट्टाउँदै जित निकाल्न अर्जुन साउद, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी निकै महत्वपूर्ण रह्यो । ओपनर साउदले ६७ तथा कप्तान रोहितकुमार पौडेलले ५८ रन बनाउने क्रममा रिटायर्ड हर्ट भएका थिए ।

दीपेन्द्रसिंह ऐरी ५९ रनमा आउट भएका थिए । कप्तान रोहितले ५८ रनमा रिटायर्ड हर्ट हुँदै कुशल मल्ललाई मौका दिए पनि ८ रन भन्दा जोड्न सकेनन् । नेपालका लागि ओपनिङ ब्याटिङ गरेका देव खनाल १० रनमा आउट भएका थिए । नेपालको पाँच विकेट लिने क्रममा ओमानका लागि कप्तान जिशान मकसुदले २ विकेट लिए ।

टस हारेर पहिला ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाउँदै २४६ रन बनाएको थियो । ओमानका लागि शोयब खानले १ सय १० रनको अविजित शतकीय इनिङ खेले । ओपनर जतिन्दरसिंह ४२ रन जोड्ने क्रममा पवेलियन फकिँदा अर्का ओपनर कश्यप प्रजापति १६ रनमा आउट भए ।

मोहम्मद नदिमले २४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् । नेपालका लागि किशोर महतोले ३ तथा प्रतिश जिसी र सूर्य तामाङले समान २÷२ विकेट लिए ।

एसीसी प्रिमियर कपमा नेपाल र ओमान एकै समूहमा छन् । मंगलबार नेपालले मलेसियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल सम्मिलित समूह ए मा ओमान, कतार, मलेसिया र साउदी अरेविया छन् ।

यस्तै समूह बी मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । १० टोली सहभागी प्रतियोगिताको उपाधि जित्ने टोलीले एशिया कपमा भारत र पाकिस्तान खेल्ने मौका पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?