+
+

प्रहरीका गुमनाम स्पाई मास्टर : दोस्रो वरीयतामा थिए, तर आईजीपीका प्रतिस्पर्धी नै ठानिएनन्

नेपाल प्रहरीका एआईजी टेकप्रसाद राई यस्ता अफिसर हुन्, जो सेवा अवधिभर जम्मा दुई पटक मात्र सर्वसाधारणले थाहा पाउने युनिटमा बसेका छन् । त्यसबाहेक उनी सधैं आतंकवाद र अन्तरदेशीय अपराधको जालो तोड्न खटिने प्रहरीको गुप्तचरी निकाय विशेष ब्यूरोमा सक्रिय रहे ।

गौरव पोखरेल गौरव पोखरेल
२०८० वैशाख ३ गते २०:३५

३ वैशाख, काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाल प्रहरीमा महानिरीक्षक बन्ने चर्कै रस्साकस्सी हुन्छ । आकांक्षीहरु एकअर्काबीच पानी बाराबारको व्यवहार गर्छन्, नेताहरुको घरदैलोमा धाउँछन् ।

१० चैतमा मन्त्रिपरिषद्ले वसन्तबहादुर कुँवरलाई ३०औं प्रहरी महानिरीक्षक नियुक्त गर्नुअघि आकांक्षीहरुको दौडधुप थियो । आईजीपीको होडमा रहेकाहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारदेखि सत्ता गठबन्धनको सबभन्दा ठूलो दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराही पुगेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई भने लुम्बिनी प्रदेशको राजधानी दाङमा आफ्नै काममा रमाइरहे । ‘सबै आईजीपी बन्ने भन्ने हुँदैन, म प्रहरी बन्न संगठनमा आएको थिएँ, प्रहरी नै बनेर कर्म गरिरहेको थिएँ’, राई भन्छन्, ‘मलाई डर्टी गेमहरुमा विश्वास लाग्दैन, त्यसैले काममै व्यस्त थिएँ ।’ त्यसैले अधिकृतहरु भन्थे, ‘यसपालि आईजीपी बन्ने प्रतिस्पर्धा पहिलो र दोस्रो होइन, पहिलो र चौथो हो ।’

कुँवर पहिलो वरीयतामा थिए भने राई दोस्रो, दीपक थापा तेस्रो र श्याम ज्ञवाली चौथो वरीयतामा थिए । आईजीपी हुने दौडमा कुँवरका साथै तेस्रो वरीयताका थापा र चौथो वरीयताका ज्ञवालीले दौडधुप गरेका थिए ।

सरकारले वरीयताक्रम अनुसार अगाडि रहेका कुँवरलाई नै महानिरीक्षक बनायो । यसप्रति राईको कुनै गुनासो छैन । ‘प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेको थिएँ, एआईजी विशिष्ट श्रेणीको पद पाइसकें, नीतिगत तहमा पुगिसकेँ’, राई सन्तुष्ट सुनिन्छिन्, ‘यो नै सरकारले मेरोलागि दिएको ठूलो कुरा हो ।’

उनले आफ्नो अध्यक्षतामा संगठनको दुई वर्षे कार्ययोजना बनाउने जिम्मेवारी पाएका छन् । ‘संगठन प्रमुखज्यूसँग प्रहरीलाई यो अवधिमा कसरी अगाडि लैजाने भन्नेमा सल्लाह भइरहेको छ, त्यसक्रममा दुई वर्षे कार्ययोजना बनाउन मेरै अध्यक्षतामा टिम बनेको छ’, राई भन्छन्, ‘हाम्रो नीतिगत नेतृत्वमा प्रहरीलाई गौरव गर्न लायक संगठन बनाउने प्रयास हुनेछ ।’

१९ वर्ष वितेको पत्तै भएन

२०४४ सालमा अध्ययनको सिलसिलामा उदयपुरबाट काठमाडौं आएका राई शंकरदेव क्याम्पसबाट स्नातक उत्तीर्ण गरेपछि शिक्षण पेशा रोज्न चाहन्थे । किनकी त्यसबेला शिक्षण सम्मानित पेशा मानिन्थ्यो । तर उनी बने प्रहरी ।

‘कताकता शिक्षण पेशा सबैसँग जोडिँदैन भन्ने लाग्यो’, राई भन्छन्, ‘बरु प्रहरीबाट पो सबै क्षेत्रसँग जोडिनसक्ने रहेछु भन्ने लाग्यो । त्यही बेला बर्दीको चार्म पनि थियो ।’

२०४९ सालमा प्रहरी निरीक्षकका लागि दरखास्त दिए । २०५३ साल भदौमा पासआउट भएर अञ्चल प्रहरी इकाइ कार्यालय, दाङमा काम गर्न थाले । १० महिनापछि उनी रोल्पा सरुवा भए । झण्डै १७ महिना रोल्पामा काम गरेपछि प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भयो ।

‘त्यसबेला स्पेशल ब्रान्च भनिन्थ्यो, भर्खर स्थापना भएको कार्यालयमा सबैलाई काजमा राखिएको थियो’, राई सम्झन्छन्, ‘त्यसबेला सीआईबी पनि स्थापना भएको थिएन । पूर्णतः अण्डरकभर काम गर्ने प्रहरीमा त्यही एउटा शाखा मात्र थियो ।’

बर्दीको चार्म देखेर कमाण्ड गर्न तम्सिएका राईले त्यसपछि ‘प्रहरी हुँ’ भनेर खुला रुपमा बताउन नसक्ने जिम्मेवारी पाए । ‘त्यसबेला कस्तो कस्तो नलागेको होइन’, राई भन्छन्, ‘जब इन्टलिजेन्स बुझ्दै गएँ, १९ वर्ष त्यहीँ वितेको पत्तै भएन ।’

आतंकवादको अनुसन्धान अरु घटना जस्तो २५ दिनमा पूरा हुँदैन, लामो धैर्यता चाहिन्छ । बाबरी मस्जिदको घटनापछि भारतमा भएको श्रृंखलाबद्ध आतंकवादी गतिविधिमा संलग्न इरफान अहमदलाई समात्न उनको पछिपछि ९ वर्षसम्म हिँड्नु परेको थियो

नेपालमा भएको अपरेशन, जसमाथि फिल्म बन्यो

विशेष ब्यूरोमा छँदा गरेका अपरेशनहरुबारे राई धेरै खुल्दैनन् । तर कतिपय कुराहरु लुकेका छैनन् ।

२४ मे २०१९ मा एउटा भारतीय चलचित्र रिलिज भयो, ‘इण्डियाज् मस्ट वान्टेड ।’ इण्डियन मुजाहिद्दिनका सह-संस्थापक यासिन भट्खालको गिरफ्तारीमाथि फिल्म केन्दि्रत छ । भारतका ओसामा विन लादेन समेत भनिने भट्खाललाई पोखराबाट समातेर लगिएको कथा फिल्ममा छ ।

नेपाली सुरक्षा अधिकारीहरुमध्ये कमैलाई थाहा छ, भट्खाल विशेष ब्यूरोले लामो समयदेखि निगरानी गरेका व्यक्ति हुन् । नेपाल प्रहरीले यो अपरेशनमा सहयोग गरेको विषय फिल्ममा देखाइएको छ ।

राई यसबारे बताउन चाहँदैनन् । यस्ता थुप्रै व्यक्तिमाथि ब्यूरोले नियमित निगरानी राखेको उनी सुनाउँछन् । २०७२ सालको भूकम्पपछि सिन्धुपाल्चोक कारागारबाट इरफान अहमद नामक व्यक्ति भागेका थिए । उनीमाथि भारत सरकारले ५० हजार भारुको इनाम घोषणा गरेको थियो ।

सन् १९९३ मा बाबरी मस्जिद भत्किएपछि भएको आतंकवादी गतिविधिमा संलग्न इरफान सन् २००० मा भागेर नेपाल प्रवेश गरेको सुरक्षा निकायको रिपोर्ट छ । उनलाई इण्डियन मुजाहिद्दिनको नेपाल प्रमुखका रुपमा भारतीय सञ्चारमाध्यमहरुले प्रस्तुत गर्दै आएका थिए ।

‘सन् २००१ देखि उनी ब्यूरोको निगरानीमा थिए, लामो सर्भिलेन्सपछि पक्राउ परेका हुन्’, सात वर्षपछि एआईजी राई स्वीकार्छन्, ‘पहिले बागबजारमा विजनेस कभरमा बसेका थिए, त्यसपछि कहिले नेपालगञ्ज त कहिले कपिलवस्तुमा बसेको पाइएको थियो ।’

नेपाली नागरिकता लिएको भेटिएपछि पक्राउ गरेको उनी बताउँछन् ।

‘टेरोरिज्मको अनुसन्धान अरु घटना जस्तो २५ दिनमा पूरा हुने हुँदैन, लामो समयसम्म धैर्य गरिरहनु पर्छ’, उनी भन्छन्, ‘इरफानकै केसमा उनको पछाडि ब्यूरो ९ वर्षसम्म लागेको थियो ।’

उनको अनुभवमा आतंकवादसँग जोडिएका घटनाको अनुसन्धानमा लामो समयसम्म धैर्य गर्नु सक्नुपर्छ ।

ताञ्जेनियास्थित संयुक्त राज्य अमेरिकाको दूतावासमा कलकायदाले गरेको आक्रमणमा संलग्नले ५ वर्ष लगाएर परिवार बनाएर तयारी गरेको उदाहरण दिँदै उनी भन्छन्, ‘एउटा टेरोरिस्टले यति लामो योजना बनाएर गतिविधि गर्छ भने त्यसलाई रोक्न खटिनुपर्ने टोलीले झन् कति मिहिनेत गर्नु पर्ला ?’ त्यसैले आतंकवादविरुद्ध काम गर्ने विशेष ब्यूरो जस्तो निकायमा काम गर्न सहज नहुने उनी बताउँछन् ।

विमान अपहरणदेखि ९/११ घटनासम्म

नेपाल प्रहरीमा २०५१ विशेष व्यूरो बनेको थियो । ९ पुस २०५६ मा भएको विमान अपहरण घटनापछि आतंकवादविरुद्ध काम गर्ने ब्यूरो जस्तो निकायको महत्व झन् बढ्दै गयो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको नयाँदिल्लीका लागि उडेको इण्डियन एयरलाइन्सको विमान उग्रवादी समूहका सदस्यले अपहरण गरेर अमृतसर, पाकिस्तानको लाहोर हुँदै अफगानिस्तानको कान्दहारमा पुर्‍याएका थिए । विमानमा रहेका नागरिकहरुको उद्दारका लागि भारत सरकारले जेलमा रहेका तीन आतंकवादीलाई छाडेको थियो ।

राईका अनुुसार २६ भदौ २०५८ (११ सेप्टेम्बर २००१) मा अलकायदाले न्यूयोर्कको वर्ल्ड ट्रेड सेन्टरस्थित ट्वीन टावरमा हमला गर्दा समेत नेपालमा उच्च सतर्कता अपनाइएको थियो ।

त्यसदिन बिहान १९ जना आतंकवादीले तीन वटा विमान अपहरण गरेका थिए, तीमध्ये दुई वटा विमान ट्वीन टावरमा दुर्घटना गराइएका थिए । तेस्रो पेन्टागनस्थित सैनिक मुख्यालयमा विष्फोट गराइएको थियो ।

२०७५ मा विप्लव समूहले गराएको विष्फोटबाट ललितपुरमा एक जनाको मृत्यु र तीन जना गम्भीर घाइते भएपछि टेकप्रसाद राई यूएन शान्ति मिसन छाडेर १० दिनमै स्वदेश फर्किएका थिए

‘९/११ घटनापछि विश्वमै वार एगेन्स्ट टेरोरिज्मको नीति आयो’, राई भन्छन्, ‘अमेरिकामा भएको घटनाका संदिग्ध वा त्यससँग जोडिएका व्यक्ति नेपाल समेत आउनसक्ने भएकाले त्यसबेला सुक्ष्म अनुसन्धान गरेका थियौं ।’

१० फागुन २०७५ मा ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को कार्यालयमा विष्फोट हुँदा एक जनाको मृत्यु र ३ जना घाइते भए । यो घटनासँगै नेपाली गुप्तचरी संयन्त्रमाथि प्रश्न उठ्यो ।

‘तत्कालीन आईजीपी सा’ब सर्वेन्द्र खनाल र एआईजी पुष्कर कार्की सा’बले तुरुन्त आउनुपर्‍यो भन्नुभयो’, त्यसबेला संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा रहेका राई सम्झन्छन्, ‘१० दिनमै मिसनबाट फर्किएर विष्फोटको अनुसन्धानमा लागेको थिएँ ।’

विष्फोटपछि प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका नेताहरुमाथि व्यापक धरपकड गर्‍यो । तत्कालीन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहितका नेताहरु पक्राउ परे । २७ फागुन २०७५ मा विप्लव समूहमाथि सरकारले प्रतिबन्ध नै लगायो ।

नख्खु विष्फोटको अनुसन्धानमा खटिएको ६ महिनापछि एसएसपीका रुपमा राईले जिल्ला प्रहरी परिसर, ललितपुरको नेतृत्व गर्ने मौका पाए । त्यसबेला विप्लव समूहले उपत्यकामा लुकाएको विष्फोटक पदार्थ प्रहरीले बरामद गर्‍यो ।

विष्फोटक पदार्थसहित समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्य पक्राउ परेका थिए । त्यसपछि विप्लव समूहले जिल्ला सेक्रेटरी विदुषीको नाममा विज्ञप्ति निकालेर राईलाई धरपकड नगर्न धम्की नै दियो । पछि विदुषीलाई पनि ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीले सेलिब्रिटी बन्न काम गर्ने होइन, कामले नै सेलिब्रिटी बन्छ भन्ने मान्यता राख्ने राई भन्छन्, ‘वर्षौं लगाएर गरेको अपरेसन सफल भएको दिन राति लाग्ने निन्द्रा कति प्रिय हुन्छ भन्ने विशेष ब्यूरोका अधिकृतहरुलाई मात्र थाहा छ ।’

अफ्ठ्यारो परिस्थितिमा मात्र गुप्तचरीको कुरा गर्ने, नत्र थाहै नभएजस्तो गर्ने प्रवृत्ति नेपालमा छ

छैन नयाँ पुस्तामा रुचि

आजभोलि प्रहरीमा आफूले गरेका काम सकेसम्म प्रचार गरेर सेलिब्रेटी बन्ने प्रवृत्ति हाबी छ । त्यसैले गुमनाम काम गर्नुपर्ने युनिटमा लामो समय काम गर्नेहरु कमै छन् । यस्तो हुनुलाई राई स्कुलिङसँग जोड्छन् ।

‘मुख्य कुरा प्रहरीमा किन आउने भन्ने हो’, हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रमुख रहेका राई भन्छन्, ‘नयाँ आउने अफिसरहरुलाई ‘ह्वाई पुलिस ?’ भनेर छुट्टै कक्षा गराउने सोचिरहेको छु ।’

ब्यूरोलाई बलियो बनाइराख्न नसक्दा आतंकवादमा संलग्नहरुले नेपाली भूमि अर्को मुलुकविरुद्ध प्रयोग गर्ने जोखिम बढ्दै जान्छ । अमेरिकाले बर्सेनि निकाल्ने ‘कन्ट्री रिपोर्टस् अन टेरोरिज्म’मा नेपाललाई आतंकवादको हबको रुपमा व्याख्या गर्ने गर्छ ।

‘खास नेपाल आतंकवादको हब होइन, ट्रान्जिट बनाउन खोजेका हुन्’, राईको जिकिर छ, ‘यसलाई निस्तेज पार्न विशेष ब्यूरो जस्तो निकायलाई बलियो बनाउनुपर्छ ।’

बदलिँदो परिस्थितिमा गुप्तचरीको आवश्यकता झन् बढ्दै गएको छ । तर, विशेष ब्यूरो, राष्ट्रिय अनुसन्धान विभाग जस्ता निकायमा जति लगानी हुनुपर्थ्यो त्यति भएको छैन भन्ने उनको बुझाइ छ ।

‘आवश्यकता पर्दा मात्र यसको कुरा गर्ने, नत्र थाहै नभएजस्तो गर्ने प्रवृत्ति छ’, गुप्तचरीलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनी भन्छन्, ‘जतिबेला विद्रोहको अवस्था हुन्छ वा अन्यखाले समस्या हुन्छ, त्यसबेला मात्र यसको महत्व बझिन्छ, जतिबेला ढिलो भइसकेको हुन्छ ।’

तस्वीरहरुः चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?