+
+

जितगढी उत्सव : नेपालले अंग्रेजलाई हराएको त्यो दिन

टोपराज शर्मा टोपराज शर्मा
२०८० वैशाख ७ गते १०:४९

७ वैशाख, बुटवल । नेपाली फौजले अंग्रेज सेनालाई हराएको दिनको स्मरणमा आज रुपन्देहीको बुटवलस्थित जितगढीमा उत्सव मनाइँदैछ ।

१८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुशीयालीमा बुटवल उपमहानगरपालिकाले जितगढी उत्सव मनाउँदै आएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १ स्थित जितगढीमा हुने उत्सवलाई लक्षित गरी नेपाली सेनाले गोरखादेखि शुरु गरेको पैदलयात्रा पनि आज बुटवल आइपुग्दैछ । नेपाली सेनाको टोलीलाई बुटवल उपमहानगरले स्वागत गरेपछि यात्रा समापन हुने छ । नेपाली सेनाले आजै जितगढी किल्ला व्यवस्थापनको जिम्मा बुटवल उपमहानगरलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानाले बताए ।

गोरखाबाट गत चैत २९ गते नेपालको राष्ट्रिय झण्डासँगै नेपाली सेनाको श्रीनाथ गण, कालिबक्स गण, बर्दवाणी गण, सबुज गण, पुरानो गोरख गण र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर ४८ जना नेपाली सेनाको टोली जितगढीको लागि पैदलयात्रा सुरू गरेको थियो ।

उक्त टोलीले दैनिक ४० किलोमिटर पैदलयात्रा गर्दै आएको थियो । जितगढीसम्म आइपुग्दा ३७० किलोमिटर पैदलयात्रा पूरा हुने नेपाली सेनाले जनाएको छ ।

वि.सं. १८७१ पुस २१ देखि १८७२ वैशाख ७ सम्म नेपाल–अंग्रेज बीच विभिन्न स्थानमा युद्ध भएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले कुमाउ–गढवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टामा अंग्रेज फौजसँग लडाइँ हारेको थियो । तर बुटवलको जीतगढीमा कर्णेल उजिरसिंह थापाको नेतृत्वको फौजले अंग्रेज फौजलाई हराएको थियो ।

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना परिचालन गरेको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति बेहोरेर फिर्ता गएको थियो ।

जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरेका थिए । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजहरूमाथि आक्रमण गरे । यो लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजहरूलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो ।

उजिरसिंह थापाको शालिक

पाल्पा–बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा विजय हासिल गर्यो ।

युद्ध जितेपछि उजिर सिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । दुई सय वर्षअघिदेखि पाल्पाको तानसेनमा प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विजयोत्सव मनाइन्छ ।

कस्तो छ जितगढी किल्ला ?

पाँच सय वर्गफिट इलाकामा फैलिएको जितगढी पूर्वपश्चिम लम्बाइ २०५ फिट छ र चौडाइ करिब ५५ फिट छ । गढीको जग निकै फराकिलो छ । गढीको गाह्रो क्रमशः माथितिर साँगुरो हुँदै गएको छ । गढीको भित्री भागबाट पर्खालको उचाइ ४ फुट ३ इन्च छ ।

१० इन्च चौडा रहेको भित्ताको मोटाइ ८ फुट ४ इन्च रहेको र गढीको भित्री भाग खुल्ला रहेको छ । त्यहाँ करिब बाह्र लाखदेखि पन्ध्र लाख ईंटा प्रयोग भएको अनुमान छ । ईंटाहरुका कोही १० इन्च वर्गाकारका तथा केही ईंटाहरुको लम्बाइ चौडाइ क्रमशः ८.६ इन्च, ६ इन्च बाई २ इन्च रहेको छ ।

गढीको निर्माण शैली भने अन्य प्राचीन गढीहरु जस्तै छ । गढीको वरिपरि युद्धको सुविधाको लागि विभिन्न किसिमका प्वालहरु निर्माण गरिएको छ ।

पुरातात्विक र ऐतिहासिक महत्व बोकेको यो गढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । यो गढी तिनाउ नदीको किनारमा अवस्थित छ ।

वि.सं. २०५२ सालमा पुरातत्व विभागले देशभरका गढीहरु संरक्षण गर्ने क्रममा गढीको पर्खालको बीच भागको उत्तरतर्फ एउटा ट्रायल ट्रिच लिंदा पुरिएको पर्खालको पेटी भेटिएको थियो । उजिरसिंहको समयभन्दा अघिदेखि नै गढीको अस्तित्व रहेको बताइएपनि यसको पुष्टि भने हुन सकेको छैन ।

आर्थिक वर्ष २०६९/७० र २०७०/७१ मा पुरातत्व विभागले दुईपटक उत्खनन गरेको थियो । उत्खननका क्रममा जितगढी परिसरभित्र प्राचीनता झल्किने वस्तु भेटिए पनि परिसरबाहिर भने खासै प्राचीन वस्तु भेटिएनन् । यसअघि २०५८ सालमा पनि बुटवल उपमहानगरपालिकाले पुरातत्व विभागबाट उत्खनन गराएको थियो ।

२०५४ सालमा जिल्ला विकास समितिले करिब दुई लाख रुपैयाँ विनियोजन गर्दै यो सम्पदाको संरक्षणका लागि औपचारिक काम सुरु गरेको थियो । बिचमा यत्तिकै रहेको यो क्षेत्रको संरक्षणको काम २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा शिवराज सुवेदी प्रमुखमा निर्वाचित भएपछि सोही वर्ष भित्री संरचना निर्माणलगायतका कामका लागि एकैपटक ५० लाख रकम विनियोजन भएको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?