+
+
स्थलगत :

तनहुँ-१ मा बदलिँदै छ मतदाताको मुड

बसन्त बस्नेत अमृत सुवेदी बसन्त बस्नेत, अमृत सुवेदी
२०८० वैशाख ४ गते २१:०८

४ वैशाख, तनहुँ । अलि पर्तिरको मान्छे ठम्याउन गाह्रो पर्नेगरी धुलाम्य छ पृथ्वी राजमार्ग । सफा सुकिला लुगा लगाएर बजार निस्केका गाउँलेहरु आधा घण्टामै अमूर्त चित्रजस्ता देखिन्छन् । अझ आगलागी र डढेलोको धुँवा फैलिनाले तनहुँको आकाश समेत डम्म छ ।

सडक विभागको ट्यांकरले पोखरा जाने सडकमा पानी छम्किँदै गइरहेको छ । पछाडि लेखिएको छ : माया र मौसमको भरोसा हुँदैन ।

धुलो हिलोको कष्टप्रद जीवन बाँच्दै आएका तनहुँको डुम्रेबजारका बासिन्दाका दर्जनौं कथाव्यथा सुन्दा त्यसको सार खिच्न सकिन्छ : यसपालि त माया र मौसमको मात्रै होइन, मतपेटिकामा खस्ने मतको पनि भरोसा छैन । अर्थात् पहिलाको चुनावमा मत जहाँ थियो, अब परिवर्तन हुन सक्छ ।

तनहुँले त्याग र बलिदानको भाष्यलाई निरन्तर अनुमोदन गर्दै आयो । मतदाताले डेलिभरि माग्दैछन् । भ्रष्टाचारविरुद्ध एउटा अर्काे क्रान्तिको नारा यहाँ घन्किरहेको छ । नागरिकहरुले सुशासन र विकासको एजेन्डालाई गम्भीरतापूर्वक लिएको देखिन्छ ।

१० वैशाखमा तनहुँ १ मा उपचुनाव छ । खासमा यो बलिया उम्मेदवारबीचको महाचुनाव हो । यो चुनावमा आफूलाई ‘परिवर्तन’ को लायक साबित गर्न कस्सिएर लागेका छन् नौ उम्मेदवार । तीमध्ये तीन मुख्य प्रतिस्पर्धी छन् : राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाल ।

‘यस्तो कडा भिडन्त यसअघि कहिल्यै थिएन, सधैं दुईपक्षीय प्रतिस्पर्धा हुन्थ्यो, यसपल्ट त्रिपक्षीय’, डुम्रेबजारका बासिन्दा राजेश श्रेष्ठ भन्छन्, ‘वाग्लेजस्तो विज्ञ अर्थशास्त्री रोज्न लाग्दा भट्टराईजस्तो इमानदार र लगनशील नेता छुट्ने डर । भट्टराईको निष्ठा र त्याग हेर्दा वाग्लेजस्ता विज्ञ छुट्ने डर । अनि देशकै सुरक्षा प्रशासन हाँकेको सर्वेन्द्र पनि कमजोर उम्मेदवार होइनन् । खै के पो गर्ने ?’

पोहोर वैशाखको स्थानीय तह निर्वाचनमा बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्रले थोरै मतान्तरले चुनाव हार्‍यो, नेकपा एमालेले चुनाव जित्यो । नजिकैको आँबुखैरेनी गाउँपालिका चाहिँ माओवादीले जित्यो । थुप्रै स्थानीयसँग संवादपछि थाहा लाग्यो, यी ठाउँमा यसपल्ट गठबन्धन उम्मेदवार गोविन्द भट्टराईको साटोमा घण्टीतर्फ मत संक्रमण हुन खोजेको छ । यद्यपि भट्टराईप्रति सहानुभूतिशील नागरिक कम छैनन् ।

रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले, तर चर्चा रवि लामिछानेको बढ्ता छ । भारतका चुनावमा नरेन्द्र मोदी पक्षधरको झल्को दिनेगरी ‘हरहर रवि, घरघर रवि’ लेखिएका पर्चा गाडी, बाइक र अटोका स्टिकर बनेर टाँगिएका छन् ।

रविका गम्भीर कानुनी चुकबारे जनमानस पूरा बेपर्बाह देखिन्छ। माओवादी केन्द्रका एक स्थानीय कार्यकर्ता भन्छन्, ‘रवि गलत थिए भने पहिल्यै टिकट नदिनुपर्ने, तर गृहमन्त्री भएर काम गर्न खोज्दा षड्यन्त्र गरियो भन्ने यहाँ गाउँका मान्छेलाई परेको छ । हामीले सम्झाउने अवस्थै रहेन ।’

यो अवस्था माओवादी प्रभावित क्षेत्रमात्रैको भने होइन । सधैं कांग्रेसले जित्दै आएको व्यास नगरपालिकाको विभिन्न वडाहरुमा पनि यस्तै रुझान छ । उसो त एमालेसँग मिलेर जोशी समूहले यहाँ दबदबा सिर्जना गरेको पनि हो । तर गाउँका महिला, वृद्धवृद्धा अनि युवा पुस्तासँग हामीले छुट्टाछुट्टै कुराकानी गर्दा मत परिवर्तनका प्रशस्त संकेतहरु मिले ।

‘पहिला भोट माग्न कोही नआए पनि फरक पर्दैनथ्यो, अब जो कोही आए पनि फरक पर्दैन’, व्यास नगरपालिका–४ मोहरियाटारकी सुनिता कुमाल भन्छिन्, ‘नेताको जीवनमात्रै परिवर्तन भयो, हामी सधैं उस्तै । अब कसलाई कहाँ भोट खसाउने हामीलाई अरुले सम्झाइराख्नुपर्दैन ।’

कुमालगाउँ, माझफाँट, मोहरियाटारतिरका बासिन्दालाई भेट्न हामी उनीहरुकै गाउँमा पुगेका थियौं । अक्सर नेताहरुप्रति सुनिने नागरिक आक्रोश चुनावका बेला अझै मुखरित हुन्छ । उनीहरुको ‘जनअपेक्षा’ यसपल्ट चाहिँ पूरा होला त ? अहिल्यै ठोकुवा गरिहाल्न उम्मेदवारबाहेक कसैले सक्दैन ।

कुमाल, कार्की समुदायको बाक्लो बसोबास रहेको यी क्षेत्रमा कांग्रेसले यसअघि सधैं बर्चस्व जमाउँदै आयो । ०७४ को चुनावबाहेक अक्सर यहाँबाट जित्दै आएका रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै प्रतिनिधिसभा सिट खाली हुन गएको थियो । प्रतिस्पर्धी एमालेले अहिलेसम्म यो क्षेत्रमा एक्लो बुतामा जित्न सकेको छैन । २०७४ मा एमाले र माओवादीले गठबन्धन गर्दा यो क्षेत्रबाट किसान श्रेष्ठ निर्वाचित भएका थिए ।

यसपल्ट केही नयाँ छनक छ तनहुँ १ मा, जसले रुटिनबद्ध राजनीतिमा केही नयाँ तरंग ल्याउने प्रशस्तै आधारहरु छाडेको छ ।

रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले ती नेता हुन्, जो महिना दिनअघिसम्म आफूलाई तीनपुस्ते कांग्रेस भन्ने गर्थे । आइतबार दमौलीको सभामा तिनै वाग्लेले लोकतन्त्रको एक्लो मसिहा नठान्न कांग्रेसलाई खुलेआम चुनौती दिए । ‘आफूबाहेक अरुलाई लोकतन्त्रवादी नठान्नु पनि अधिनायकवाद हो’, वाग्लेले कांग्रेसतर्फ कटाक्ष गरे, ‘काठमाडौंबाट ल्याएका साइबरसेनाको भरमा चुनाव जित्ने सपना नदेखे हुन्छ ।’

अस्तिसम्म कांग्रेसबारे नरम रुपमा पेश हुने गरेका वाग्ले अकस्मात् आक्रामक भएर आउनुमा रास्वपाप्रति सर्वसाधारणको बढ्दो आकर्षण कारक छ । आइतबार राति अनलाइनखबरसँग दमौलीमा कुरा गर्दै वाग्लेले भने, ‘मेरोविरुद्ध व्यक्तिगत आक्रमण तेज पारिएको छ । यो कहाँबाट भइरहेको छ भन्ने थाहा पाइसकेपछि मैले यसको प्रतिवाद गर्न थालेको छु ।’

कांग्रेसले तनहुँ–१ को उपचुनावमा महामन्त्री गगन थापालाई अगुवाइ गर्न खटाएको छ । थापाले दुई साताअघि आएर कांग्रेस छाडेकामा वाग्लेको आलोचना गरेको विषयलाई कतिपले निको मानेका छैनन् । ‘आफ्नो नजिक हुँदामात्रै उहाँ प्रिय हुनुहुँदो रहेछ नि त, छाडेपछि (गगनले) गाली गरिहाल्नुपर्ने’, बन्दीपुरका मोबाइल फोन व्यवसायी ७५ वर्षीय सुकबहादुर कायस्थ प्रश्न गर्छन्, ‘अब गालीगलौजको राजनीति गर्ने दिन गयो । विकास, रोजगारीको कुरा हो । नेताहरुले त्यो दिनुपर्छ कि अरुलाई गाली दिएको भरमा भैहाल्छ ?’

गगन थापालाई पनि हैरानै छ । अघिल्लो मंसिरमा वाग्लेका लागि टिकट मिलाउँदाको हैरानी, अहिले उनैलाई हराउन लाग्नुपर्दाको हैरानी । यतिन्जेलसम्म पार्टी सभापति शेरबहादुर देउवा भने चुनावका लागि कुनै दौडधुपमा छैनन् । आम जानकारीमै छ, त्यस बेला थापाले वाग्लेलाई प्रतिनिधिसभामा ल्याउनै पर्छ भनेर आफ्नै क्षेत्रसमेत छाडिदिन तयार भएका थिए । त्यसबेला आफूलाई टिकट कसले दिएन भनेर वाग्लेले कराउँदै हिँड्ने अवस्था पनि छैन, चुनावका मुखमा । किनभने उनलाई अर्थमन्त्री भनेर प्रचार गरिएको छ तनहुँका बस्तीमा ।

उसोभए प्रधानमन्त्री चाहिँ को त ? उनै प्रचण्ड र शेरबहादुर देउवा हुन आइपुग्ने सम्भावना छ । अस्तिसम्म एक अर्कालाई कटाक्ष गर्न ‘देवरबाबु’ २, ३ का पोस्टर बनाएर तस्वीर हाल्नेहरु हिजोआज मौन छन् । उपचुनावमा ‘नो नट अगेन’ अभियान छैन । रविले यसबीचमा प्रचण्डलाई प्रधानमन्त्री मानिसकेका छन् ।

हामीले वाग्लेलाई सोध्यौं, ‘तपाईं जित्नुभयो भने यही प्रचण्ड क्याबिनेटमा अर्थमन्त्री बन्न जाने हो ?’

वाग्लेले जवाफ दिए, ‘अहिले कुनै ठोकुवा नगरौं । त्यसबेलाकै आवश्यकतामा आधारित भएर कुरा हुन्छ ।’

काठमाडौंका राजनीति वृत्तमा शंकाको सुई घुमिरहेको छ, कतै थापाले भित्रभित्रै वाग्लेलाई साथ दिने त होइनन् ? कसैले शंका नगरे हुन्छ । किनभने थापा निकट कार्यकर्ताहरु गोविन्द भट्टराई जिताउन तनहुँका विभिन्न भागमा मरिमेटेर लागेका छन् । थापा आफैं पनि मंगलबार दोस्रोपल्ट तनहुँ आउँदैछन् । एक किसिमले यो चुनाव गगन थापा र स्वर्णिम वाग्लेबीचको ईख साँध्ने अखडा पनि बन्दैछ । ‘३ हजार अन्तरले जित्छौं,’ नेविसंघ तनहुँका एक कार्यकर्ता पूरा दाबीका साथ भन्छन्, ‘यहाँ हाम्रो प्रतिस्पर्धी एमाले हो ।’

उनकै भनाई सदर गर्छन् कांग्रेस उम्मेदवार गोविन्द भट्टराई । ‘अरु को को आएका होलान्, तर पहिलेदेखि नै यहाँ हाम्रो प्रतिस्पर्धा एमालेसँग हो, अस्ति मंसिरमा हामीले उसैलाई जितेर रामचन्द्र दाइ राष्ट्रपतिसमेत हुनुभयो’ आइतबार मध्यरातमा बल्लतल्ल प्रचार अभियानबाट छुट्टी पाएर हामीसँग कुराकानीमा बस्दै उनले भने, ‘म गाउँको मान्छे हुँ । हारजितबाट भागेर अन्त जाने मान्छे होइन । यहाँका गाउँलेहरुको भावनाभन्दा पर मेरो अर्को क्षेत्र नै छैन ।’

भट्टराईले जेसुकै दाबी गरे पनि उनको आक्रामक अभियान एमालेप्रति होइन, उनै वाग्लेप्रति लक्षित देखिन्छ । वाग्लेले उठाउन सक्ने सम्भावित एजेन्डाको पूर्वआकलन गरेकैले हुनुपर्छ, त्यसलाई काट्ने किसिमका प्रचार सामग्री बनाएको छ कांग्रेसले । भट्टराईलाई ‘अर्थशास्त्रका ज्ञाता,’ ‘स्थानीय मुद्दाहरुको भलिभाँती जानकार’, ’सिंहदरबारका कोठाचोटा घुमेर गाउँमा विकास ल्याउन खट्ने व्यक्ति’ का रुपमा प्रचार गरिएको छ । उनले संज्ञा नै पाएका छन् : पानी मान्छे ।

‘अहिलेसम्म ६७ वटा खानेपानी परियोजना ल्याउन सफल भएछु, मन्त्री सचिव लगायत मेरा साथीहरु छन्, तिनैलाई भन्दै कराउँदै हिँड्छु म’, कांग्रेस उम्मेदवार भट्टराईले भने, ‘कतिलाई लाग्दो हो, पानी पनि एजेन्डा हो र ? तर नपाएकालाई थाहा हुन्छ, कुन एजेन्डा सबैभन्दा ठूलो हो ।’

रास्वपाले दमौलीमा गरेको आमसभामा यसका केन्द्रीय नेताहरुले कटाक्ष गरे, ‘आजको जमानामा के को पानी मान्छे, स्कुल मान्छे, अस्पताल मान्छे ? स्मार्ट फोनको युगमा पनि कोही छुट्टै अलग्गै फोन डायरी, चिठीपत्र, गीत सुन्ने क्यासेट, फोटो खिच्ने क्यामेरा बोकिहिँड्छ र ? सबै काम एउटैले एकैपल्ट गर्नुपर्छ । त्यो गर्नसक्ने मान्छे स्वर्णिम वाग्ले हो ।’

यिनै शाब्दिक प्रहारहरुले देखाउँछन्, तनहुँ १ मा कसको भिडन्त कोसँग हुँदैछ ।

तर कांग्रेस र रास्वपाले सोचेझैं यो भिडन्त पूरा दुईपक्षीय मात्रै छैन । एमाले यहाँको शक्तिशाली पात्र हो ।

त्रिपक्षीय भिडन्त

एमालेले पूर्वआईजीपी सर्वेन्द्र खनाललाई उनको जन्मस्थान भएको क्षेत्रमा लड्न पठाएको छ । स्वास्थ्यले साथ दिएमा एमाले अध्यक्ष केपी ओली आफैं उनको प्रचारमा आउनेछन् । हाललाई कुनै बेला उनले बिर्खेटोपी लगाएर बोलेको तस्वीर यहाँका गाउँमा टाँगिएको छ ।

त्यो बिर्खेटोपी आदिकवि भानुभक्तको पहिचान हो । यही बिर्खेटोपी लगाएर ओलीले दुई वर्षअघि रामको जन्मस्थल नेपाल भएको दाबी गर्दै तत्कालीन नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई अप्ठेरो पार्न खोजेका थिए । ठोरीमा राम जन्मेको कुरा काल्पनिक आख्यान भए पनि चुँदीमा भानुभक्त जन्मेको कुरा प्रमाणित सत्य हो । एमाले उम्मेदवार सर्वेन्द्र खनालका लागि टाँगिएका प्रचार सामग्रीमा उनै ओलीको बिर्खे टोपी छापिनु आफैंमा रोचक कुरा थियो ।

चुँदी, रम्घा वरपर एमालेको प्रचार तुलनात्मक थोरै देखिए पनि संगठित देखिन्छ । डुम्रेबाट बेसीशहर जाने बाटोमा पर्ने भानु नगरका वडा, टोलहरुमा एमालेका संगठित कार्यकर्ताहरुका व्यवस्थित भेलाहरुले चितवन–२ मा गत मंसिरको चुनावताका आयोजित कृष्णभक्त पोखरेलका भेलाहरु सम्झाउँछन् । पर्याप्त कार्यकर्ता, अनि संगठित जनशक्तिका बीचमा हिँडिरहेका छन् सर्वेन्द्र खनाल । तर यत्तिका भरमा उनलाई चुनाव जित्न सहज हुने छैन ।

‘तनहुँमा जन्मेको, चुँदीखोलाको पानी खाएको उम्मेदवार हुँ’, व्यास नगरपालिका–११ जामुनेमा भेटिएका खनाल भन्छन्, ‘मलाई मतदाताले मेरो विगतको काम हेरेर पनि निर्वाचित गर्नेछन् ।’

प्रहरी महानिरीक्षक हुँदा धेरथोर विवादमा तानिएका खनाल आफ्नो त्यसबेलाका काममा गर्व गर्छन् । उनले ‘सिंघम’ का रुपमा तराईमा डाँकाहरुको इन्काउन्टर, सयभन्दा बढी भूमिगत सशस्त्र समूहको सफाया गरेको दाबीसहित एमालेले प्रचार गरिरहेको छ । विप्लव समूहदेखि सीके राउतलाई मूलधारमा ल्याउन खनालले सुरक्षा क्षेत्रबाट योगदान गरेको एमालेको दाबी छ ।

खनालको प्रचारमा खटिएका एमाले कार्यकर्ताहरु कांग्रेस, पूर्वकांग्रेस र इतरकांग्रेसबीच मत बाँडिँदा आफूहरुलाई लाभ पुग्ने आकलनमा छन् । कांग्रेस भन्नाले भट्टराई, पूर्वकांग्रेस भन्नाले वाग्ले, इतर कांग्रेस भन्नाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी । जोशी अझै पनि कांग्रेसको कारबाहीमै छन् । ‘कांग्रेसको भोट बाँडिँदा हामी जित्न झनै सहज हुन्छ’, भानु–४ का एमाले सचिव राजेश पन्थ भन्छन्, ’हाम्रो प्रतिस्पर्धा घन्टीसँगै हो ।’

नागरिक चासो अन्तै

लोकतन्त्र पट्यारलाग्दो व्यवस्था हो, जसले सुस्तरी आफ्नो यात्रा तय गर्छ । एसियाली विकास बैंकको सहयोगमा मुग्लिन पोखरा खण्डका झन्डै ७ हजार रुख छिटोछिटो काटिएका छन् । त्यहाँ पृथ्वी राजमार्ग फराकिलो बनाइदैछ । रुख काट्न सजिलो छ, हुर्काउन गाह्रो । लोकतन्त्रको रुख फास्ट ट्रयाकमा उम्रिँदैन । कहीँ पनि उम्रेको छैन ।

तर संसारैभरिका लोकतन्त्रमा योबेला अधीरता बढेको छ । त्यसकै गतिमा आर्थिक विकास, शासकीय सुधार र सेवा प्रवाहमा चुस्तता नहुँदा जहाँतहीँ नागरिक आक्रोश बढ्दो छ । त्यसलाई आ–आफ्नो पोल्टोमा पार्न नयाँ नयाँ पार्टी या अनुहारहरु सक्रिय छन् । उदार तानाशाहको खोजी बेलाबखत भइरहन्छ । नेपाल अपवाद छैन । ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ गीत राष्ट्रिय गीतकै दर्जा बराबर छ ।

यस्तै अधीरता छ, १० वैशाखको उपचुनावका तीन क्षेत्रमा पनि । बाराका उपेन्द्र यादव, पुरुषोत्तम पौडेल र शिवचन्द्र कुशबाहालाई छाड्ने हो भने यो चुनावका सबै मुख्य उम्मेदवार आफूलाई नयाँ बताइरहेका छन् । नयाँको आगमनप्रति नागरिकहरुको शंकाको लाभ हुने नै भयो । काठमाडौंमा आम चुनाव हारेर उपचुनावको मौका परीक्षा दिन बारा पुगेका रमेश खरेलदेखि काठमाडौंमै आम चुनाव हारेर आफ्नो गाउँको चुँदी खोला सम्झिन पुगेका सर्वेन्द्र खनाल यो चुनावका ‘नयाँ’ अनुहार हुन् ।

चुँदीखोला ।

पुरानाप्रति तिक्तता, अनि नयाँप्रति शंकाको सुविधा । तनहुँमा पनि यही शंकाको सुविधाले काम गरेको छ । डुम्रे बजारमा पोखरा ज्वेलरी चलाइरहेकी ५९ वर्षीया कमला विश्वकर्मा भन्छिन्, आजसम्म एमालेमा भोट दिँदै आइयो । अब चैं … ।’ उनी शब्द ओकल्दिनन् । बरु दाहिने हातको बुढी औंलालाई चोर औंलासँग जोड्छिन् । बाँकी औंलाहरु चोर औंलाकै सार मिलाएर खप्टिन्छन् । उनी तिनलाई केही चीज बजाएझैं गरी छिन्द्रिङ छिन्द्रिङ हल्लाउँछिन् ।

त्यो संकेत घन्टीको हो ।

कमलालाई घन्टी चिह्न बाहक रास्वपा उम्मेदवार स्वर्णिम वाग्लेको नामधरि थाहा छैन । तर उनका छोरा रोहितलाई थाहा छ । रोहित घन्टीलाई जिताउनुपर्ने माहोलमा मिस्सिइसकेका छन् । ढिलोगरी घर आउँछन् । ‘खास त मेरो घर माइत सबैतिर एमाले नै एमाले छन्’, कमला भन्छिन्, ‘छोराले भन्यो, त्यसैले यसपालि भोट फेर्दैछु ।’

बन्दीपुरकै एउटा पसलको कथा अझ रोचक छ । एमाले उम्मेदवार सर्वेन्द्र खनालले आफ्नो हस्ताक्षर भएको सामूहिक चिठी छाडेर गएका छन् । पुराना एमाले समर्थक पसलेको जिम्मा छ, ती चिठीहरु विभिन्न व्यक्तिलाई बाँडिदिनुपर्ने । उनी आफैं चाहिँ घन्टीमा भोट हाल्ने सुनाइरहेका थिए ।

हामी शनिबार कलेस्ती खोला काटेर माझफाँट कुमालगाउँ पुग्दा रास्वपा उम्मेदवार स्वर्णिम वाग्ले बन्दीपुरमा थिए । त्यसको भोलिपल्ट आइतबार दमौलीमा हुने चुनावी प्रचारका लागि उनले तयारी गर्ने समय छुट्याएका थिए । वाग्लेका लागि प्रचारमा खटिएका थिए प्रतिनिधिसभा सांसद सोविता गौतम र सन्तोष परियार । गाउँका महिला, वृद्धवृद्धा, अनि केही पुरुषहरु तिनलाई सुन्न आएका ।

‘हामी विकास र सुशासनको लहर लिएर आउँछौं, स्वर्णिम वाग्लेजस्तो नेता जिताएर पठाउनुहोस्’, गौतम बोल्दै गइन्, ‘सक्षम नयाँ पुस्ताले अब देश हाँक्छ ।’

ठूलो माइक लगाएर रास्वपा नेताहरु बस्तीहरुमा पुग्दैगर्दा सर्वसाधारणले न्यानो स्वागत गरेको देख्न सकिन्थ्यो । तर यत्तिको भरमा चुनाव जितिहालिन्छ भनेर ठान्न नहुने बताउँछन् भानु नगरपालिका–१ का २९ वर्षीय सुमन कुमाल । ‘जुुलुसका दिन थाहा हुन्छ, कसले चुनाव जित्छ भनेर’, उनी भन्छन्, ‘अहिले त जसले पनि भोट माग्छ, जसले पनि दिन्छु भन्छ ।’

सदरमुकाम दमौली र आसपासका बस्तीहरुमा कांग्रेसको चुनावी प्रचार जुलुस, मोटरसाइकल कार र्‍यालीहरुमार्फत चलिरहेको छ । उम्मेदवार गोविन्द भट्टराई, सांसद शंकर भण्डारीलगायत प्रचारमा खटिएका छन् । भट्टराई यो रिपोर्टिङ तयार पार्दासम्म ग्रामीण बस्तीतिर केन्द्रित छन् । सुगम भेगतिर केन्द्रित शंकर खासमा यही क्षेत्रबाट टिकट चाहन्थे । तर प्रदीप पौडेललाई काठमाडौं– ५ मा उम्मेदवार बनाएर शंकर तनहुँ २ बाट उठे र जिते । आउँदो चुनावमा उनको चाहना तनहुँ–१ मै आउने छ । यस्तै चाहनाबीच उनी भट्टराईको प्रचारमा खटिँदा कार्यकर्ता मनोविज्ञान पनि विभाजित हुन सक्ने देखिन्छ ।

मध्यमवर्गको रुझान

गत मंसिरमा पनि रास्वपाले तनहुँ– १ मा उम्मेदवारी नदिएको होइन । स्वयं रवि लामिछाने आएर तनहुँ– १ मा विकास सिग्देलका लागि मत मागेका थिए । त्यस बेला कांग्रेसबाट रामचन्द्र पौडेलले २५ हजार तीन सय मत पाएर जित्दैगर्दा चौथो मत पाएका सिग्देलले ६ हजार मत पाएका थिए । समानुपातिकतर्फ भने यहाँ रास्वपा १२ हजार ७ सय मतसहित तेस्रो भएको थियो । एमाले उम्मेदवार एकबहादुर रानाले त्यस बेला १९ हजार ९ सय मत पाएका थिए ।

मतको रुझान हेर्दा त्यस बेला ग्रामीण तह र आधारभूत वर्गका मतदाताले बढी रास्वपा रुचाएको देखिन्थ्यो । शहरिया मध्यमवर्ग भने कांग्रेस, एमाले, अनि गोविन्दराज जोशी पक्षका उम्मेदवारतर्फ बढ्ता ढल्केको देखिन्थ्यो ।

अहिले उपनिर्वाचनमा वाग्लेको प्रवेशसंगै रास्वपाले उक्त जनमत आफूतिर खिच्दै लगेको प्रष्ट भान हुन्छ । अनलाइनखबरको टिमले तीन दिनसम्म तनहुँ– १ का अलग अलग ठाउँका मतदातासँग कुरा गर्दा थाहा लाग्यो, शहरिया वर्ग, अनि बुद्धिजीवि वर्ग वाग्लेका एजेन्डाहरुसँग एकत्रित हुँदैछ । दमौलीको अनसन चौतारी नजिकै स्थानीय रामचन्द्र बस्नेतले चियागफका क्रममा भने, ‘पहिलोपल्ट यहाँ कसैले विकासको एजेन्डामा बहस गर्‍यो । एक अर्कालाई हिलो छ्यापाछ्याप गरेको सुनिएन । नत्र यहाँ पार्टीका एजेन्डा होइन, गालीगलौज सुनिन्थे ।’

तनहुँको चुनावलाई नजिकैबाट हेरिरहेका विश्लेषक दिनकर नेपाल भन्छन्, ‘यसअघिसम्म रास्वपाले खाडीतिर गएका मजदुरको पीरमर्का सम्बोधन गर्छ भन्ने थियो, अहिले स्वर्णिम वाग्लेको प्रवेशले रास्वपातिर बुद्धिजीवि वर्गको पनि भरोसा बढेको देखियो ।’

भोट काटिन्छ, तर कसको ?

तनहुँ– १ का जुनै चुनावमा पनि गोविन्दराज जोशीको चर्चा छुट्दैन । यहाँका कांग्रेसहरुका लागि उनी सधैं एउटा पक्ष हुन् ।

उपचुनावमा गोविन्दका आफ्ना उम्मेदवार छैनन् । छोरा दीपकराज जोशीले चुनावमा आफ्नो विवेक प्रयोग गर्न स्थानीय मतदातालाई आग्रह गरे पनि उनी आफैं चाहिँ रास्वपाका स्वर्णिम वाग्लेकै पक्षमा मत मागिरहेका भेटिन्छन् । गोविन्दराज जोशी आफैंले खुला घोषणा नगरे पनि वाग्लेका लागि लचिलो भएको संकेत गरिरहेका छन् । हामीले दीपकलाई सोध्यौं, ‘यसपल्ट तपाईंको उम्मेदवार को हो ?’

उनी फिस्स हाँसे । ‘हाम्रो उम्मेदवार को हुन्छ र ? हामी त स्वतन्त्र । हाम्रो उम्मेदवार पनि स्वतन्त्रै टाइपको हुन्छ’, उनले जवाफ दिए ।

एमालेले वाग्ले र भट्टराईको मत बाँडिँदा आफू माथि आउन सक्ने ठानेको छ । कुनै एउटा उम्मेदवारप्रति लहर चल्यो भने यसअघिका कुनै पनि समीकरण र मत तथ्यांक विश्लेषणले काम गर्ने छैनन् । नत्र तनहुँमा त्रिपक्षीय भिडन्त नै हुने छ ।

तनहुँको उपचुनाव यिनै रोचक आयामहरुको संयोग बन्न जाँदै छ । उही मुग्लिन पोखरा खण्डमा धुलो भिजाउँदै हिँड्ने ट्यांकरमा लेखिएझैं : यसपल्ट तनहुँमा मतदाताको मुड माया र मौसमजस्तै छ । यो कथं बदलियो भने राष्ट्रपति पौडेल समेत छक्क नपरे हुन्छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

हेर्नुहोस् भिडियो

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?