+
+
स्थलगत :

उपेन्द्र यादवले उतारेको शक्ति

२०६४ को मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्रलाई उपनिर्वाचन जित्न यो तहको शक्ति प्रदर्शन गर्नुपर्ने दबाव भने जनमत पार्टीले सिर्जना गरेको हो । स्थानीयको बुझाइमा पनि जनमत पार्टीका अध्यक्ष सीके राउत र त्यो दलका उम्मेदवार शिवचन्द्र कुशवाह नै उपेन्द्रका निम्ति चुनौती बनेका छन् ।

सागर चन्द शैलेन्द्र महतो सागर चन्द, शैलेन्द्र महतो
२०८० वैशाख ५ गते २०:५३

५ वैशाख, महागढीमाई (बारा) । चर्को गर्मीको पसिनाले भिज्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, बारा–२ का मतदातासम्म पुगिरहेका छन् । आफ्नो परिचय दिएरै मत मागिरहेका यादव गर्मीमा पनि ऊर्जा आइरहेको बताउँछन् । ‘मेरा लागि चुनाव जनताले लडिरहेका छन् । जनताको यो लगाव देखेर मलाई पनि ऊर्जा आइरहेछ’, यादव भन्छन् ।

तर उनको दौडधुप र नेताहरुको बाक्लो उपस्थितिले भने यादवले भनेजस्तो १० वैशाखको उपनिर्वाचन जनताले लडिरहेका छैनन् । बरु यादवलाई जिताउन नेताहरुले राजनीतिक प्रतिष्ठाकै विषय बनाएका छन् । सोमबार महागढीमाई नगरपालिकाको बबुआइन गाउँमा उम्मेदवार यादवसँग जसपाका नेताहरु मात्रै सहभागी थिएनन् । महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादव सहित कांग्रेस नेताहरु अजय चौरसिया, उमाकान्त चौधरी, राजेश राय यादव, लगायतले मत मागिरहेका थिए । चौरसिया प्रदेशसभा सदस्य र यादव कांग्रेस बारा जिल्ला सभापति हुन् ।

उपेन्द्र यादवलाई साथ दिने पाँचदलीय गठबन्धनमध्ये कांग्रेस ठूलो शक्ति हो । गत मंसिरकै चुनावमा पनि जसपा पहिलो शक्ति बन्दा कांग्रेस दोस्रो शक्ति हो । अहिले यादवलाई कांग्रेस, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका छन् । जसपाका एक स्थानीय नेताका अनुसार, सकेसम्म धेरै मत ट्रान्सफर गराउनुपर्ने भएकाले कांग्रेस नेताहरुलाई बढी चासो दिइएको हो । मंगलबारकै दृष्यले पनि यादवको प्राथमिकता कांग्रेस नेता तथा कार्यकर्ता रिझाउनमा देखिन्छ ।

चुनावी प्रचारका क्रममा मंगलबार यादवले खाजा समेत कांग्रेसकै नेताहरुसँग खाइरहेका थिए । जसपाका कार्यकर्ताले अलग्गै बसेर दही, चिउरा र तरकारी खाइरहँदा यादवले भने कांग्रेस कार्यकर्तासँग बसेर रोटी तरकारी खाए । ‘कांग्रेस कार्यकर्ताहरु चुनावमा त हिँड्छन्, तर भोट दिँदैनन्’, कांग्रेस प्रवृत्तिबारे जसपाका एक स्थानीय नेताले भने ।

गत मंसिरको चुनावमा कांग्रेससहित पाँच दलीय गठबन्धनबाटै माओवादी केन्द्रका शिवचन्द्र कुशवाह यही क्षेत्रबाट पराजित भएकाले पनि उनको त्यस्तो आशंका रहेको बुझ्न सकिन्छ । त्यसबेला नेकपा एमालेसँग तालमेल गरेका जसपाका रामसहायप्रसाद यादवले झिनो अन्तरले जितेका थिए । रामसहायलाई उपराष्ट्रपति बनाएर पार्टी अध्यक्ष यादव उपनिर्वाचनको उम्मेदवार छन् ।

यो उपनिर्वाचनमा उपेन्द्रसँग एमालेको साटो पाँचदलीय गठबन्धन छ । गठबन्धन बदलेका यादव भन्छन्, ‘कांग्रेस र सबै गठबन्धन दलका साथीहरु एकसाथ छौं । एक साथ रहन्छौं । अन्तर्घात कसका लागि गर्ने ?’ अर्थात् सार्वजनिक अभिव्यक्ति मार्फत् यादव गठबन्धनको मत बढाउनमै केन्द्रित छन् । मत माग्ने क्रममा उपेन्द्रले आफ्नो प्रतिस्पर्धी समेत नदेखेको बताउने गरेका छन् । जबकी मत माग्ने नेताहरुको परिचालन संख्या हेर्दा चाहिँ ठीक उल्टो मनोविज्ञानमा उनी रहेको अनुमान लगाउन सकिन्छ ।

यादवले अहिले आफ्नो पूरा पार्टी शक्ति बारा–२ मा परिचालित गरेका छन् । मधेश प्रदेशको नेतृत्व गरिरहेका जसपाका मुख्यमन्त्रीदेखि सबै मन्त्री चुनावी अभियानमा यही क्षेत्रमा खटिएका छन् । उपेन्द्र सँगसँगै छन्, मुख्यमन्त्री सरोज यादव र अर्थमन्त्री सञ्जय यादव । सामाजिक विकास मन्त्री सुरिता साह समेत चुनावी अभियानमै छिन् । सरकारी झण्डावाल गाडी होटलमा राखेर प्रदेश सरकारका मन्त्रीहरु निजी गाडीमा दिनभर मत मागिरहेका छन् ।

पूर्व मुख्यमन्त्री लालबाबु पनि चुनावी मैदानमै छन् । सांसदहरु लगभग सबै परिचालित छन् । चुनावी अभियानमै जसपाका उपाध्यक्ष रेणु यादव यो क्षेत्र पुगेकी छन् । प्रदेश सांसद ललित विद्रोही मैदानमै छिन् । बारा–२ (ख) बाट स्वतन्त्र उठेर प्रदेशसभा सदस्य जितेका शारदा शंकर कलवार फेरि जसपा प्रवेश गरी उपेन्द्रलाई मत मागिरहेका छन् ।

बारा–३ मा पर्ने सदरमुकाम कलैयालाई मुकाम बनाएर हरेक दिन जसपाका नेताहरु उपनिर्वाचनमा परिचालित छन् । गठबन्धनका अरु दलका नेता तथा कार्यकर्ता समेत यस क्षेत्रमा आएका छन् ।

गत २३ चैतमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उपेन्द्रलाई सार्वजनिक मञ्चबाट मत मागे । आगामी ७ वैशाखमा उपेन्द्रको पक्षमा माहोल बनाउन प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत शीर्ष नेताहरु महागढीमाई आउने कार्यक्रम तय भएको छ ।

२०६४ को मधेश विद्रोहबाट राष्ट्रिय राजनीतिमा उदाएका उपेन्द्रलाई उपनिर्वाचन जित्न यो तहको शक्ति प्रदर्शन गर्नुपर्ने दबाव भने जनमत पार्टीले सिर्जना गरेको हो । स्थानीयको बुझाइमा पनि जनमत पार्टीका अध्यक्ष सीके राउत र त्यो दलका उम्मेदवार शिवचन्द्र कुशवाह नै उपेन्द्रका निम्ति चुनौती बनेका छन् ।

‘मलाई हराउन लाग्नु (सिके राउतलाई) जागिर भएको छ । कसले उहाँलाई जागिर दिएको छ’, उपेन्द्रले कार्यकर्तासँग भन्ने गरेका छन् । गत मंसिरको चुनावमा सप्तरी–२ मा आफूलाई हराउने जनमत पार्टीका अध्यक्ष राउत यहाँ पूरा शक्ति लगाएर खटिएकाले उपेन्द्रले यस्तो अभिव्यक्ति दिने गरेका हुन् ।

प्रचार सामग्रीले पनि उपेन्द्रसँग प्रतिस्पर्धा जनमत पार्टीका उम्मेदवार कुशवाहकै हुँदैछ । सडकमा टाँसिएका पर्चा पम्पलेटहरुमा एउटा बुझिने प्रवृत्ति छ, जहाँ जनमतको चुनाव चिह्नको पर्चा, फ्लेक्स, झण्डा टाँगिएको छ, त्यहीँ जसपाले पनि राखेको छ । जहाँ उपेन्द्र यादवको तस्विर अंकित ठूलो पोष्टर वा फ्लेक्स टाँगिएको छ, त्यहीँ सिके राउतलाई पनि देख्न सकिन्छ । मानौं प्रतिस्पर्धा उपेन्द्र भर्सेस सिके राउतबीच भइरहेको छ ।

चुनाव जित्नेमा उपेन्द्र विश्वस्त छन् । ‘प्रतिस्पर्धी खोज्दै हिँड्दा पनि भेटिँदैन । जहाँ जनताले अपार माया देखाइरहेका छन् त्यहाँ केको प्रतिस्पर्धा,’ मंगलबार चुनावी अभियानका क्रममा पसिना पुछ्दै उपेन्द्रले भने, ‘सीके राउतले फर्जी कुरा गरिराख्या छन् । आफू नै उम्मेदवार हुँ भनेजसरी प्रचार गर्या छन्, जनतालाई ढाँट्या छन् ।’

जनसांख्यिक अवस्था

उपेन्द्रले आफूले जित्ने विश्वासको अर्को आधार भने यो क्षेत्रको जनसांख्यिक अवस्था हो । कूल १ लाख ५ हजार मतदाता रहेको यो क्षेत्रमा १७.७ प्रतिशत यादव छन् । यो भनेको मतदाताको ठूलो हिस्सा हो । यो हिस्सा र मुस्लिम समुदाय बाहेकका मतदातालाई ‘पचकुनिया’ भनेर अर्थ्याइन्छ । उपेन्द्रको चासो अहिले यिनै पचकुनियामा समेत गएको छ ।

यसबाहेक जनमत पार्टी र सिके राउतले यो क्षेत्रकै उम्मेद्वारलाई मत दिन आह्वान गरिरहेकाले त्यसको प्रतिवादमा उपेन्द्र उत्रिएको देखिन्छ । ‘बहरिया भनेको कहाँ को ?,’ यादव उल्टै प्रश्न गर्छन्, ‘आफ्नै देशको नागरिक आफ्नै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिकले लिएर आएको भाडाको उम्मेदवार बाहिरिया हुन्छ ?’

बाहिरिया र भित्रियाको यो बहसबीच रोचक कुरा के छ भने उपेन्द्र यादव भोजपुरी भाषा बोल्न पोख्त छैनन् । मैथिली भाषा बहुल क्षेत्रबाट चुनाव जित्दै आएका यादवले अहिले चुनाव लडिरहेको बारा २ भोजपुरी भाषा बोलिने क्षेत्र हो । घरदैलो अभियानका क्रममा यादव भोजपुरीमा नभई हिन्दी भाषा बोल्छन् ।

भाषाले चुनावी प्रचारप्रसारमा असर गरेको छैन भन्छन् यादव । ‘भनिन्छ नि, लभ र वारमा भाषाले रोक्दैन । बोल्नै नजाने पनि, भाषै नबुझे पनि प्रेम त हुन्छ,’ यादवको तर्क छ ।

उपेन्द्र यादवले उतारेको यो शक्ति र सिके राउतको उदयबिच मतदाताहरु कसलाई छान्ने भनेर सोचविचार गरिरहेका छन् । विकास, रोजगार, शिक्षा, स्वास्थ्य उनीहरुको माग छ । महागढीमाई नगरपालिका–४ का शिवा पासवान भन्छन्, ‘छाता र हरनको कडा प्रतिस्पर्धा छ । जसले रोजगार दिन्छ, उसैलाई मत दिन्छु ।’

महागढीमाई ८ जोलगवाको घरदैलोमा पुगेका उपेन्द्र यादवलाई त स्थानीय वकिल प्रसाद यादवले भने, ‘तपाईं आएको रोड देख्नु भएकै छ त्यो सुधार गर्दिनुहोस्, स्कुलमा कम्पाउण्ड लगाइदिनुहोस् ।’

बारा २ बाट उपनिर्वाचन लडिरहेका उपेन्द्र यादवसँग अनलाइखबरले गरेको संक्षिप्त कुराकानी :

कस्तो छ चुनावी माहोल ?

जनतामा अत्यन्त उत्साह र उमंग छ । चाडपर्व आएजसरी जनताले चुनावलाई लिएका छन् । मैले अपार श्रद्धा सहानुभूति पनि पाइरहेको छु ।

गठबन्धनमा अघिल्लो पटकजस्तै यसपटक पनि भोट ट्रान्सफर हुँदैन भन्ने गुनासो सुनिन्छ नि ?

होइन, यो आशंका नगरे हुन्छ । कांग्रेस, सबै गठबन्धन दलका साथीहरु एकसाथ छौं, एकसाथ रहन्छौं । अन्तर्घात कसका लागि गर्ने ? कुनै सम्भावना र आवश्यक्ता पनि छैन ।

तपाईंलाई त यहाँ बाहिरिया उम्मेद्वार भन्ने रहेछ ?

बाहिरिया भनेको कहाँको ? त्यही देशको नागरिक त्यही देशभित्र बाहिरिया र भित्रिया कसरी भयो ? यो जिल्लाको त्यो जिल्लाको, यो जात, त्यो जातको, यो टोल, त्यो टोलको भनेर सिद्धान्त, वैचारिकता र नैतिकता नभएका मान्छेले मात्र भन्छन् ।

जनमतलाई मधेश सरकारमा सँगै राख्नु भएको छ । यहाँ भने प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ?

हामी प्रतिशोधका, असहिष्णुताका, घृणा र विद्वेषका राजनीति गर्दैनौं भन्ने कुराको प्रमाण हो यो ।

जित्ने आधार के–के छ तपाईंको ?

सबै पार्टी हामीसँगै छौं । जनता एकजुट छन् र जनतामा जुन उत्साह, ऊर्जा छ । जित्ने आधार भनेको जनता नै हो ।

यहाँ कतिपय मतदाताले स्थानीय उम्मेदवारलाई नै भोट दिने भन्ने मनस्थिति बनाएको देखिन्छ । यस्तोमा तपाईंलाई गाह्रो हुँदैन ?

हुँदैन, किनभने हामी मधेशका मान्छे । मधेशमै चुनाव लडिरहेका छौं भने के गाह्रो हुन्छ ?

चुनावमा जातीय राजनीति गर्नुहुन्छ भनेर आरोप लागिरहन्छ नि ?

हामी जातीय राजनीति गर्दैनौं । हामी समाजवादी सबै जातजातीलाई लिएर अगाडि बढ्छौं । यहाँ हेर्नुस् यता यादव, उता थारु, उत्ता चौरसिया । सबै जातीलाई लिएर हामी हिँडिरहेका छौं । अब कुन जातीको राजनीति भन्ने यहाँ ? केही बिचारहीन सिद्धान्तहीन र नैतिकताहीन भएका राजनीतिक चरित्र नभएका व्यक्ति मधेशमा एउटा जातलाई अर्को जातसँग जातीय घृणा फैलाउने, एउटा जातलाई अर्को जात विरुद्ध उचाल्ने र जातीय अन्तरद्वन्द्वको विषलाई मधेशमा घोल्ने र मधेशी समुदायलाई पराधिन बनाइराख्ने कसैको साजिस हुन सक्छ ।

सत्तामा पुग्दा एजेण्डा बिर्सिनु हुन्छ भन्ने आरोप लाग्ने गरेको छ तपाईंमाथि के भन्नुहुन्छ ?

सत्तामा हुँदाखेरि नै मैले संविधान संशोधन गर्ने प्रस्ताव क्याबिनेटमा लगेको हुँ । जसमा संविधान संशोधन गरेर आवश्यक मुद्दालाई सम्बोधन गर्ने तिर लागेँ र अस्वीकृत हुनेबितिकै एक सेकेण्ड पनि सरकारमा नबसेर राजीनामा गरेका हौँ ।

लेखकको बारेमा
सागर चन्द

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?