+
+
उपचुनाव वार्ता :

‘तनहुँमा मेरो प्रतिस्पर्धा एमालेसँग’

चुनावमा प्रतिस्पर्धा हुनु त स्वाभाविकै हो तर यो अस्ति पनि हामीले जितेकै क्षेत्र हो । अनि म पनि यही जिल्लाका गाउँघर, मतदाता, कार्यकर्ता, अन्य दलका बीचमा पनि भिजिरहेको हुनाले मलाई अलि सजिलो पर्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते २०:३५

५ वैशाख, तनहुँ । तनहुँ–१ मा त्रिपक्षीय प्रतिस्पर्धाका कारण १० वैशाखको उपचुनाव रोचक बन्ने देखिएको छ । कांग्रेस नेता गोविन्द भट्टराई यहाँ आफ्नो दलको उम्मेदवार छन् । उनले रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनालसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

चरम चुनावी व्यस्तताबीच अनलाइनखबरसँग कुरा गर्न बस्दा रातिको साढे १२ बजेको थियो । भट्टराईसँग बसन्त बस्नेतले गरेको कुराकानी :

चुनावमा हार–जित आफ्नै ठाउँमा छ, तर कांग्रेसबाट टिकट पाउनु नै महाभारत भयो होइन ?

हाम्रो पार्टी पुरानो भएकाले यस्तो भएको हो । धेरै मान्छे काम गरेका हुनुहुन्छ । प्रतिस्पर्धा अरू पार्टीमा भन्दा धेरै छ ।

तपाईं निकटस्थहरूले तपाईंमाथि अहिलेसम्म कांग्रेसमा न्याय हुन सकेन भन्दै आउनुभएको थियो । यसपल्ट चाहिं उम्मेदवारी मिलेछ !

न्यायभन्दा पनि अवसर प्राप्त भयो । रामचन्द्र (पौडेल) दाइ राष्ट्रपति भएका कारणले रिक्त स्थानमा अवसर प्राप्त भएको हो । उहाँ राष्ट्रपति नभएको भए त फेरि अर्को निर्वाचनसम्म कुर्नुपर्थ्यो ।

चुनावी प्रतिस्पर्धाको अवस्था चाहिं कस्तो छ त ?

चुनावमा प्रतिस्पर्धा हुनु त स्वाभाविकै हो तर यो अस्ति पनि हामीले जितेकै क्षेत्र हो । अनि म पनि यही जिल्लाका गाउँघर, मतदाता, कार्यकर्ता, अन्य दलका बीचमा पनि भिजिरहेको हुनाले मलाई अलि सजिलो पर्छ ।

तपाईं आफैंले मुख्य प्रतिस्पर्धी कसलाई सोच्नुभएको छ ?

अहिलेसम्म त मुख्य प्रतिस्पर्धी एमाले नै हुन्छ भन्ने लाग्छ मलाई ।

यसपटक त राष्ट्रिय स्वतन्त्र पार्टी पनि आएको छ त प्रतिस्पर्धीका रूपमा ?

बहुदलीय व्यवस्थामा धेरै दलले चुनाव लड्ने हो । पार्टीले टिकट दिन्छ, त्यसलाई मतदाताले अनुमोदन गर्ने हो । खाली भएको ठाउँमा चुनाव लड्न आउनु स्वाभाविकै हो ।

कांग्रेस परित्याग गरेको पात्र त्यहाँ जाँदा तपाईंलाई र यहाँका मतदाताको मनोविज्ञानमा कस्तो प्रभाव पर्ला ?

नेपाली कांग्रेस त समुद्रजस्तो, ठूलो नदी जस्तो हो, भँगालाहरू आउँछन्, छुट्टिन्छन् । पार्टी स्थापनादेखि अहिलेसम्म धेरै मान्छे आए, गए । तर, जति मान्छे आए तिनको राम्रै फाइदा भएको छ, जति मान्छे गए उनीहरूको क्षणिक फाइदा भयो होला । इतिहासलाई हेर्दा जो–जो कांग्रेसबाट अन्यत्र गए, उनीहरूको नोक्सानै भएको म देख्छु ।

कांग्रेसले प्रायः यहाँबाट जितिरहन्छ । अझै उसैलाई मत किन ?

नेपाली कांग्रेस तनहुँ–१ मात्रै होइन, देशकै आवश्यकता हो । हाम्रो प्रतिस्पर्धीका रूपमा धेरै आए । तर, निर्णायक परिस्थितिमा जहिले पनि नेतृत्व कांग्रेसले नै गर्छ— चाहे त्यो संविधानको होस्, चाहे आन्दोलनको होस् । आर्थिक नीतिदेखि विकास नीति बनाउनेसम्म जति पनि नीति निर्माण भएका छन्, कांग्रेसकै नेतृत्वमा भएको छ । कमी–कमजोरी भए होलान्, कांग्रेस पार्टी कसैको प्रतिस्पर्धी पनि भेट्नुहुन्न ।

लोकतन्त्रलाई मान्छेहरूले अहिले सुशासन, शासकीय सेवा प्रवाह, डेलिभरीसँग जोडेर हेर्न थालेका छन् । जेलनेल, संघर्षको इतिहास सँगसँगै भविष्यका लागि के गर्ला भनेर छलफल गर्न थालेका छन्, यसको जवाफ दिने ठाउँमा आफूलाई कहाँनेर पाउनुहुन्छ ?

यो त एउटा हल्ला मच्चाउने काम मात्रै हो । त्यसैले मैले यसको जवाफ दिनुभन्दा पनि तपाईंहरूले नै त्यसको जवाफ खोज्नुपर्ने हुन्छ । अस्ति २०५८/५९ मा राजाले टेकओभर गरेका बेला राजनीतिमा जेल बस्नेहरू चाहिंदैन भनेको भए आज देशमा कसको शासन सत्ता हुन्थ्यो ? ज्ञानेन्द्रकै हुन्थ्यो होला नि ! त्यो बेला लोकतान्त्रिक गणतन्त्रका लागि लड्दिन त यिनै मान्छेहरू चाहिएको थियो नि !

फल लगाउने र फल खानेका बीच अन्तर हुन्छ । फल लगाउने, हुर्काउने, फल लागिसकेपछि त जसले पनि टिप्न सक्छ । अहिले एक प्रकारमा कस्तो प्रचार गरिएको छ भने जेल बस्नु बेकार कुरा हो, फल खानु राम्रो कुरा हो । अर्काले फलाइदिएको खाँदा ज्यादा मीठो हुन्छ होला ।

आज पनि लोकतन्त्र राम्रोसँग चलेको छ कि छैन, आज पनि संविधानमाथि संकट आएको छ कि छैन भन्ने कुरा हामी छोडिदिन्छौं । मलाई पनि लागेको थियो नि त २०४६ को आन्दोलन, २०४७ को संविधानपछि अब के संघर्ष गर्नु, अब त अरू काम गर्ने हो । २०५८÷५९ मा पुग्दा त्यो त होइन रहेछ भन्ने पुष्टि भयो ।

तपाईंलाई लोकतन्त्र अझै पनि खतरामा छ भन्ने लाग्छ ?

हाम्रो जस्तो देशमा लोकतन्त्रमाथि खतरा आइरहँदो रहेछ । २००७ सालमा ल्याएको उपलब्धि २०१७ सालमा खोसियो, प्रधानमन्त्री र मन्त्रीहरूलाई थुनिएको छ । २०६१ सालमा सबै मिडिया बन्द गरिएको होइन ? हामीलाई घर–घर छापा मारिएको होइन ? भलै त्यो सफल भएन होला । आज जेल बस्नु मूर्ख कुरा भनिराखिएको छ । ८÷१० कक्षा पढ्नुभयो भने त्यो हिस्ट्री हुनुपर्छ तर संघर्षको कुनै मूल्यमान्यता हुनुहुँदैन भन्ने जुन सन्देश दिन खोजिएको छ यसले लोकतन्त्र र संविधानलाई राम्रो गर्दैन ।

यति धेरै मानिस विदेश गइरहेका छन्, यति धेरै रोजगारीको समस्या छ, यत्रो वर्षदेखि नेपाली कांग्रेस, एमाले, माओवादी सरकारमा छ तर के भयो त भनेर नागरिकले भनिरहेका छन् । पक्कै पनि यी समस्या समाधान रातारात त हुँदैनन्, लोकतन्त्रवादीले यी प्रश्नको जवाफ दिनुपर्छ कि पर्दैन ?

ममा अलि धेरै धैर्य छ । म अमेरिका बसें भने ५ वर्षमै मेरो देश अमेरिका जस्तै बनाउँछु, हुन्छ भनेर म विश्वास गर्दिनँ । त्यहाँ बस्नेहरूलाई त देश त्यस्तै चाहिएको छ नि ! त्यो अमेरिका बन्नलाई कति पुस्ताले काम गरेको छ, कति लामो लोकतन्त्रको इतिहास छ भनेर बुझ्नुपर्छ । के अमेरिकामा गृहयुद्ध भएन ? त्यहाँ आदिवासी र अरूबीच मारकाट भएका होइनन् ? अहिले अमेरिका घुम्ने मान्छेले त्यो इतिहास त देख्दैनौं नि ! वाह् अमेरिका ! क्या राम्रो, हाम्रो देश पनि यस्तै हुनुपर्‍यो । त्यो सोच्न सकिन्छ तर त्यो सँगसँगै कसरी भन्ने पनि आउनुपर्‍यो नि !

तपाईं अर्थ–राजनीतिक मुद्दामा अभिरुचि पनि राख्नुहुन्छ, कुनै पनि देशका लागि १० वर्ष महत्वपूर्ण समय हो, लाओस, भियतनाम जस्ता ठिकठिकैका देशले पनि १० वर्षमा फड्को मारेका छन्, सिंगापुरले १५ वर्षमा फड्को मार्‍यो, नेपाललाई चाहिं किन यत्रो समय लागेको भनेर प्रश्न आउँदा त अमेरिका युरोपसँग मात्रै नदाँजेर हाम्रै वरपरका देशसँग पनि दाँजौं न ?

दाँजौं तर त्यसका लागि स्थिरता पनि त यहाँ दिनुपर्‍यो । त्यही अनुसार देशको सन्तुलन मिलाउनुप¥यो । दुई ठूला देशको बीचमा छौं, देशलाई सन्तुलित हिसाबले लैजाने क्षमता, परराष्ट्र नीति पनि हुनुपर्‍यो । अर्को कुरा के छ भने जति पनि देशहरू बनेका छन्, आफ्नै स्रोत, साधन र पैसाले मात्र बनेको छैन । एउटा यस्तो चरण आउँछ, जहाँ ठूलो मात्रामा लगानी गर्नुपर्छ । अथवा तत्काल बिक्री हुने प्राकृतिक स्रोत हुनुपर्छ ।

हाम्रो हाइड्रोपावरजस्तो ५/१० वर्ष सर्वेक्षणमा लगायो, बनाउन १० वर्ष लगायो, त्यस्तो नभइकन सजिलै बिक्री गर्ने स्रोत हुनुप¥यो । कतै मूल भेटियो भने तेलको भटाभट प्रशोधन गरेर बेच्न सक्नुहुन्छ । कि त्यस्तो स्रोत हुनुप¥यो कि होइन भने विकासका लागि समय लाग्छ । भन्न त स्वीट्जरल्याण्ड बनाउने कुरा आए, सिंगापुर बनाउने कुरा पनि आए । अहिले पनि आइरहेको छ ।

देशको विकास गर्नका लागि कसरी पूँजीको निर्माण गर्नुहुन्छ, कसरी अर्थतन्त्र मजबुत गराउनुहुन्छ भन्ने हो । आखिर देश पनि घर चलाएजस्तै त हो, प्रशस्त पैसा भयो भने तपाईंले कार किन्न सक्नुहुन्छ, जहाज राख्न सक्नुहुन्छ, महँगा ठाउँमा बस्न सक्नुहुन्छ । सानो अर्थतन्त्र छ, तर ठूलो परिकल्पना गर्नुहन्छ भने त त्यसले के निम्त्याउला ?

उडान मात्रै त हो यो । जुन जुन दल आए, उम्मेदवार आए, कोही अर्थशास्त्री आए, अहिले पनि भनिरहेका छन् । यो बनाउँछु, ऊ बनाउँछु, सबैथोक बनाउँछु भन्नेलाई एउटा प्रश्न सोधौं त, पैसा कहाँबाट ल्याउनुहुन्छ भनेर, के जवाफ आउँदो रहेछ ।

नागरिक तहमा जुन खालको निराशा बढ्दैछ नि, तपाईंकै घरकै कान्छो पुस्तालाई सोध्नुभयो भने पनि यो देशमा सम्भावना छ र भन्न सक्छ । उनीहरूलाई कसरी आश्वस्त पार्ने हो ?

म त धेरै आशावादी मान्छे हुँ । पञ्चायतको दुर्दिनमा पनि यो देश बनाउन सकिन्छ भनेर राजनीतिमा लागेको मन्छे हुँ । यो देश नबन्न सक्ने होइन, बनाउन सकिन्छ, समय लाग्ला । संसारमा जति पनि देश बने, ती छोडेर जानेले बनाएको हो र ? त्यहींभित्र संघर्ष गरेर बस्नेले त बनाएको हो ।

अनि यहाँ विदेश जानु छ भने यो देश कामै छैन भनिन्छ । आधुनिक देशको रहनसहन, आम्दानी उसलाई चाहिएको छ तर के भन्छ भने नेपालमा कुनै सम्भावना नै छैन । यो चाहिं बडो विरोधाभास लाग्छ । यहाँ सम्भावना नभएर होइन कि उता फाइदा भएर मान्छे विदेश जान्छ ।

तपाईंले प्रतिस्पर्धीलाई इंगित गर्नुभएको ?

होइन, प्रतिस्पर्धीलाई किन इंगित गर्नुपर्‍यो ? म बहुदलीय व्यवस्था स्थापनामा लागेको मान्छे हुँ, एउटै मान्छे चुनाव लडेर जित्ने, म त्यो विचार बोकेको मान्छे होइन । बहुदलीय व्यवस्थामा जति धेरै उम्मेदवार उति राम्रो र धेरै दलका बीच चुनाव लड्न पाउनु त खुसीको कुरा हो ।

जना उम्मेदवार छन्, पार्टीको हिसाबले त अगाडि भन्नुभयो, व्यक्तिका हिसाबले आफूलाई कहाँनेर पाउनुहुन्छ ?

व्यक्तिप्रधान कि नीति, विधि प्रधान भन्ने हामीकहाँ बहसमै छ । सिद्धान्त प्रधान हो कि मान्छे प्रधान हो भन्ने पनि छ । सिद्धान्त आफैंले प्रतिपादित गर्ने मान्छे हो कि अर्काले प्रतिपादन गरेको सिद्धान्तमा हिंड्ने मान्छे हो ? यो चाहिं समाजमा उठिराख्ने प्रश्न हुन् । प्रतिस्पर्धामा चाहिं लेबल के हो ? मतदाताको सोच के छ ? भन्ने हुन्छ ।

मैले अघि भने नि, डेमोक्रेसी खतरामा छ भने कस्तो प्रतिस्पर्धी राम्रो हो ? डेमोक्रेसी एकदमै फस्टाएको छ, भयंकर डेभलपमेन्ट भयो भने कस्तो प्रतिस्पर्धी राम्रो होला ? डेमोक्रेसी बलियो हुँदा त जसले पनि आएर अवसर लिन सक्छ । आज पनि कतिपय देश छन्, जहाँ अर्कै देशमा गएर प्रधानमन्त्री, राष्ट्रपति पनि भएका छन् । देशको परिस्थिति, जनताको सोचाइमा भर पर्ने कुरा हो प्रतिस्पर्धा ।

मतदाताले के भनिरहेका छन् र के लिएर जानुभएको छ ?

म त हेर्नुस्, माग्ने मान्छे हुँ । जनताका निवेदन बोकेर मन्त्रीकोमा, प्रधानमन्त्रीकोमा, सचिव, डीजी, अर्थ मन्त्रालय धाउँदै हिंड्ने मान्छे हुँ । मलाई माग्ने मान्छे भने पनि हुन्छ । मेरो क्षेत्रमा ६७ वटा खानेपानी योजना बनाएँ । अहिले भन्न पनि मिल्यो, पानी पनि विषय हुन्छ र ? तर, घरमा एक्लै बस्ने वृद्धाका लागि पँधेराबाट पानी ल्याएर पकाउनु सबैभन्दा अप्ठ्यारो विषय हुन सक्छ ।

तपाईं कुन लेबलको पोलिटिक्स गर्नुहुन्छ भन्ने पनि विषय हो । म त अहिलेसम्म दिने ठाउँमा छैन, मागेरै जनताको सेवा गरिरहेको छु । सन्त नेता कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा मैले एउटा योजना गाउँमा हाल्न लगाएको हो, अहिलेसम्म यो क्षेत्रमा ६७ वटा योजना पुगेछन् । तर, खानेपानीको समस्या अझै हल भइसकेको छैन ।

एउटा स्कुलको भवन बनाइदिने कुरा कुनै बेला भयंकर थियो, जुनबेला खरको स्याउलाको थियो । अहिले त्यो एजेण्डा नबन्न सक्छ । जुन बेला मान्छे खोला तर्दा मर्थे, त्यो बेला एउटा झोलुंगे पुल बनाउने कुरा पनि ठूलो थियो । सडक बनाएको छ, पुल छैन । बर्खा आउँदा गाडी चल्दैन, त्यो बेला एउटा कजवे राख्ने कुरा पनि ठूलो थियो । यस्ता थुप्रै कामसँग म जोडिएको मान्छे हुँ ।

म चाहिं गाउँको विकास भनेकै देशको विकास हो भनेर दृष्टिकोण राख्ने मान्छे हुँ । हुन त नगरपालिका, पालिका भइसक्यो । तर, भर्खरै रूपान्तर भइरहेका पालिकामा आज पनि पूर्वाधारकै समस्या छ । पूर्वाधारसँगै उद्योग, रोजगारीका कुरा छन् । म अहिलेसम्म सरकारी तलब–भत्तासमेत नखाएको मान्छु हुँ तर तथ्यांक हेर्नुभयो भने जिल्लामा एउटा मन्त्रीले गर्नेभन्दा बढी काम मागेरै गरेको देख्नुहुनेछ । शुभचिन्तकले सहयोग गरे ।

भनेपछि चुनाव जित्नेमा निश्चिन्त हुनुहुन्छ ?

म निश्चिन्त छु । जहाँ जहाँ पुगेको छु, मतदाताले विश्वास दिलाउनुभएको छु । पहिल्यै टिकट पाउनुपथ्र्यो, पाउनुभएन, तपाईं नै हो यहाँ रियल राजनीति गर्ने मान्छे, अरू त भर्खर भर्खर आएका छन्, भोलि राजनीतिमा रहने हुन् कि होइनन्, तपाईं नै बेस्ट हो भन्छन् ।

तनहुँ–१ को चुनावलाई देशले नै रोचक ढंगले हेरेको छ, यहाँको चुनावले पक्कै केही त सन्देश देला !

जसले बुझेर मतदान गर्छ, यो ठिक यो बेठिक भनेर विश्लेषण गर्छ भने मलाई विश्वास छ, जनताले मेरो पक्षमा सन्देश दिनेछन् । कसैलाई पहिलो पटक भेट्दा न विगत थाहा छ, यत्तिकै यति कुरा ठिक हो भनेर गलत कमेन्ट पनि गर्नुभएन । सही र गलत छुट्याउने अवस्थामा हामी पुगेका छौं भने तनहुँले पक्कै एउटा सन्देश दिनेछ । धैर्य गर्नुपर्छ । लोकतन्त्रमा धीरता झन् बढी चाहिन्छ ।

प्रतिनिधिसभाको चुनाव हो, तपाईंले चाहिं स्थानीय मुद्दामा जोड दिइरहनुभएको छ !

राष्ट्रिय मुद्दा पनि छन् । अर्थतन्त्र सुधार गर्नुपर्नेछ, ठूला–ठूला गौरवका आयोजना निर्माण गर्नुपर्ने छन् । बाह्य लगानी भित्र्याउनु छ । रोजगारी सिर्जना गर्नुछ, गरिबी निवारण गर्नु छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषय हाम्रो मात्रै होइन विकसित भनिएका देशका पनि प्रमुख एजेण्डा बन्छन् ।

नेपालको गरिबी हटाउने हो भने सबैभन्दा विपन्न परिवारका बालबच्चालाई सबैभन्दा राम्रो स्कुलमा स्ट्यान्डर्स एजुकेसन दिनुपर्छ भन्ने मान्छे हुँ । अहिले हामी ग्लोबल मार्केटमा छौं । एउटा गरिबको बच्चाले राम्रो शिक्षा पायो भने यहीं बसी–बसी नेटबाटै जागिर पक्का गर्छ, विदेशै पनि जानुपर्दैन । यस्ता धेरै विषय छन् ।

हेर्नुहोस् भिडियो

भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?