+
+
उपचुनाव वार्ता :

ठीक समय कुर्नुपर्छ भनिन्छ, त्यो समय आयो : सर्वेन्द्र खनाल

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते २०:३२

१० वैशाखमा हुने उपनिर्वाचनमा तनहुँ-१ बाट एमालेले सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । हाल चुनाव प्रचारप्रसारमा सक्रिय उनले आफ्ना लागि समय आएको देखेको टिप्पणी गरेका छन् ।

कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग प्रतिस्पर्धामा रहेका उनले कांग्रेस र रास्वपाको टकरावले आफूलाई फाइदा हुने आकलन गरेका छन् । खनालसँग अनलाइनखबरका लागि बसन्त बस्नेतले गरेको कुराकानी :

कस्तो चलिरहेको छ, चुनावी अभियान ?

डोर टू डोर क्याम्पेन चलिरहेको छ । मतदातासँग भेट्दा उत्साहजनक सहभागिता महसुस गरिरहेको छु ।

प्रतिक्रिया कस्तो पाउनुभएको छ, मतदाता के भन्छन् ?

विगतमा भएका झुटा आश्वासन जस्तो गर्नुभएन, काम गरेर देखाउनुपर्छ । तपाईं आएको हामीलाई विश्वास छ भन्ने मतदाताको प्रतिक्रिया पाइरहेको छु । रेस्पोन्स राम्रो छ ।

तपाईंको मुख्य प्रतिस्पर्धी को सोच्नुभएको छ ?

मैले कसैलाई पनि मुख्य प्रतिस्पर्धी सोचिसकेको छैन । म आफ्नो काम गर्ने बानी भएकाले, लागिरहेको छु । आकलन चाहिं गरिसकेको छैन ।

के कुरा लिएर आउनुभएको छ चुनावमा, के भनेर मत माग्दै हुनुहुन्छ ?

एक त जन्मस्थल पनि भएको हुनाले यो क्षेत्रले जसरी विकासको गति लिनुपथ्र्यो, त्यो कुरा देखिएन । मूलभूत रूपमा त पूर्वाधारको विकास गरिसकेपछि अरू कुरा आउँछ । मुद्दाहरू त धेरै छन् यहाँ । सामान्य पूर्वाधार पनि छैन । खानेपानीको समस्या छ, शुद्ध खानेपानी नपाएको ठाउँ ठाउँबाट कुरा आइरहेको छ । स्वास्थ्य चौकीका समस्या छन् । बाटो, घाटो छैन, कृषिका लागि मल पाउने अवस्था छैन । रोजगारी र गुणस्तरीय शिक्षा छैन । एउटा सांसदले धेरै कुरा गर्न सक्छ भन्ने म विश्वास राख्छु । मसँग हिजो प्रहरीमा काम गरेको अनुभव पनि छ ।

प्रहरीमा पनि धेरै अधिकार थिएनन् तर समन्वय गर्नुपर्छ भन्ने थाहा छ । सबै ठाउँमा एकै खालका समस्या छन् । तनहुँमा धेरै आयआर्जन गर्न सकिने ठाउँहरू छन् । तनहुँका डाँडाहरू हेर्‍यो भने पर्यटकीय ‘हटस्पट’ बन्न सक्छन् । खोलानालाका स्रोतहरू पनि छन् । यसको अधिकतम प्रयोग हुन सकेका छैनन् ।

यसअघि घोषणापत्रमा राखिएका भए पनि कार्यान्वयन भएनन् । कतिपय अधुरा काम छन्, पूरा गर्नुपर्ने र समयमै काम सक्ने गरी कार्ययोजना बनाएर प्रस्तुत भएको छु ।

तपाईंको एक जना प्रतिस्पर्धीले त खानेपानीका क्षेत्रमा व्यापक काम भएको भनिरहनुभएको छ, तपाईं चाहिं खानेपानीकै मुद्दा उठाइरहनुभएको छ, किन ?

मलाई झुटा कुरा गर्नु छैन । धेरै ठाउँमा खानेपानी अभावका कुरा आइरहेको छ । सिंचाइका विषयमा पनि यति राम्रा खोलानालाबाट डिप बोरिङ गर्ने जस्ता धेरै काम त सामान्य खर्चमै गर्न सकिने छन् । तर, यो कुरा भएको छैन । निश्चित ठाउँमा गरेको कुरा होला, उहाँले खानेपानीमा काम गरेको प्रचार गरिरहनुभएको छ तर खै त आम रूपमा पाउनुपर्‍यो नि त !

कांग्रेसबाट गोविन्द भट्टराई, रास्वपाबाट स्वर्णिम वाग्ले र तपाईं मुख्य प्रतिस्पर्धामा हुनुहुन्छ । कसको मत कसले काट्ला भन्ने आकलन पनि छन्, तपाईंले पनि रणनीति बनाउनुभएको होला नि त ?

चुनावी मैदानमा बढी कांग्रेस र रास्वपाबीच टकराव देखिएको छ । कांग्रेस छोडेर रास्वपाबाट उम्मेदवारी दिंदै गर्दा कांग्रेसमा आस्था राख्नेहरू पनि जाँदैछन् भन्ने कुराहरू सुन्नमा आएको छ, देखिएको पनि छ । ठीक समय कुर्नुपर्छ भन्ने छ नि, शायद त्यो समय आएको छ भन्ने मलाई लाग्छ । मैले विगतमा गरेका कुराहरू हेरेर विश्वास गर्ने वातावरण तय भएको छ ।

यसअघि नै तनहुँबाट उठ्न चाहनुहुन्थ्यो, काठमाडौंमा टिकट पाउनुभयो र पराजय बेहोर्नुभयो । अहिले तनहुँबाट उठ्नुभाएको छ, के पाउनुभयो ?

काठमाडौंमा हुँदा कहाँ जन्मिनुभएको भन्ने हुँदोरहेछ । यहाँ आउँदा भावनात्मक दृष्टिकोणले आफ्नै भन्ने हुँदोरहेछ, आफ्नै भयो नि त यो । इष्टमित्रको कुरा पनि भयो, आफ्नो पुर्खाको थलो, आफ्नो हक छ जस्तो लाग्ने रहेछ । विकास गर्छु भन्नुभन्दा पनि गर्न पाउनुपर्छ भन्ने हुँदोरहेछ ।

मान्छेहरूमा जिज्ञासा हुँदोरहेछ प्रहरीको आईजीपी भइसकेको मान्छे, फेरि राजनीतिमै किन आउनुपरेको ?

प्रहरीमा बस्दा पनि सुरक्षा र विकास भन्ने सँगसँगै लैजानुपर्छ । जुन ठाउँमा सुरक्षा हुन्छ, त्यहाँ विकासको गति बढाउन सकिन्छ । मैले प्रहरीमा पनि सामुदायिक प्रहरी साझेदारी भन्ने सेवाका दृष्टिकोणले जुन कुरा लगें, यो कुरा विकाससँग जोडिएका छन् । राजनीति मैले नगरे पनि प्रहरीको नेतृत्वमा बसें ।

कतिपय राजनीतिसँग जोडिएका विषयमा सुरक्षा प्रदान गर्दै जाँदा ३० वर्षको अनुभव त राजनीतिक वृत्तसँग छ नि ! राजनीतिले के गरिरहेको छ भन्ने पनि मलाई थाहा छ ।

कतिपय विज्ञहरू विज्ञकै ठाउँमा बस्ने र राजनीतिज्ञले उनीहरूसँग बसेर योजना बनाउने कुरा पनि जायज हो तर म त जनतासँग जोडिन आएँ । जनतासँग सरोकार राखेर एउटा प्रहरी अफिसरले लौ न यो बनाइदिनुपर्‍यो, साह्रै दुःख पाएका छन् भनेर प्रधानमन्त्री, मन्त्रीसँग भनेको छु ।

प्रहरीलाई पनि काम गर्न गाह्रो छ । बत्ती छैन, सुरक्षा दिन गाह्रो छ, यो विकाससँग जोडियो नि ! कुनै ठाउँमा आपराधिक घटना घट्यो भने बाइक वा गाडीमा जानुपर्‍यो, सडकसँग जोडियो । काठमाडौं होस् वा यहाँ मैले उठाउने विषय विकास नै हो । कतिपय ठाउँमा मन्त्रीजीलाई नै राखेर पनि लिएर गएको छु । विकास र सुरक्षा सँगसँगै लैजानुपर्छ भनेर लागिरहेको हुनाले पनि म जनतासँग जोडिएको छु भन्ने दाबा हो ।

तनहुँ१ मा कस्तो नतिजा आउला, के देख्नुभएको छ ?

उत्साहप्रद सहभागिताले राम्रो पिक्चर देखिरहेको छु । बरु सबै ठाउँमा जानका लागि समय चाहिं कम भयो । ठाउँ ठाउँमा आइदिनुस्, भेट्नुपर्‍यो भन्ने आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?