+
+
स्थलगत :

मतदातासँग परिचय गर्दै खरेल, संघर्ष गर्दै ज्ञवाली

सागर चन्द शैलेन्द्र महतो सागर चन्द, शैलेन्द्र महतो
२०८० वैशाख ७ गते २०:२३

७ वैशाख, बारा । ‘नमस्कार, म एसपी रमेश खरेल’, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले बारा–२ का मतदातामाझ आफ्नो परिचय यसरी दिन्छन् ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश पाएपनि बारा–२ का गाउँमा भने उनी आफूलाई एसपी खरेलकै रुपमा चिनाइरहेका छन् । कारण हो उनी एसपी हुँदा बाराको छिमेकी जिल्ला पर्सामा प्रहरी प्रमुखको रुपमा बसेका थिए चर्चा पाएका थिए ।

बाहुबली प्रहरीका रुपमा चिनिएका खरेलको चर्चा कतिसम्म थियो भने उनको कार्यकालको बायोग्राफीमाथि भोजपुरी भाषामा ‘एसपी खरेल द रियल हिरोे’ फिल्म नै बनेको छ ।

घरदैलो गरिरहेका खरेललाई बारा, पर्साका धेरै अधवैशेले एसपी खरेल भनेर चिन्छन्, नौजवान युवाहरुले रविको पार्टीको मान्छे ।

बारा सवर्ण गाउँपालिका–८ सनफलवाका सञ्जीव यादवले छिमेकी जिल्ला पर्सामा प्रहरी प्रमुख हुँदा नै खरेलको नाम सुनेका थिए । यसपटक तिनै खरेल यादवको दैलोमा भोट माग्दै आइपुगे । यादवले ‘नाइँ भोट दिन्नँ’ भन्न सकेनन् ।

खरेल घर अगाडिबाट ओझेल परेपछि यादवले भने, ‘नाम चलेको पुलिस हुन् । नेताका रुपमा नयाँ छन्, एसपी साबले यहाँको राजनीति बुझ्न बाँकी छ ।’ बाराको राजनीतिमा घुलमिल भएपछि भने खरेलले सहजै जित निकाल्न सक्ने सुनाए यादवले ।

‘सबै जना बाहिरको मान्छेहरु लिएर भोट माग्न आउनुभएको छ’, यादव भन्छन्, ‘उहाँसंग यहाँ बलियो संगठन छैन, त्यसकारण त बाहिरका मान्छे लिएर आइरहनुभएको छ ।’
अवकाश पाएपछि खरेलले ०७८ मंसिरमा नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरे । त्यही पार्टीबाट उनले ४ मंसिर ०७८ मा काठमाडौं १ बाट चुनाव समेत लडे । काठमाडौं १ मा पाचौं स्थानमा रहेका उनले ३ हजार १२४ मत ल्याएका थिए ।

उपनिर्वाचनका राष्ट्रिय स्वतन्त्त पार्टीबाट बारा–२ रोजेका खरेलको साथमा एकाधबाहेक बाराका बासिन्दा देखिँदैनन् । ‘अधिकांश साथीहरु बाहिरबाट आउनुभएको छ ।

काठमाडौं, बुटवल लगायतका ठाउँबाट साथीहरु यहाँको चुनावमा खटिनुभएको छ’, खरेलको साथमा रहेका निजगढका युवा अमृत सापकोटाले सुनाए । खरेलका लागि मत माग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि बारा आइसकेका छन् ।

तर, यसपटक खरेलका लागि जित निकाल्न मुश्किल भएको उनकै साथमा रहेका कार्यकर्ताहरु बताउँछन् । बुटवलबाट खरेललाई सघाउन आएका एक युवक सुनाउँछन्, ‘यो चुनावी अभियान हाम्रा लागि परिचयात्मक कार्यक्रम जस्तो भएको छ । उम्मेदवार र पार्टीलाई स्थानीयमाझ परिचय गराउने ।’

बारा २ मधेशी समुदायको बाहुल्य भएको क्षेत्र हो । बारा कलैयाका स्थानीय पत्रकार प्रदीप ठाकुर बारा–२ लाई कोर मधेशी क्षेत्र भन्न रुचाउँछन् । कोर मधेशमा बाहिरबाट आएका गैर मधेशी समुदायका उम्मेदवारले जित निकाल्ने संभावना न्यून देख्छन् उनी ।

४ मंसिरको चुनावमा बारा– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो उम्मेदवार उठाएको थिएन । त्यतिखेर रमेश खरेलको पार्टी नेपाल सुशासन पार्टीका तर्फबाट भने उमेश प्रसाद जयसवाल उम्मेदवार बनेका थिए । उनले १५० मत पाएका थिए ।

महागढीमाई नगरपालिका बरियारपुरका ३२ वर्षका सम्भु कोइरी खरेलप्रति नकारात्मक छैनन् । ‘उहाँ राम्रो मान्छे हो । रवि लामिछाने पनि राम्रो मान्छे हो’, कोइरी सुनाउँछन्, ‘खरेल सर यहाँ चुनाव जित्नुहुन्न । बरु उहाँले यतातिर संगठन बनाउन लागे हुन्छ ।’

प्रचार प्रसार अभियानमा जोडतोडका साथ लागिरहेका खरेल भने मतदाताहरुले पुराना दल र तिनका नेताका बारेमा आफूसंग गुनासो गरेको बताउँछन् ।

मतदाताको त्यही गुनासो भोटमा परिणत हुने विश्वास उनको छ । उनी भन्छन्, ‘यहाँका मतदाताले पुराना दल र तिनका नेताप्रति निकै गुनासो गरेका छन् । विकास नगर्ने, भ्रष्टाचार गर्ने समयमा सेवा सुविधा नदिने भनेर मतदाताहरुको गुनासो छ । यसकारण उहाँहरुले सुशासनका लागि मलाई भोट दिनुहुन्छ ।’

खरेलको चुनाव परिचालन कार्यालय रहेको बरियारपुरका कोइरी भने खरेलले चुनाव जित्न भने सहज नभएको बताउँछन् । ‘अहिलेको परिस्थितिमा उहाँले चुनाव जित्न त भगवान नै भोट हाल्न आएपनि मुश्किल छ’ उनी भन्छन् ।

बारा–२ को चुनावी मैदानमा प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि छ । आम जनता पार्टीले कानुन व्यवसायी पृष्ठभूमिबाट आएका अरुण ज्ञवालीलाई उम्मेदवार बनाएको छ । पार्टी अध्यक्ष साह नै चुनाव प्रचार प्रसारमा खटिएका छन् ।

४ मंसिरको चुनावमा स्वतन्त्र उम्मेदवार बनेका ज्ञवालीले ७ हजार ६९८ मत ल्याएका थिए । तर, बारा– २ मा साह र ज्ञवालीभन्दा चर्चित छिन् पार्टीकी केन्द्रीय सदस्य प्रिती पासवान । उनले टिकटकमा राख्ने भिडियोहरु निकै चर्चित छन् । आम जनता पार्टीका हरेक कार्यक्रममा पासवानको नृत्य वा नाटक प्रस्तुत गरिन्छ ।

माओवादीबाट नेकपा एमाले गएका प्रभु साहले ४ मंसिरको चुनावको मुखमै एमाले छाडेर रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिए र चुनाव जिते । चुनाव जितेपछि आम जनता पार्टी गठन गरेका साहले बारा–२ मा उपचुनाव प्रचारका क्रममा आफूले गरेको विकासका उदाहरण दिदैं त्यस्तै विकास चाहिने भए ज्ञवालीलाई भोट दिन आग्रह गर्दै आएका छन् । सप्तरीमा चुनाव हारेर बारा आएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई साहले ‘फिरन्ते’को आरोप लगाएका छन् ।

‘फिरन्ते उम्मेदवारले यहाँका जनताका लागि केही गर्दैनन् । यहाँका जनताका लागि यहीँका अरुण ज्ञवालीले गर्छन्’, साह भन्छन् । ४ मंसिरको चुनावमा ७ हजारभन्दा बढी मत ल्याएका ज्ञवाली यसपटक आफू निर्वाचन जित्ने दाबी गर्छन् । ‘यसपटक त हाम्रो पार्टी छ । पार्टीको मत आउँछ’ पहिले स्वतन्त्र उम्मेदवारी दिएका ज्ञवाली भन्छन् ।

रोचक त के छ भने बारा–२ मा यसपटक मुख्य प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार ४ मंसिरको चुनाव हारेका व्यक्ति हुन् । बारा–२ मै माओवादीबाट प्रतिस्पर्धा गरेर हारेका थिए अहिले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ।

सप्तरीबाट चुनाव हारेका उपेन्द्र यादव र काठमाडौं १ बाट चुनाव हारेका रमेश खरेल ,पनि यहीँ उम्मेदवार छन् । आम जनता पार्टीका ज्ञवाली पनि पहिले चुनाव हारेकै उम्मेदवार हुन् । देवताल हरैयाका भुवनलाल महतोको बुझाइमा आम जनता पार्टीका ज्ञवालीले यसपटक अघिल्लो पटकको भन्दा कम मत ल्याउन सक्छन् ।

‘कलाकार लिएर हिँड्नुभएको छ प्रभु साहजी । कलाकार हेर्न मान्छेको भिड लाग्छ’, महतो सुनाउँछन्, ‘त्यो भिडले भोट दिन्छ भन्ने त ग्यारेन्टी छैन ।’ तर, साह भने आफ्ना उम्मेदवारले चुनाव जित्ने दाबी गरिरहेका छन् ।

‘पुरुषोत्तम पौडेल र शिवचन्द कुशवाहले पहिला पनि चुनाव जित्नुभएकै हो’, साह भन्छन्, ‘उपेन्द्र यादव त जताततै चुनाव हारेर यहाँ आइपुग्नुभयो । उहाँ राजा, महाराजा शैलीमा चुनाव लडिरहनु भएको छ । हिम्मत भएको भए हामी जसरी एक्लै आए हुन्थ्यो नि चुनाव लड्न ।’

लेखकको बारेमा
सागर चन्द

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?