+
+
उपचुनाव वार्ता :

‘पुरानो मतको जमिनदारी भत्किनेछ’

इन्टरनेटको प्रभावले नौलो अनुभव गराएको छ । पुरानो मतलाई राजनीतिक जमिनदारीका रूपमा लिने चिज भत्किन्छ यसपालि ।

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते २०:३४

५ वैशाख, तनहुँ । अर्थशास्त्री स्वर्णिम वाग्ले चाहन्थे कांग्रेसको टिकट । उनी चाहन्थे गोरखा, चितवन या काठमाडौंबाट टिकट । तर परिस्थितिले उनलाई तनहुँ पुर्‍यायो । अनि पुर्‍यायो राष्ट्रिय स्वतन्त्र पार्टीमा ।

तर यो नयाँ दल, अनि क्षेत्रमा वाग्ले उत्साही हुँदै प्रचारमा जुटेका छन् । दमौलीमा पार्टी सभापति रवि लामिछानेसहित आमसभा सकेर उनी वरपरका विभिन्न बस्तीमा घरदैलोमा हिंडिहाले । अनलाइनखबरसँग कुरा गर्न बस्दा रातिको झण्डै ११ बजेको थियो ।

यो वार्तामा वाग्लेले चुनावी दाउपेच, स्थानीय आवश्यकता र नेपालको अर्थ–राजनीतिक भविष्यबारे बोलेका छन् । वाग्लेसँग बसन्त बस्नेतले गरेको कुराकानी :

तपाईं गोरखा या चितवनबाट लडौं भनेर सोचिराख्नुभएको थियो । परिस्थितिले तनहुँमा ल्याइपुर्‍यायो, होइन त ?

हो, तनहुँ आइपुगियो । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट म उम्मेदवार बनेको छु । यो सुखद संयोग हो ।

पहिलो पटक निर्वाचनमा उम्मेदवार बनेर जनतासम्म पुगिराख्नुभा’छ, के पाउनुभएको छ ?

एकदमै उत्साह छ । जनता विकल्पको खोजीमा छन् । हाम्रै मतदाता हुन्, पाँच वर्षपछि पनि भोट हालिहाल्छन् भन्ने खालको राजनीतिक आचरणबाट यो जिल्ला गुज्रिरहेको आभास हुन्छ । विश्वसनीय विकल्प आएपछि चाहिं यतै आकर्षित भइरहेको सहसुस गरेका छौं ।

तपाईंले विभिन्न चुनाव हेर्दै आउनुभएको छ । आफैं भिड्न थालेपछि चुनाव कस्तो हुने रहेछ ?

एकदमै दबावमूलक हुँदोरहेछ । बिहान ४ बजे उठेर १२ बजे सुतिन्छ बल्ल । समयसीमा कम छ । एक मानेमा राम्रो पनि हो, कम समयसीमा हुनुमा । तनहुँको यो क्षेत्रमा ४२ वटा वडा छन् । तनहुँ भनेको धेरै नेपालीले पृथ्वी हाइवे पोखरा–काठमाडौं गर्दा दायाँ–बायाँ होला भन्ने सोच्छन् । दायाँतिर पनि विकट नै छ तर दक्षिणी भेग एकदमै दुर्गम छन् ।

देवघाट, आँबुखैरेनी र बन्दीपुरका गाउँहरू मिनी कर्णाली जस्ता छन् । सडकको ट्रयाक चाहिं पुगेका छन्, बर्खामा चल्ने अवस्था छैन । सबै ठाउँमा गाडी लिएर पुग्ने प्रयास गरिरहेको छु । १२ दिनको चुनावी अभियानमा ४२ वटा वडा र वडा वडामा दर्जनौं बस्ती पनि हुने सबै ठाउँमा पुग्नै पर्ने यस्तै छ ।

मागहरू कस्ता रहेछन्, जनताका ?

जनताका मागहरू सामान्य नै छन् । अहिले मुख्य बाटो नै हो । धुलाम्मे छन् । धेरै बाटाहरू २०५३/५४ सालतिरै ट्रयाक खोलिएको रहेछ तर त्यसपछि केही पनि नभएको । पछिल्ला चरणमा जसको पहुँच पुग्यो, जुन गाउँबस्तीमा मन्त्री, सांसदको नजर पुग्यो, त्यहाँ अलिअलि बजेट हालिदिएका होलान् तर ट्रयाक खोलेर छोडिएका धेरै छन् । मतदाताको आक्रोश थियो, धेरै वर्ष भयो धुलो खाएको भन्ने । सकारात्मक कोणबाट बाटो राम्रो भइदिए उब्जनी बजार लैजान पाउँथ्यौं भन्ने पनि थिए । शिक्षा, स्वास्थ्य र खानेपानीको समस्या देखियो ।

यहाँ तपाईंको प्रतिस्पर्धी उम्मेदवारले त खानेपानी व्यवस्थापनमा प्राप्त उपलब्धिलाई सबल पक्ष बनाएर प्रचार गरिरहनुभएको रहेछ … !

उहाँहरूले केलाई आधार बनाएर भनिरहनुभएको छ, मैले बुझेको छैन । तर, खानेपानीको समस्या आइरहेका छन् । पहिलेभन्दा केही सुध्रिएको होला तर मागहरू आइराखेका छन् ।

हामीले पनि खानेपानी, सिंचाइ, तटबन्धको एकीकृत प्याकेजका रूपमा काम गर्नुपर्छ भनेका छौं । मर्स्याङ्दी बगिरहेको छ तल, माथि टारहरू सुख्खा छन् । लिफ्टिङ गरेर बहुउद्देश्यीय आयोजनाका रूपमा काम गर्नुपर्छ भनेर लागिरहेका छौं ।

जनतालाई आफ्ना एजेण्डा कसरी बुझाइरहनुभएको छ ?

दमौलीमा आइतबारको आमसभा एक हिसाबले मेरो प्रतिबद्धता जस्तो पनि हो । जनतासँग करार गरे जस्तो पनि भयो । दुई हप्तामा मैले जे देखें, त्यो भनेको हुँ । तनहुँ–१ को सर्वाङ्गीण विकास गर्ने त भइहाल्यो । तर, मैले गाउँ–गाउँमा के पनि भनिरहेको छु भने सांसदको काम चाहिं वास्तवमा स्थानीय काम मात्र गर्ने होइन ।

देश संघीयतामा गएसकेपछि ३/४ सय अर्ब त स्थानीय तहलाई पठाइरहेका छौं । माथिबाट हेर्दा ३/४ खर्ब तल आए पनि वडामा बाँडेर हेर्दा ७०/८० लाख हुने रहेछ । त्यसले एकैचोटि धेरै खाले आकांक्षा पूरा गर्दो रहेनछ, त्यसका लागि सांसदले सहजीकरण गरेर स्रोत र साधनको जोहो गरेर पनि भूमिका खेल्न सकिन्छ ।

योजना आयोगमा बसेको र संघीयतालाई माथिबाट पनि हेरेका कारणले यहाँको स्थानीय अधिकारलाई नकुल्चने गरेर मेरो काम सहजीकरण गर्ने हो । स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम गर्ने हो तर यहाँका जितेर जाने सांसदले देशकै एजेण्डाबारे बोल्ने हो । सुशासन र समुन्नतिलाई बढी फोकस गरिरहेको छु । त्यो बुझाइ पनि राखेको छु । स्कुलको छाना हाल्ने, हेल्थपोष्टको स्थानीय विषय होला तर प्रणालीगत सुधारका लागि संसदमा गएर कानुनबाट काम गर्नुपर्छ, कार्यकारी भएर पनि काम गर्नुपर्छ भनिरहेको छु ।

दलहरू बीचको मतभेद लोकतन्त्रमा स्वाभाविक हो, तर त्यसको सीधा असर विकासमा पनि पर्ने गरेको देखिन्छ । तपाईंले स्थानीय सरकारसँग सहजीकरण गर्छु भन्नुभयो । स्थानीय तहमा त सबै तपाईंका विपक्षी छन्, कसरी काम गर्नुहुन्छ ?

त्यहीं पनि हामीले परिवर्तन गर्न खोजिरहेका छौं । राष्ट्रिय स्वतन्त्र पार्टी ६/७ महिनाकै मिहिनेतमा एकैचोटि, एकै धक्कामा राष्ट्रिय पार्टी बन्यो । यसको प्रमुख कारण चाहिं जनतामा सोझै जाने मोडलमा हामी गएका छौं । कार्यकर्ता पंक्ति नै नबनाउने भनेका छौं, सदस्य त रहलान् । भ्रातृ संगठन त हुँदै हुँदैन । बिचौलिया वर्ग जुन हामीले उत्पादन ग¥यौं, देखिने आम्दानी केही छैन, विलासी जीवन बाँचिराखेको छ ।

यो जम्मै भ्रष्टाचारको मलजल, टिकटको किनबेच, लेनदेन साराबाट जनता वाक्क भएका छन् । त्यसको एउटा जड यो पनि हो । खर्चिलो, भड्किलो चुनाव, चुनावअघिको खर्च र त्यसपछि निर्देशित गर्ने प्राथमिकताहरूले नै सिस्टमलाई दूषित बनाइराखेको छ । मैले भाषणमा पनि भनें धेरैले वाच गरेका छैनन्, रूपान्तरणकारी भन्ने, राजनीति सङ्ल्याउने जुन हाम्रो अभियान छ, त्यसलाई बीउ रोपिएको छ । त्यो मर्मलाई अगाडि बढायौं भने अरू पार्टीलाई दबाव पर्छ ।

रास्वपाको अभ्यासले अरूलाई पनि दबाव पर्छ । दुई कार्यकालभन्दा बढी नेतृत्व गर्न नपाउने, भ्रातृ संगठन नराख्ने, कार्यकर्ता पंक्ति एकदमै चुस्त मिनिमम मात्र राख्ने, नातागोता एउटै कमिटीमा काम नगर्ने जस्ता कुराहरूले पैसाको भूमिका गौण बनाउने छ ।

म अचम्म परेको चाहिं कुना कुनामा इन्टरनेट पहुँचले सबै उम्मेदवार परिचित । यो कुरा मलाई नयाँ लाग्यो । ७० वर्षको आमाले पनि हेरिराख्नुभएको छ, बाबुलाई मैले टिभीमा देख्या हो, मोबाइलमा देख्या हो भन्नुहुन्छ । टिकटक, युट्युब, मूलधारे मिडियाभन्दा बाहिर व्यापक रहेछ । काठमाडौंमा बसेर कल्पना नगरेको कुरा यो पाएँ ।

स्वर्णिम वाग्लेले संसदमा नेतृत्वदायी भूमिका खेल्ने र पार्टीमा चाहिं मैले हेर्छु भन्ने खालको पार्टी सभापति रवि लामिछानेले संकेत गर्नुभयो, त्यस्तै हो तपाईंहरूबीचको समझदारी ?

सांसद भएर गएपछि मेरो पनि रुचि हुन्छ । आर्थिक मामिला, परराष्ट्र मामिलामा मेरो विषयगत दख्खल पनि छ र रुचि पनि भएकाले योगदान गर्न सक्छु भन्ने हो । संसदीय फाँटको नेतृत्व भनेर भनेको छैन, त्यो कुरै भएको छैन । पार्टीगत दायित्वको विषयमा कुरा गरेका छैनौं, महाधिवेशन आउँदैछ । त्यो त पछि समझदारीमा होला ।

रवि लामिछाने र तपाईंबीच वैचारिक भिन्नता देखिन्छ । तपाईं एमसीसीलगायत वैदेशिक सहायताको पक्षमा मुखर देखिनुहुन्छ । रविचाहिं त्यसको खुलेर आलोचना गर्नुहुन्छ । एउटै पार्टीमा यी दुईखाले विचार कसरी रहलान् ?

यो विषयमा संसदले निरुपण गरिसकेको छ, विकास परियोजनाका रूपमा अगाडि बढाउने । जुन खालको आशंका पैदा गरिएको थियो, संसदले पारित गरेको यतिका समय भइरहेको छ, त्यस्तो केही आएको छैन । नयाँ तथ्य, नयाँ सन्दर्भमा फेरि हेर्नुपर्छ ।

त्यो तत्कालीन विचार थियो । त्यो व्यक्तिगत धारणा होला, पार्टी पनि जन्मिसकेको थिएन । यो त्यति ठूलो विवादको विषय होइन । विकासको परियोजनाका हिसाबले उपयुक्त दखियो, पछि भूराजनीतिक कुराहरू जोडिए । कसले के कुरालाई महत्व दियो भन्ने कुरा होला । तीन वर्षअघि कसले के भन्यो भन्ने अर्थ अहिले नहोला ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संवैधानिक समाजवादका कुरा गरेको छ, स्वर्णिम वाग्ले बजार अर्थतन्त्रलाई अलि बढी ठाउँ राख्नुपर्छ भन्ने गरेकाले पनि विरोधाभास छ भनिन्छ नि ?

यो अपूर्ण बुझाइ हो । मेरा लेखहरू पढ्नुहुन्छ भने, त्यो कहीं पनि पाउनुहुन्न । अमेरिका बसेको २/४ वर्ष, बेलायत पढ्या हो भनेर भनिएको हुन सक्छ । दह्रो राज्य चाहिन्छ, नियमनकारी राज्य चाहिन्छ । निजी क्षेत्र डाइनामिक हुने ठाउँ राख्नुपर्छ । राज्यले नियमन गर्नुपर्छ । छाडातन्त्र वा बजारलाई छोड्नुपर्छ भन्ने मैले कहिल्यै पनि भनेको छैन ।

तपाईंले जित्दा लोकतन्त्र नै कमजोर हुन्छ भन्ने खालका कुरा शीर्ष राजनीतिक नेतृत्व तहबाट सुनिए, किन होला त ?

यो एउटा हाउगुजी हो । अरू कुरा केही नपाएपछि सिर्जना गरिएको छ । मान्छेहरू आत्तिएका छन्, अत्तालिएका छन् । रन्थनिएका छन् ।

आत्मविश्वास एउटा कुरा हो, सँगै प्रतिस्पर्धीको सामथ्र्य र सीमाको पनि हेक्का राखिएकै होला, तनहुँ–१ मा को हुन् त तपाईंको प्रतिस्पर्धी ?

वास्तवमा मैले विपक्षीहरूको केही पनि हेरेको छैन । प्रतिस्पर्धामा छु, आफ्नो कुरा राखेको छु, समय कम छ । विपक्षीहरूको नामसमेत उल्लेख गरेको छैन, गालीगलौज गरेको छैन । तर, मलाई सुनाइएको छ, उनीहरूले चाहिं ममाथि ठूलो प्रहार गरिरहेका छन् । २/४ दिनअघिसम्म त नामसमेत लिंदैनथे जस्तो लाग्छ मलाई । कांग्रेसले एमालेलाई एमालेले कांग्रेसलाई प्रतिस्पर्धी देख्यो । अहिले उहाँहरूमा चेत पलाएको हो भने हाम्रा लागि त राम्रै हो ।

चुनावमा उसले भोट काट्छ भनेर उहिल्यैदेखि सुनेको हो, यहाँ कसले कसको भोट काट्छ ?

यो पनि यसपटक पल्टिन्छ जस्तो लाग्छ मलाई । नसोचेको नतिजा आउने अर्को आधार के हो भने काठमाडौंमा कलिकति छनक पायौं बालेनको । परम्परागत पण्डितहरूले फेल नै खाएका हुन्, त्यहाँ । यहाँ पनि विदेशमा गएका गाउँवासीहरूको प्रभाव सबै पार्टीमा पृथक् ढंगले आउँदैछ, यसपटक ।

त्यसैले परम्परागत ढंगले हाम्रो यति भोट, कांग्रेस, एमाले, रामचन्द्रको यति भोट थियो, गोविन्द जोशीले यति ल्याउनुभा’थ्यो, सुरेश आलेले यति ल्याएका थिए भनेर त्यो सोझो खाममा गरिने हिसाबभन्दा फरक आउँछ यसपालि । इन्टरनेटको प्रभावले पनि नौलो अनुभव गराएको छ । पुरानो मतलाई राजनीतिक जमिनदारीका रूपमा लिने चिज भत्किन्छ, यसपालि ।

तनहुँमा तपाईंहरूले सांसद मात्रै जिताएर पठाउँदै हुनुहुन्न कि भावी अर्थमन्त्रीलाई पठाउँदै हुनुहुन्छ भन्ने चर्चा सुनियो । त्यसो हो भने प्रचण्ड नेतृत्वको सरकारमा रास्वपा जाँदैछ ?

त्यो विन्दुसम्म आइपुगेका छैनौं । पहिले सांसद जित्ने नै उद्देश्य छ । सरकारमा जाने नजाने भन्ने कुरा त पार्टीको छलफलबाट मात्र तय हुन्छ होला । तुरुन्तै सरकारमा जाने मकसद हुन्छ भन्ने लाग्दैन ।

तपाईंलाई चुनाव लड्ने अफरहरू थिए, रास्वपाबाट तनहुँ आउँदै गर्दा आफू कतातिर पो गएँ भन्ने लागेको छ कि ?

जुन पार्टीमा मेरो लामो योगदान रह्यो, विरासत पनि थियो त्यो पार्टीमा अड्नै नसक्ने विन्दुमा पुगें । यो वैकल्पिक लोकतान्त्रिक दलका रूपमा मैले पाएँ र यसैमा काम गरेर यो पार्टीलाई स्थापित गराउने, ५ वर्षमा एकमना सरकार बनाउने लक्ष्य छ । यो हाम्रो इमानदार प्रयास हुनेछ ।

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?