
९ वैशाख, काठमाडौं । ‘एनसेल बाह्रखरी गल्फ’ छैटौं संस्करणको उपाधि सञ्जय पौडेलले जितेका छन् । उपाधिसँगै उनले सुनको बल पुरस्कार पाएका छन् ।
गोकर्ण गल्फ क्लबमा शनिबार १८ होलमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको यस प्रतियोगिताका विजेता सञ्जयले ४० अंक जोडेका थिए । १२ ह्याण्डीक्यापमा खेलेका सञ्जयले फ्रान्ट नाइन १९ अंक जोडेका थिए भने ब्याक नाइनमा २१ अंक जोड्न सफल रहे ।
सञ्जय र टासी छिरिङले समान ४० अंक जोडेका थिए । तर, सञ्जयले ब्याक नाइनमा जोडेको २१ अंकले टासी उपाधि होडमा पछि परे । टासीले ब्याक नाइनमा १८ अंकमात्र जोड्न सफल भएका थिए ।
जिरो ह्याण्डीक्यापमा खेल्ने टासी छिरिङ ४० ग्रस अंक जोड्दै बेष्ट ग्रसको उपाधि जिते । टासीले मोष्ट बर्डीको उपाधि पनि जितेका छन् । टासीले ६ बर्डी प्रहार गरेका थिए ।
बाबु शेर्पाले दोस्रो स्थान हासिल गरे । उनले ३८ अंक जोडेका थिए । प्रतियोगितामा डा. भगवान कोइरालाले ३७ अंक जोडेर सिनियर (६० वर्षमाथि) तर्फको उपाधि जिते ।
महिलातर्फको उपाधि तारा कार्की चित्रकारले जितिन् । उनले ३६ अंक जोडेकी थिइन् । कश्मिरा शाहले ३३ अंक जोडेर दोस्रो भइन् ।
क्लोजेष्ट टू द पिनको उपाधि राज प्रधानले जिते । दशौं होलमा राखिएको ‘होल इन वन’ को पुरस्कारमा हुन्डे को ‘भेन्यू’ गाडी जित्न राज दुई इन्चले चुकेका थिए । लङ्गेष्ट ड्राइभको उपाधि दोर्जे होजाङसाङले जिते । उनले ३१० यार्डको ड्राइभ प्रहार गरेका थिए ।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, पोखरा, बुटवल, नेपालगन्ज र विदेशीसहित ११४ ‘कर्पोरेट’ गल्फरले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया 4