+
+

पासाङ ल्हामु शेर्पाबारेको फिल्मको भव्य प्रिमियर, क्यूएफएक्समा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १२:१८

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाबारेको डकुमेन्ट्री फिल्म ‘पासाङ : इन द स्याडो अफ एभरेस्ट’लाई नेपालमा भव्य प्रिमियर गरिएको छ । बुधबार बेलुका क्यूएफएक्सको सिभिल मलस्थित सेन्ट्रल सिनेमा हलमा आयोजित प्रिमियरमा सभामुखसहित विदेशी फिल्ममेकर, आरोही समुदाय, सेलिब्रिटी, कूटनीतिज्ञको उपस्थिति रह्यो ।

राष्ट्रिय विभूति एवं नेपाल तारा पासाङ ल्हामुले हिमाल चढेको ३० वर्ष पुगेको अवसरमा फिल्मलाई देशव्यापी प्रदर्शन गर्न लागिएको हो । यो फिल्म वैशाख १५ गते क्यूएफएक्स मल्टिप्लेक्सका हलहरुमा प्रदर्शन हुने पासाङल्हामु फाउण्डेसनले जनाएको छ ।

प्रिमियरमा फिल्म हेरेपछि बोल्दै सभामुख देवराज घिमिरेले पासाङ ल्हामु मुलुककै गौरव रहेको भन्दै फिल्मले सबै दर्शकलाई प्रेरणा दिने बताए । फिल्म हेरेपछि महिलाले प्रेरणा लिन सक्ने र महिलाको संघर्षमा साथ दिने सभामुख घिमिरेको भनाइ थियो । पासाङ ल्हामुसँगै सगरमाथा चढेकी आरोही लाक्पा फुटी शेर्पाले अहिले पनि सबैको लागि यो फिल्म प्रेरणादायी रहेको बताइन् ।

अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक बढी समय मेहनत गरेर फिल्म तयार पारेको फाउण्डेसनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिइन् । ७२ मिनेट लम्बाइको डकुमेन्ट्री फिल्मलाई शेरोन वुड र आङदोर्जे शेर्पाले निर्माण गरेका हुन् । २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्मलाई यसपटक नेपाली दर्शकले हेर्न पाउने भएका हुन् ।

फिल्मले पासाङ ल्हामुको दुःखद् तर प्रेरणादायी यात्राको वर्णन गर्छ । नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको संघर्ष, अवरोध र समाजदेखि परिवारसम्मको सहयोग लगायतका विषय जोडेर समाजलाई रुपान्तरणको सन्देश फिल्मले दिएको छ ।

पासाङ ल्हामुले चौथो पटकको प्रयासमा सगरमाथा आरोहण गरेको मर्मस्पर्शी कथा यसले पेश गर्छ । यो फिल्म अन्तर्राष्ट्रिय क्षेत्रमा भएका ३० वटा फिल्म फेस्टिभलमा प्रदर्शन भएको छ । टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन फेस्टिवल र अन्य प्रतिष्ठित फेस्टिभलसहित १४ वटा पुरस्कार समेत जितेको छ ।

विद्यार्थी, अभिभावक र वृद्धवृद्धासम्म जनचेतना पुग्ने उद्देश्यले फिल्मलाई क्यूएफएक्समा मात्र नभएर लुक्ला, नाम्चेसहित सातै प्रदेशका मुख्य सहरमा प्रदर्शन गर्ने फाउन्डेसनले जनाएको छ । फिल्मको प्रदर्शनबाट संकलित रकम शैक्षिक विकासमा खर्च गरिने समेत जनाइएको छ ।

२०५० वैशाख १० गते सगरमाथा आरोहण गर्न सफल भएकी पासाङ ल्हामुको शिखरबाट फर्किने क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?