+
+

सार्वजनिक संस्थामा अख्तियार प्रवेश गर्न खोज्नु स्वागतयोग्य : कांग्रेस सांसद बडू

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १६:१७

६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सार्वजनिक संस्थामा अख्तियार प्रवेश गर्न खोज्नुलाई स्वभाविक र स्वागतयोग्य भनेका छन् ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद बडूले यस्तो बताएका हुन् ।

‘तीन वटै सरकारको पूर्ण वा आशिंक स्वामित्व रहेका संस्था बाहेक निजी क्षेत्र बैंक, मेडिकल कलेज, अस्पताल लगायतका सार्वजनिक संस्थाहरुमा समेत (अख्तियार दुरुपयोग अनुसन्धान आयोग) प्रवेश गर्न खोजेको छ । यसलाई स्वभाविक रुपमा स्वागतयोग्य मान्न सकिन्छ’ सांसद बडूले भनेका छन् ।

राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकले बैंक,मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि अदुअआले अनुसन्धान गर्न पाउने व्यवस्था छ । तर, अख्तियारको क्षेत्राधिकार विस्तार गर्दै गर्दा अहिले प्राप्त क्षेत्राधिकारभित्रको विषय उपेक्षामा पर्न सक्नेतर्फ ख्याल गर्नुपर्ने उनको राय छ । ‘अख्तियार नयाँ क्षेत्रमा प्रवेश गर्दा पुरानै अवस्थामा हेर्दै आएका क्षेत्र उपेक्षामा पर्ने त होइन ? यसतर्फ पनि विमर्श आवश्यक छ’ उनले भने ।

प्रचलित ऐनअनुसार नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्वमा रहेको सार्वजनिक संस्था र उक्त संस्थाको जिम्मेवारीमा रहेका व्यक्तिउपर मात्रै अनुसन्धान गर्न पाउने अदुअआको क्षेत्राधिकार हो ।

क्षेत्राधिकार विस्तार गर्दै  राष्ट्रिय सभाले ‘नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको स्तर, वा प्रकारका बैंक, वित्तीय संस्था, बीमा व्यवसाय गर्ने संस्था, मेडिकल कलेज र सोसम्बद्ध अस्पताल, अन्य महाविद्यालय वा कलेज, सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक  कम्पनी सार्वजनिक संस्थामा हुने भ्रष्टाचार पनि अख्तियारले हेर्न पाउने गरी व्यवस्था पारित गरेर पठाएको छ ।

नेकपा एमालेका महेश बर्तौला, जनता समाजवादी पार्टी (जसपा)की रन्जु कुमारी झा लगायतले पनि अख्तियारले निजी क्षेत्रको समेत भ्रष्टाचार हेर्ने पस्तावित व्यवस्थामा समर्थन जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?