+
+

नयाँ वर्षको पहिलो कारोबार दिनमै नेप्सेमा २.८० अंकको गिरावट, कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १५:२९

३ वैशाख, काठमाडौं ।  नयाँ वर्ष २०८० को पहिलो कारोबार दिन सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से आइतबार २.८० अंकले गिरावट हुँदा १९३१.६८ अंकमा बन्द भएको छ ।

होटल तथा पर्यटन र बीमा उपसूचक सहित बैंकिङ उपसूचकमा पनि सामान्य वृद्धि हुँदा पनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से पनि ओरालो लागेको हो । पर्यटन क्षेत्रमा सकारात्मक बन्दै जाँदा होटल तथा पर्यटन क्षेत्रका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । आइतबार होटल तथा पर्यटन उपसूचक ४.६५ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै निर्जीवन बीमा उपसूचक ०.२२ प्रतिशत, जीवन बीमा उपसूचक ०.०९ प्रतिशत र बैंकिङ उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । व्पापार उपसूचक ०.९८ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.६६ प्रतिशत, उत्पादनमूलक उपसूचक ०.५६ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.५८ प्रतिशतले वृद्धि भएको छ ।

आइतबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट भएको छ । गत बुधबार करिब २ अर्ब र बिहीबार पनि डेढ अर्ब माथिको कारोबार भएको बजारमा आइतबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । आइतबार नेप्सेमा ३३ हजार १४९ वटा कारोबारमा ३० लाख ५६ हजार ७७५ कित्ता सूचीकृत धितोपत्र खरिद बिक्री हुँदा ९७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार कारोबार भएकामध्ये सोल्टी होटलको ३ करोड ८९ लाखको कारोबार हुँदा एनआईसी एशिया बैंकको ३ करोड ६५ लाख र शिवम् सिमेन्टको ३ करोड १७ लाखको कारोबार भएको छ ।

आइतबार सेयर बजारमा कुल २१९ कम्पनीको सेयर कारोबारमा आउँदा १३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर हुँदा ७० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । जसमध्ये आदर्श लघुवित्त, मोलुङ खोला जलविद्युत कम्पनी र कालिञ्चोक दर्शन लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै तारागाउँ रिजेन्सी होटेलको सेयरमूल्य ७.४३ प्रतिशतले वृद्धि भएको छ ।

एशियन हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशतले गिरावट हुँदा सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ६.७६ प्रतिशत र महुली लघुवित्तको सेयरमूल्य ४.५९ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?