+
+
Shares

‘श्रीमतीको ज्यान गयो, झ्यालबाट फालेर छोरो बचाएँ’

कर्णाली राजमार्गमा भएको बस दुर्घटनामा श्रीमती गुमाउने प्रेम रावल भन्छन्, ‘पीडा देख्नेलाई हैन, भोग्नेलाई हुँदोरहेछ । सधैं भगवानसँग एउटै कुरा माग्ने गरेको छु— मेरो जस्तो पीडा कसैलाई नदिनु, मेरो जस्तै अरूको सपना नटुटाइदिनु !’ 

प्रेम रावल (३१) छायाँनाथ रारा नगरपालिका–५ मुगु प्रेम रावल (३१) छायाँनाथ रारा नगरपालिका–५ मुगु
२०८० वैशाख ८ गते २०:०६

पहिले म छायाँनाथ रारा नगरपालिका वडा नम्बर– ५ को वडा कार्यालयमा काम गर्थें । पछि राजनीति गरेर मलाई त्यो कार्यालयको जागिरबाट हटाए । त्यसपछि म बहराइन गएँ । झण्डै २७ महिनापछि बहराइनबाट फर्किएको थिएँ । मेरो श्रीमती र छोरा काठमाडौंमा थिए ।

हामी काठमाडौंबाट बाँकेको नेपालगञ्ज आयौं । नेपालगञ्जमा हाम्रो सानो घर थियो । विदेशबाट पठाएको पैसाले श्रीमतीले थोरै जग्गा पनि किनेकी थिइन् । मेरो घर दैलेख हो । तर परिवार नै यतै (बाँके) बस्छन् । पारिवारिक समस्याका कारण मैले बिहे गरेको ८ वर्ष बित्दा पनि श्रीमतीलाई मुगुको घरमा लिएर गएको थिइनँ ।

झण्डै ८ वर्षपछि दशैंको मौका मिलाएर हामी नेपालगञ्जबाट सुर्खेत हुँदै मुगुको लागि बस चढ्यौं । पहिले प्लेनमा जाने योजना थियो । तर, घरमा लैजानुपर्ने सामान धेरै भएपछि बस चढेका थियौं ।

एकातिर हाम्रो परिवारमा टीका फुकाउनु थियो । अर्कोतिर श्रीमतीले मुगुकै रारा शिक्षा क्याम्पसमा पढाउने र मैले पनि त्यतै केही गर्ने योजना बनाएका थियौं । श्रीमती डिग्रीको पढाइ सकेर बसेकी थिइन् । सोही योजना अनुसार २६ असोज २०७८ को बिहान नेपालगञ्ज बसपार्कबाट मुगुका लागि गाडी चढ्यौं । सुर्खेत, दैलेख हुँदै कालीकोट पुग्दासम्म यात्रा राम्रै भइरहेको थियो ।

चाडबाडको समय भएकाले होला बस यात्रुले भरिभराउ थियो । कतिपय यात्रु मुडामा कोचिएर समेत बसेका थिए । कुनैबेला त बसमा ठेलमठेल हुन्थ्यो । यात्रु चढ्ने, झर्ने भइरहन्थ्यो । गाडी गुडिरहेको थियो । यात्रु पनि गीत सुन्न मग्न थिए । हामीले मुगुको भुलभुलेमा खाना खायौं र अगाडि बढ्यौं ।

बाटोको अवस्था नाजुक थियो । साँघुरो सडक । जम्मै खाल्डाखुल्डी थिए । गाडीमा बजेको गीतको धुनमै यात्रुहरू मस्त थिए । कोही निद्रामा त कोही बाहिरको दृश्य हेरिरहेका थिए । भुलभुलेदेखि निरन्तर अघि बढ्दै बस पिनाटपने खोला पुग्नै लागेको थियो । मोडमा बाटो साँघुरो र चिप्लो थियो । बिस्तारै बस अघि बढ्दै गयो । मोडमा चालकले अप्ठेरो गरी मोड्दै थिए । बस अलि बढी नै हल्लिरहेको थियो । गाडीले सडकको लिक छोड्यो ।

एक्कासी गाडीभित्रै होहल्ला मच्चिन थाल्यो । श्रीमती, छोरा र म एउटै सिटमा थियौं । गाडी पल्टिन थाल्यो । छोरो मेरो काखमा थियो । झ्यालको सिसा खोलेर छोरालाई झाडीमा फालेको याद छ । गाडी गुल्टिंदै गयो । त्यसपछि केही पनि थाहा पाइनँ । पछि थाहा भयो, म अलि माथि नै खसेको रहेछु ।

घाइते भएपछि मसहित ४/५ जनालाई हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्ज लगिएछ । दुई दिनपछि मात्रै होश आयो । श्रीमती र छोरा सकुशल नै छन् भनेर आफन्तहरूले आश्वासन दिए । पछि छोरालाई पनि म भएकै वार्डमा रेफर गरे । श्रीमतीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको भनियो ।

१३ दिनपछि अस्पतालबाट डिस्चार्ज भएँ । श्रीमतीको मृत्यु भइसकेको रहेछ । हामी चढेको गाडीमा दशैं बिदामा घर फर्किएका विद्यार्थी धेरै थिए । झण्डै ५०/६० जना यात्रु थियौं । भिरालो कच्ची बाटोबाट २०० मिटर तल बस खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भएको रहेछ । त्यो दुर्घटनामा मेरो श्रीमतीसहित ३३ जनाको मृत्यु भयो । जिन्दगीमा यस्तो मोड आउला भनेर मैले कल्पना समेत गरेको थिइनँ ।

मैले मेरो श्रीमतीको दाहसंस्कार समेत गर्न पाइनँ । उतै सामूहिक दाहसंस्कार गरेछन् । जिन्दगीभर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका थियौं । हजारौं सपना सजाएका थियौं । उनको अन्तिम पटक अनुहार समेत हेर्न पाइनँ । छोराले बाबा मम्मी कहिले आउनुहुन्छ भनेर सोध्दा मसँग कुनै जवाफ हुन्थेन । भक्कानिएर रुन्थें ।

त्यो बेला नेपालगञ्जमा हाम्रो सानो घर थियो । मैले विदेशबाट पठाएको पैसाले उनले केही जग्गा किनेकी थिइन् । ठूलो घर हालेर बस्छु भन्थिन् । तिनको त्यो सपना अधुरै रह्यो । दशैंको मुखमा भएको दुर्घटनाले मुगुवासीलाई मात्रै शोकमा डुबाएन, देशै स्तब्ध बन्यो । मलाई त्यो दिन र त्यो घटना सम्झिंदा आफू जिउँदो भएकोमा विश्वास लाग्दैन । त्यो दुर्घटनामा मर्ने अधिकांश युवा थिए । उनीहरू सबैको सपना त्यही भीरबाट हुत्तियो ।

अहिले पनि कर्णाली राजमार्गमा सडक दुर्घटनाकै कारण दिनहुँ दुई/तीन जनाको ज्यान गइरहेको हुन्छ । तर सरकारले त्यो सडक बनाउनुपर्छ भन्ने कहिल्यै सोचेन । त्यो सडक बनाउने भन्दै भोट मागेका नेताहरू जितेर काठमाडौंमै हराउन थाले । हाम्रो पीडा त कसले नै देख्थ्यो र !

पछिल्लो दुई दशकमा यति धेरै सरकार फेरिए, यति धेरै नेता सत्तामा पुगे । तर, कर्णाली सडकको दर्दनाक अवस्था कहिल्यै देखेनन् । कुर्सीमा बसेपछि नेताहरू आँखा नदेख्ने हुँदा रहेछन् । कुर्सीमा पुग्नुभन्दा पहिला त कर्णालीप्रति धेरैले आँशु झारेको देख्छु । तर, कुर्सीमा पुगेपछि खै के हुन्छ ? ती नेताहरूलाई !

पीडा देख्नेलाई हैन, भोग्नेलाई हुँदोरहेछ । सधैं भगवानसँग एउटै कुरा माग्ने गरेको छु— मेरो जस्तो पीडा कसैलाई नदिनु । मेरो जस्तै अरूको सपना नटुटाइदिनु । मेरो जस्तै कसैको सम्बन्ध नछुटाइदिनु ।

(२६ असोज २०७८ मा कर्णाली राजमार्गमा भएको बस दुर्घटनामा श्रीमती गुमाउने मुगुका रावलसँग अनलाइनखबरका लागि यज्ञ खत्रीले गरेको कुराकानीमा आधारित ।)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?