+
+

हर्क साम्पाङले फेरि मागे वडाध्यक्षहरूको राजीनामा

वडामा भएका काम सावर्जनिक गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १५:२१
फाइल तस्वीर

७ वैशाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले वडाध्यक्षहरूको फेरि राजिनामा मागेका छन् । पटक–पटक कार्यापालिका बैठक बहिष्कार भएपछि मेयर राईले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् । यसअघि १ पुसमा पनि मेयर साम्पाङले कार्यपालिकासहित वडाध्यक्षहरूको राजीनामा मागेका थिए

‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

के थियो विवाद ?

धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक सुरुदेखि नै विवाद रहित भने हुन सकेको छैन । मेयर साम्पाङले एकलौटी गरेको, छलफल नगरेको वडाध्यक्षहरुले आरोप लगाउँदै आएका छन् भने मेयर साम्पाङले वडाध्यक्षहरु विकास विरोधी भएको सामाजिक सञ्जाल मार्फत लेख्दै आएका छन् ।

तर पछिल्लो विवाद भने मेयरको स्वकीय सचिवले वडाध्यक्षहरुसँग विवरण मागेको भन्ने विषय रहेको छ । गत ७ चैतदेखि धरानका वडाध्यक्षहरुले मेयरको विरोधमा कालोपट्टी बाँधरे काम गर्दै आएका छन् । मेयर हर्क साम्पाङले आफूहरुको अपमान गरेको भन्दै उनीहरुले हातमा कालोपट्टी बाँधेर जनताको नियमित काम गर्न थालेका थिए ।

धरान उपमहानगरका प्रवक्ता सूर्यबहादुर भट्टराईका अनुसार मेयर साम्पाङ्‍का सहायक स्वकीय सचिवले उपमहानगरको लेटरप्याडमा वडाध्यक्षहरुलाई निर्देशन दिएको भन्दै विरोध भएको हो । भट्टराईका अनुसार मेयरका सहायक स्वकीयले वडाध्यक्षहरुलाई अहिलेसम्म वडाले गरेको गतिविधि पठाउन २९ फागुनमा निर्देशन गरेका थिए । उक्त पत्रले आफूहरुको अपमान भएको वडाध्यक्षहरुको भनाइ छ ।

अधिकार क्षेत्रभन्दा बाहिरको उक्त निर्देशन फिर्ता हुनुपर्ने माग वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुले गत १ चैतको कार्यपालिका बैठकमा राखेका थिए । जसका कारण बैठकमा विवाद सिर्जना हुँदा कार्यपालिका बैठक नै स्थगित गर्नु परेको थियो ।

भट्टराईका अनुसार १ चैतमा भएको कार्यपालिका बैठकमा निर्देशन पत्रको विषयमा फरक मत राखेको भन्दै ३ चैतमा मेयर साम्पाङले १० नम्बर वडाका वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण सोधेका थिए । मेयरको सचिवालयबाट भएको निर्देशन र मेयर साम्पाङ्‍को स्पष्टीकरण दुवै कदम गलत भएको उनीहरुको भनाइ छ ।

दुवै गलत कदम सच्याउनका लागि ५ चैतमा २८ जना कार्यपालिका सदस्यहरुले मेयर साम्पाङको ध्यानाकर्षण गराएको उनले बताए । तर मेयर साम्पाङले उल्टै वडाध्यक्षहरुको राजीनामा मागेका हुन् ।

हेर्नुहोस् विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?